पार्टीहरूको अस्तित्व बचाउन वैज्ञानिक समाजवादको नारा
वास्तविक वैज्ञानिक समाजवादमा पुग्ने कम्युनिस्टहरू नै हुन्। अहिलेको नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाभित्रबाट नेपाली समाजको प्रगति सम्भव छैन, समाजवाद पनि सम्भव छैन।समाजवादको अवधारणा विशेषतः फ्रान्सवाट सुरु भएको हो। सन् १८४८ को कम्युनिस्ट पार्टीको घोषणापत्र जारी हुुनुअघि युरोपमा विभिन्न प्रकृतिका र विभिन्न ढंगले समाजवाद ल्याउनुपर्छ भन्नेहरू थिए, जसमा यसबारे चर्चा फ्रान्समा बढी थियो। सेन्ट साइमन, रोबर्ट ओवेन, जो आफैँ पुँुजीपति थिए र समाजवादका चिन्तक पनि। उनीहरूले मजदुरहरूलाई सामूहिक रूपमा आफ्ना कारखानाहरू बाँडेर समाजवाद ल्याउन सकिन्छ भनी प्रत्यत्न गरेका थिए। उनीहरूले गरेका प्रयत्न राम्रो नियतबाट भए पनि उनीहरूसँग विचारधारा थिएन। समाजवादको कुनै वैज्ञानिक विचारधारा थिएन।
सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र आइसकेपछि र समाजवाद हुुँदै साम्यवादसम्मको परिकल्पना गरिसकेपछि माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र आउनुभन्दा अगाडिका समाजवादीहरू काल्पनिक समाजवादीहरू हुन् भन्ने विश्लेषण गरे। रहर र नियत राम्रो भए पनि वैज्ञानिक नियमअनुुसार समाजवाद बनाउने भन्ने विचार उनीहरूसँग थिएन, रहर र नियत मात्र समाजवादी थियो। तर, इच्छा र रहरले मात्र समाजवाद बन्ने होइन।
समाज विकासको आफ्नै वैज्ञानिक नियम हुन्छ, जसलाई माक्र्सवादले पछि ऐतिहासिक भौतिकवादको सिद्धान्त बनायो। वैज्ञानिक नियमअनुुसार बनाउने नभनिएको हुनाले तिनीहरूलाई काल्पनिक समाजवादी भनियो। र, कम्युनिस्टहरूले समाज विकासको नियमअनुसार बनाउने भएको हुुनाले उनीहरूले वैज्ञानिक समाजवाद नामाकरण गरे। त्यसकारण, विज्ञानसम्मत नियमद्वारा निर्माण नगरिएकाले अरू सबैको समाजवाद काल्पनिक समाजवाद हो तर कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादचाहिँ समाज विकासको वैज्ञानिक नियमलाई पक्रिएर बनाउने हुनाले वैज्ञानिक समाजवाद भनिएको हो ।
वैज्ञानिक समाजवाद शब्दको प्रयोग अहिले भएको होइन, यो सन् १८४८ मै कम्युनिस्टहरूले प्रयोग गरेका हुन्। संसारभरि कम्युनिस्टहरूले समाजवाद भने पनि वास्तवमा त्यो वैज्ञानिक समाजवाद भनेको हो। बोलीचालीको भाषामा पछि समाजवाद मात्रै पनि भनियो। त्यो अर्को विषय भयो तर कम्युनिस्टहरूले सुरुदेखि नै बनाउने भनेको वैज्ञानिक समाजवाद नै हो। रुसमा कम्युनिस्टहरूले समाजवाद निर्माणको यात्रा सुरु गरिसकेपछि त्यसविरुद्ध र त्यसको विकल्पमा पुँजीपति वर्गले भ्रमपूर्ण अवधारणाहरू ल्याउने भए। भ्रमपूर्ण अवधारणा ल्याउँदा पोल्यान्डमा टिटोरुले ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने विकास गरे। त्यसपछि त पार्टीको नाममा समाजवाद राख्ने एकप्रकारको लहर नै चलिहाल्यो। मुसोलिनोदेखि हिटलरसम्मले आफूलाई समाजवादी भने।
वैज्ञानिक समाजवाद–काल्पनिक समाजवाद
कम्युनिस्टहरूले निर्माण गर्न खोजेको वास्तविक वैज्ञानिक समाजवादको मुल तत्त्व के हो त ? वास्तविक समाजवादको मुल तत्त्व दुुईवटा छन्- निजी सम्पत्तिको उन्मुलन र श्रमिक वर्गको अधिनायकत्व। यी दुुईवटा तत्त्व तत्कालीन वैज्ञानिक समाजवादीको मुल तत्त्व थिए। यी तत्त्व नराखी समाजवाद आउँछ भन्ने विभिन्न अवधारणा विकास गरियो। कम्युनिस्टहरूको समाजवादविरुद्ध भ्रमपूर्ण अवधारणाहरू विकास गरिएको थियो। त्यसैगरी, प्रजातान्त्रिक समाजवाद भनी भारतमा इन्दिरा गान्धीले सुरु गरेपछि बीपी कोइरालाले पनि नेपालमा प्रजातान्त्रिक समाजवाद भन्न थाले। अरबमा अरब समाजवाद भन्ने नाम पनि प्रचलित भयो। यी सबै काल्पनिक समाजवादका विविध रूप हुुन्।
वास्तविक समाजवादमा समाज हावी हुुनुपर्छ। समाज हावी हुुने भनेको के हो ? समाजका बहुुसंख्यक हिस्सा को छन् त ? त्यो भनेको श्रमिक वर्ग छ। भनेपछि समाजवादमा श्रमिक वर्गले राज्य सञ्चालन गर्न पाउनुपर्छ। श्रमिकको हुुकुुम चल्नुुपर्छ अनि समाजवाद हुुन्छ। अर्को भनेको सामुुदायिक सम्पत्ति खोसेर निजी सम्पत्ति बनाइएको छ। त्यो निजी सम्पत्तिको उन्मुुलन हुुनुुपर्छ। यदि त्यसो हो भने वास्तविक समाजवाद हुुन्छ, वैज्ञानिक समाजवाद हुुन्छ। त्यसो नगरी बनाइएको समाजवाद नहुने समाजवाद हो। शाब्दिक अर्थमा भन्नुुपर्दा काल्पनिक समाजवादका विभिन्न रूप हुन् ती।
प्रजातान्त्रिक समाजवाद भनेको के हो त ? सबैलाई पैसा कमाउन दिने, धेरै पैसा कमाइसकेपछि समाज धनी हुुन्छ र आफैँ समाजवादमा जान्छ भनेको हो। सबैलाई सम्पत्ति कमाउन दिने भनिए पनि सबैले कमाउन सक्दैनन्। फेरि पनि पहुुँच भएका निश्चित मान्छेले नै धेरै कमाउँछन्। केही मानिस धनी भएपछि त गरिब जन्मिन्छन्। तसर्थ, यो कहिल्यै नआउने समाजवाद हो। तसर्थ यी सबै काल्पनिक समाजवाद हुुन्।
वैज्ञानिक समाजवादी हुुनका लागि त निजी सम्पत्तिको उन्मुलन र सामुदायिक सम्पत्तिको वृद्धि आवश्यक हुन्छ। यस्तै, श्रमिक वर्गले राज्य सञ्चालन गर्ने भन्ने कार्यक्रम छ भने त्यो वैज्ञानिक समाजवादी हो। यी दुई प्रमुख कार्यक्रम नराख्ने, निर्वाचन प्रणाली पनि जोसँग प्रशस्त पैसा छ, त्यसले जित्न सक्ने बनाउने, निजी सम्पत्ति सबैले जति कमाए पनि हुन्छ भन्नेलगायतका जति पनि समाजवाद भन्छन्, ती सबै काल्पनिक समाजवादका विविध रूप हुन्। यो श्रमिक वर्गलाई लुट्ने र ठग्न प्रयोग गरिएका नाराबाहेक अरू केही होइनन्।
नेपालको वैज्ञानिक समाजवाद काल्पनिक
कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवाद सत्तासिन र पुँजीपति वर्गलाई हराएर मात्रै आउँछ भन्ने उनीहरूको अवधारणा हो। नेपालमा ००६ सालदेखि नै वैज्ञानिक समाजवादको विषयमा कुरा गरिएको हो। वैज्ञानिक समाजवादमा पुुग्नका निम्ति प्रचुर मात्रामा उत्पादन हुुनुपर्छ, त्यो नभएकाले चीनमा जस्तो पहिले नयाँ जनवादी व्यवस्था बनाउने। पुँजी र उत्पादन बढाउने अनि समाजवादमा जाने भनेर न्यूनतम कार्यक्रम नयाँ जनवाद बनायो, अधिकतम कार्यक्रम समाजवाद साम्यवाद बनायो। त्यही हो वैज्ञानिक समाजवाद। नेपालमा कम्युनिस्टहरूले भन्दै आएको पनि त्यही हो।
समाजवादमा वर्गहरू अझै रहन्छन्, लडाइँ चलिरहेको हुुन्छ, संक्रमणकालीन व्यवस्था हुुन्छ भने साम्यवादमा वर्गहरूको अन्त्य हुुन्छ। साम्यवादी समाज जहाँ राज्य हुँदैन, सबै सिस्टम समुदायले चलाएको हुुन्छ। साम्यवादभन्दा अगाडि लामो संक्रमणकाल रहन्छ, त्यो वैज्ञानिक समाजवादी समाज हुन्छ। त्यो कालभरि वर्ग उन्मुुलन गर्ने काम गरिन्छ, समुदायलाई शक्तिशाली बनाउने काम गरिन्छ। क्रमशः राज्यको अधिकार समुदायलाई फिर्ता दिइन्छ। समाजवाद र साम्यवादबीचको संक्रमणकालीन समाजवाद वैज्ञानिक समाजवाद हो।
संविधानमा उल्लेखित समाजवाद झुटो
नेपालको संविधानमा समाजवाद उन्मुुख हुने भनेर जो लेखिएको छ, शाब्दिक अर्थ खोज्ने हो भने उन्मुुख भनेको समाजवादतिर फर्किनुु हो। यथार्थमा भन्नुुपर्दा समाजवादमा फर्किएर केही हुुनेवाला छैन। चन्द्रमामा फर्किएर चन्द्रमामा कोही पुग्ने होइन। तसर्थ, उन्मुख हुुनुको अर्थ छैन। अर्को भनेको कस्तो समाजवादमा जाने भनेर प्रष्ट नै छैन। यथार्थमा भन्नुपर्दा समाजवादमा नजाने भनेको हो त्यो।
जाने ठाउँ कुुन हो भनेर प्रष्ट नभएसम्म नजाने भनेको हो नि। बरु किन नजाने भनेको भनेर पुष्टि हुुन्छ। व्यक्तिहरूलाई निजी सम्पत्ति कमाउन, राख्न र उपभोग गर्न राज्यले मौलिक अधिकार किटान गरेको छ। त्यो भनेको एकातिर निजी सम्पत्तिलाई मौलिक अधिकार बनाउने अर्काेतिर समाजवादमा जान्छौँ भन्ने त मिलेन नि। त्यो कहिल्यै जाँदैन।
नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुुलन ढाँट कुरा हो। संविधानमा उल्लेख गरिएकामा समाजवादको चित्रण नै छैन, बेइमानी गरिएको हो। बरु पैसा कमाउँदै जाने, दलाल पुँजीवाद हुुर्काउँदै जाने, एक दिन समाजवाद आउँछ भन्न खोजिएको हो, जुन नहुने कुरा हो। साँच्चै समाजवाद चाहने हो भने त समाजवादको सिद्धान्तमा निहित हुुनुपर्छ। कस्तो समाजवाद भन्ने नै परिभाषा नभएको समाजवाद भनेको समाजवादमा नजाने भनेको हो। त्यसको कुुनै अर्थ छैन।
अहिलेको नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था छ। त्यो भनेको दलाल पुँजीपतिहरूले शासन गर्ने, अर्थतन्त्र कब्जा गर्ने हो। सरकार, राजनीतिक पार्टी र संसद् भनेका दलाल पुँजीपतिहरूको हितका निम्ति व्यवस्थापन गरिदिने दलालहरू हुन्। त्यही दलाल पुँजीपति वर्गले चुनाव लड्न, पार्टी चलाउन र दैनिक जीवनशैली चलाउन खर्च उपलब्ध गराउँछ। यो सबै केका निम्ति भन्दा आफूले बनाएको सत्ता चलिरहोस् भनेर। तसर्थ, अहिलेको नेपालको व्यवस्था समाजवाद होइन।
नेपालमा उपभोग्य बस्तु केही पनि उत्पादन गर्न नदिने र विदेशबाट ल्याएको सामान बेचेर मात्रै नाफा खाने। जनसंख्या वृद्धिसँगै बेरोजगारी बढ्छ, बेरोजगारी समस्याको समाधान गर्न विदेश पठाउने। ८० लाख युवा विदेशमा छन्, त्यहाँ कमाउँछन्, नेपालमा खर्च गर्छन्। तर, सामान किन्नेबित्तिकै त्यो पैसा फर्केर देशबाहिरै जान्छ। समाजलाई केवल उपभोक्ता समाज बनाउने काम भइरहेको छ। दलाल पुँजीपतिहरूले नै शासन गर्ने अदालत, बैंक, सेना सबै चलाउने। यो सबै पुँजीवादी व्यवस्था, जसले नौजवानहरूलाई विदेश जान्न बाध्य बनाउँछ। समाजवादतिर जाने, समुुदायलाई बलियो बनाउने नभएर बहुराष्ट्रिय कम्पनीहरू ल्याउने, विदेशी सहयोग, अनुदान, लगानी ल्याउने र देशमा भएको पुँजी उनीहरूले नै लिएर जाने हुन्छ। अनि कहाँबाट जान्छ समाजवादतिर ?
पार्टीहरूको अस्तित्त्व बचाउन वैज्ञानिक समाजवादको नारा
वास्तविक वैज्ञानिक समाजवादमा पुग्ने कम्युनिस्टहरू नै हुन्। उनीहरूले नेतृत्व गरेर लैजाने कुरा हो। अहिलेको नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाभित्रबाट नेपाली समाजको प्रगति सम्भव छैन, समाजवाद पनि सम्भव छैन। तसर्थ, नयाँ क्रान्तिको सुरुवातमा जानुुपर्छ। जनताको ठूलो पंक्ति नयाँ बाटो स्पष्ट रूपमा नदेखेसम्म एकप्रकारको रनभुल्लमा पर्छ नै, जुन स्वाभाविक हो। अहिले आमजनताको ठूलो पंक्ति रनभुल्लमा छ। त्यसलाई क्रमशः क्रान्तिकारी शक्तिहरूले गोलबन्द गर्दै, संघर्ष गर्दै जानुपर्यो। अनि न जनताले बुझ्ने कुरा हुन्छ !
संसदभित्रका कम्युनिस्ट नामधारी पार्टीहरू वास्तवमा कम्युनिस्ट पार्टी होइनन्। उनीहरूको पार्टी चलाउने तरिका, निर्वाचनको खर्च, दैनिक जीवनशैली पुँजीपति वर्गको भन्दा केही फरक छैन। तसर्थ, उनीहरू वास्तविक समाजवाद चाहँदैनन्, उनीहरू कम्युनिस्ट पनि होइनन्। वास्तविक कम्युनिस्टहरूले वैज्ञानिक समाजवादमा जाने भनेर नारा अगाडि सारेपछि उनीहरूलाई अप्ठेरो पर्यो।
संविधानमा व्याख्या गरिएको समाजवाद वास्तविक वैज्ञानिक समाजवाद होइन। यो झुटो कुरा जनमासमा बाँडियो। संविधानमा उल्लेख गरिएको समाजवादको विकल्पमा हो वास्तविक समाजवादमा भनी आम जनतामा साना–ठूला शक्तिहरूले प्रचार गरे पनि नामधारी कम्युनिस्ट पार्टीहरूलाई समस्या पर्यो। संसदभित्रका प्रत्येक कम्युनिस्ट नामधारी पार्टीहरू वैज्ञानिक समाजवाद नभन्नेले पनि अब भन्न थाल्छन् भनेर बुझ्नूस्।
रुस र चीनमा समाजवाद स्थापना भएपछि पुँजीवादीहरूले पनि आफूलाई समाजवादी भन्न थाले। आफ्नो जनता त भड्किन थालेपछि केही न केही भ्रम बाँड्नुपर्छ। तसर्थ, संसदवादी कम्युनिस्टहरूले आफ्ना कार्यकर्ता र जनतालाई भ्रम दिनलाई वैज्ञानिक समाजवाद शब्द प्रयोग गर्न थाले। पार्टीको संकटग्रस्त अवस्थाका कारण हिजोको नाराले त केही गर्दैन। वैज्ञानिक समाजवाद हुनुपर्छ भनेर विपरीत संसदवादी शक्तिहरू अगाडि आएपछि अस्तित्व समस्यामा पर्यो। कम्युनिस्ट नामधारी पार्टीहरूले आफ्नो अस्तित्वको बचाउका लागि वैज्ञानिक समाजवादको नारा लगाउन बाध्य भए। पार्टीको हेर्दा दलाल पुँजीवादसँग लड्ने कार्यक्रमहरू के छ ? वर्गसंघर्ष नै नगर्ने पार्टीले कसरी वर्गीय व्यवस्था ल्याउँछ ?
(राजनीतिक विश्लेषक आहुतिसँग शुष्मा बरालीले गरेको कुराकानीमा आधारित)