Kathmandu Press

अष्टलक्ष्मीका दुःख–कष्ट

हुन त, कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले पछिल्लो समय बम्पर चिठ्ठामै विश्वास गर्न थालेका छन्। जीवनभर बगाएको पसिनाको मूल्यस्वरूप कुनै पदीय लाभ पाउनु स्वाभाविक हो भन्ने मनोविज्ञानबीच आफूलाई उभ्याउनेको संख्या बढ्न थालेको छ। सिद्धान्त र विचारजस्ता पक्ष अब तपसिलका विषय भइसके।
अष्टलक्ष्मीका दुःख–कष्ट

काठमाडाैं, भदाै ७ : विक्रमाब्द तीसको दशकतिर लोकप्रिय गायक दीपक खरेलले एउटा गीत गाएका थिए, ‘प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ, कहिले हँसाउँछ, कहिले रुवाउँछ...।’

सम्भवतः यो गीतले नेपाली सांगीतिक आकाशलाई गुन्जायमान तुल्याउन थालेको बेलादेखि नै वामपन्थी राजनीतिमा होमिएकी, काठमाडौंको मध्यम वर्गीय नेवार परिवारकी अष्टलक्ष्मी शाक्यलाई साढे तीन वर्षअघि ‘समयले हँसाउने र रुवाउने’ बिन्दुमा पुर्‍याएको थियो। पार्टीभित्र व्याप्त चरम गुटगत राजनीतिका कारण उनको लामो र संघर्षशील योगदान एवं वरिष्ठतामाथि पूरै खेलबाड गरियो। राजनीतिको खेल–मैदानमा पर्याप्त ‘स्कोर’ ल्याए पनि उनी अयोग्य ठहरिइन्। निश्चय नै, वागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्ने उचाइ अष्टलक्ष्मीले नबनाएकी होइनन्। एमालेको नवौं महाधिवेशनका दुई महिला उपाध्यक्षमध्ये विद्यादेवी भण्डारीले राष्ट्रपति बन्ने सुअवसर पाइसकेकी थिइन् भने अर्का उपाध्यक्षले मुख्यमन्त्री पाउनुपर्ने कुरा हदैसम्म जायज थियो। तर उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भइन्। यो सबै एमालेभित्र हुर्किएको गुटगत राजनीतिको परिणाम थियो।

यद्यपि, नेकपा (एमाले)मा धाँजा फाटेको केही क्षण नबित्दै नाटकीय रूपमा वागमती प्रदेशको संसदीय दलको नेता र पछि मुख्यमन्त्रीमा चयन भइन्, अष्टलक्ष्मी। एकाध घन्टाअघि मात्रै प्रदेश मुख्यमन्त्री परिवर्तन हुने कुनै संकेत नमिलिरहेका बेला डोरमणिले हठात् राजीनामा दिए र अष्टलक्ष्मीले साढे तीन वर्षपूर्व सँगालेको सपनाले मूर्त रूप लियो। उनको सपना यस्तो समय साकार हुन पुगेको छ, जतिबेला एमालेको सग्लोपन समाप्त भइसकेको छ। मुख्यमन्त्रीमा नियुक्त हुनुपूर्व पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहसँग निकट रहेकी अष्टलक्ष्मीले मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएपछि एक क्षण पनि नबिताई कित्ता परिवर्तन गरेकी छन् नै, पार्टी विभाजनको चरम पीडा भोगिरहेका लाखौँ कार्यकर्ताको उत्साह–निराशाबीच पदभार ग्रहण गरेर पदका निम्ति जे पनि जायज छ भन्ने गलत सन्देश पनि दिएकी छन्।

Hardik ivf

विभाजनको नुनचुक

नेपाली कम्युनिस्ट आन्दोलन विभाजनको लामो ‘एपिसोड’ हुँदै गुज्रिँदै आएको विदितै छ। २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापित कम्युनिस्ट पार्टीले सात दशक लामो यात्रा छिचोल्दा एकताभन्दा धेरै विभाजनको कथा कहेको छ। २००७ सालदेखि ०१५ सालसम्म शैशवावस्थामै रहेको कम्युनिस्ट आन्दोलनले त्यो अवधिमा तातेताते गर्न सिक्दै थियो। नेपाली कांग्रेस र गोर्खा परिषद्जस्ता तत्कालीन समयका घघडान राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्दै २०१५ सालमा चार सिट ल्याएको कम्युनिस्ट पार्टीले २०१७ सालमा राजा महेन्द्रले सत्ता हत्याएपछि छिन्नभिन्न हुनुपर्ने अवस्था झेल्नुप¥यो। आशलाग्दा कम्युनिस्ट नेताहरू राजा महेन्द्रको कदमप्रति नतमस्तक हुँदै पञ्चायती राजनीतिमा होमिए। यो क्रिया २०३५ सालमा नेकपा (माले) गठन नभएसम्मै तन्किइरह्यो। त्यसयता पनि कालीमाटीमा माछा पसल थापिएजस्तै कम्युनिस्ट पार्टीहरू रहिरहे र उनीहरूले आफ्ना माछा असल रहेको प्रचार गरिरहे।

पञ्चायतकालभरि र बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिका दिनमा पनि नेपालका कम्युनिस्ट पार्टी विभाजित भइरहे। एउटा सानो समूह वा गुटमा आएको विभाजनले कार्यकर्ता पंक्तिमा तरंग त ल्याउँथ्यो होला, तर त्यसले आम जनतामा तरंग ल्याउने हैसियत राख्दैनथ्यो। २०५४ सालमा नेकपा (एमाले)मा आएको विभाजनले भने राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै तरंगित तुल्याएको विदितै छ। कम्युनिस्टहरू पनि सत्तामा आउन सक्छन् र सफल रूपमा सत्ता सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकारले देखाइसकेको हुँदा ०५४ को विभाजनले कम्युनिस्ट आन्दोलनको भविष्यमाथि प्रश्नचिह्न उठ्नुका साथै विभाजनको असर दीर्घकालसम्मै पर्ने अनुमान लगाइएको थियो। दीर्घकालसम्म असर नपरे पनि केही वर्षसम्म एमाले–मालेको द्वन्द्वको छायाबीच कम्युनिस्ट आन्दोलन रुमलिन पुग्यो।

०६१÷६२ को जनआन्दोलनको सफलतापछि शान्ति प्रक्रियामा आएको नेकपा (माओवादी) पनि एकता र विभाजनको लामो प्रक्रियाबाट गुज्रिँदै अहिलेको अवस्थामा आइपुगेको छ। पछिल्लो समय दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रबीच एकता नै भयो। तर एकता प्रक्रिया पूर्ण र परिपक्व नहुँदै हठात् रूपमा पारपाचुके गरेर आ–आफ्नो बन्दोबस्तीमा लागे। यी दुई पार्टीबीच कोरिएको विभाजन रेखासँगै कानुनी फैसलापछि ब्युँतिएको एमालेमा अहिले भने पूरै धाँजा फाट्न पुगेको छ। गएको पुस ५ यता एमालेका दुई शक्तिशाली नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच सतहमै देखिएको टकराबले अन्ततः एमालेलाई विभाजनको सँघारमै पु¥याइछाड्यो। यसरी बेग्लाबेग्लै चुलोचौको जोड्ने निर्णय र परिस्थिति उब्जिनुमा अरू शक्ति समूहका उक्साहटले पनि पक्कै भूमिका खेलेको होला, मूलतः एमाले नेतृत्वमा देखिएको व्यक्तिगत टकराब र अन्तर्विरोधलाई समयमै निप्ट्याउन नसक्नु नै विभाजनको मुख्य कारण हो भन्न कन्जुस्याइँ गर्नु हुँदैन।

एमाले माक्र्सवादमा आस्था राख्ने र त्यही वादलाई पछ्याउने राजनीतिक शक्ति हो। माक्र्सवादले विज्ञानमा भरोसा राख्छ। लेनी बुल्फले भनेका छन्, ‘कुनै प्रक्रिया वा वस्तुको परस्पर विरोधी पक्ष अनिश्चित कालसम्म संघर्षमा रहँदैन। एक निश्चित बिन्दुमा पुगेपछि विकासमा छलाङ हान्छ। अर्थात् विरोधमा संघर्ष एवं रूपान्तरण हुँदैहुँदै एक सर्वथा नयाँ प्रक्रिया अस्तित्वमा आउँछ। यसरी संघर्ष चक्रीय नभएर सर्पिल हुन्छ, जुन विभिन्न मोड, घुम्ती र उतारचढावबाट गुज्रिँदै निरन्तर पहिलाभन्दा उच्च स्तरतिर बढिरहन्छ। अन्ततः छलाङ मारेर एउटा नयाँ मञ्जिलतिर बढ्छ।’ (‘क्रान्तिको विज्ञान’बाट)।

नेकपा (एमाले) गठन भएयता करिब तीन दशकसम्म एमालेमै रहे, माधवकुमार नेपाल। आधा अवधि अर्थात् डेढ दशक त उनले नै पार्टीको रथ हाँके। संकटको घडीमा नेपालले एमालेलाई गति प्रदान गरेकामा सन्देह देखिँदैन। पछिल्लो समय भने आफूले मलजल र गोडमेल गरेर हुर्काएको पार्टीबाट उनी पृथक् भएका छन्, बेग्लै पिर्का ओछ्याउन आफू र आफ्ना कैयौँ नेता कार्यकर्तालाई प्रेरित तुल्याएका छन्।

सिंगो जीवन वामपन्थी राजनीतिमै समर्पित गरेका माधवकुमार नेपालले पक्कै नबुझेका छैनन् होला– नयाँ पार्टी गठन कार्य कुनै खेलाँचीको विषय होइन। २०५४ सालमा वामदेव गौतमले एमालेलाई विभाजित तुल्याएर माले गठन गरेपछि २०५६ सालको निर्वाचनमा कसरी शर्मनाक हार बेहोर्नुप¥यो, त्यसपछिका वर्षमा आफ्ना नेता कार्यकर्ता माओवादीतिर कसरी सलहझैँ फैलिँदै गए र पछिल्लो समय फेरि माउ पार्टीमै किन फर्किनुप¥यो ? इतिहासले घोकाएको नराम्रो पाठबारे सर्वथा परिचित नेपालले अहिले किन एमालेबाट अलग हुने निर्णयसामु आफूलाई पु¥याए ? के यसका निम्ति केपी शर्मा ओलीको हठ र स्वेच्छाचारी प्रवृत्ति मात्रै जिम्मेवार छ त ? पक्कै पनि समय क्रममा यस्ता प्रश्नले निरुपण हुने अवसर पाउला।

अष्टलक्ष्मी–प्रवृत्ति

नेपालको कम्युनिस्ट आन्दोलनमा साधना–सहाना प्रधान र प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको विरासतलाई धान्ने महिला नेतृमा गनिन्छन्– अष्टलक्ष्मी। नेपालको कम्युनिस्ट आन्दोलनमा उनले पु¥याएको योगदानलाई कुनै पनि कोणबाट नजरअन्दाज गर्न मिल्दैन। तीसको दशकदेखि सिंगो जीवन कम्युनिस्ट आन्दोलनमा होमेकी अष्टलक्ष्मीले यतिखेर उच्च पद र सुविधा भोगिरहेका महिला नेतृभन्दा कम योगदान पु¥याएकी छैनन्। कम्युनिस्ट आन्दोलनमा उनले फटाएका भोटा गन्ने हो भने वर्तमान पुस्ताले नतमस्तक हुँदै सम्मान गर्नुपर्ने हुन्छ। राजनीतिमा अष्टलक्ष्मीले व्यहोर्नुपरेका दुःख–कष्टको लामो फेहरिस्त छ।  

पछिल्लो समय भने अष्टलक्ष्मी गुटबन्दीको सिकार बनिन्। साढे तीन वर्षअघि नै वागमती प्रदेशको मुख्यमन्त्री बन्ने ‘सौभाग्य’बाट वञ्चित हुनुमा उनको कुनै अयोग्यता थिएन। एउटै मात्र अयोग्यता थियो– माधव नेपाल समूहमा आबद्ध हुनु। तत्कालीन समय उनी केपी ओली समूहका थिइन् भने त्यतिबेलै उनको मुख्यमन्त्रीको ‘डोर’ खुल्थ्यो। नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित र पछिल्लो समयसम्मै नेपाल समूहमै रहेकी कारण नै उनी मुख्यमन्त्री हुने मौकाबाट चुकिन्।

यतिबेला भने अष्टलक्ष्मी मुख्यमन्त्री बनेकी छन्– बिनाकसरत, बिनामाग। न उनले ओली समूहका कुनै सांसदको अवरोध झेल्नुप¥यो, न त नेपाल समूहकाले विरोध गर्ने ठाउँ नै रह्यो। यो उनको ‘भाग्य’ हो वा ‘दुर्भाग्य’ ? पार्टी विभाजन हुँदा एउटा समूहसँग सम्बन्धविच्छेद गरेर अर्को समूहमा उभिएकी कारण प्राप्त पुरस्कारको रूपमा पनि उनले पाएको मुख्यमन्त्रीको जिम्मेवारीलाई अथ्र्याउन थालिएको छ।

विदितै छ, संघीय सरकार फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरिन थाले। एकाध महिनाको अवधिबीच गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको सरकार हटेर क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार गठन भए। गण्डकी र लुम्बिनीमा चलेको सत्ता फेरबदलको हावा बिस्तारै पूर्वतिर पनि सर्ने संकेत देखिँदै थियो र वागमती र १ नम्बर प्रदेशमा त्यसको बहावले चाँडै नै घनीभूत रूपमा स्पर्श गर्ने चर्चा चुलिँदै थियो। अष्टलक्ष्मीले ओली समूहको समर्थन पाएर अहिले मुख्यमन्त्री बन्ने अवसर नपाएकी भए पनि वागमती प्रदेशमा उनको मुख्यमन्त्रीको सम्भावना सँघारमै उभिएको थियो। पछिल्लो समय माधव नेपालले अलग पार्टी बनाउने तयारी थालेसँगै असहमत देखिएकी अष्टलक्ष्मीले अहिले साढे तीन वर्षअघिको ‘मुख्यमन्त्रीको तृष्णा’ मेटाउन पाएकी छन्। यो उनको राजनीतिक जीवनको उपलब्धि हो वा अवसरवादतिरको यात्रा हो ? वा, उनले पाएको बम्पर चिठ्ठा हो ? उनले नै मूल्यांकन गरून्।

हुन त, कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले पछिल्लो समय बम्पर चिठ्ठामै विश्वास गर्न थालेका छन्। जीवनभर बगाएको पसिनाको मूल्यस्वरूप कुनै पदीय लाभ पाउनु स्वाभाविक हो भन्ने मनोविज्ञानबीच आफूलाई उभ्याउनेको संख्या बढ्न थालेको छ। सिद्धान्त र विचारजस्ता पक्ष अब तपसिलका विषय भइसके। मुख्य कुरा त पद र सुविधा नै हो भन्ने पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउन थालेका छन्। अर्थात्, अवसरवादको उपवनमा टहलिनु नै उत्तम उपाय हो भन्ने मनोवृत्तिबाट ग्रस्त देखिएका छन्। नभए, हिजोसम्म ओली समूहको पिर्कामा बसेर मीठा भोजन डकारेकाहरूले एकाएक माधव समूहको पिर्का रोज्नु र माधव समूहकाले ओली समूहका पिर्का रोज्नुको कारण के हुनसक्छ ? यी सबै अवसरवादका भद्दा संस्करण हुन्।  

अन्त्यमा, फेरि दीपक खरेलकै गीतलाई सम्झिनु सान्दर्भिक होला। अहिलेको समयले अष्टलक्ष्मीजस्ता पात्रलाई मुख्यमन्त्रीको कुर्सीको पु¥याएको छ र यो पदीय लाभ प्राप्तिसँगै उनलाई समयले पक्कै पनि हँसाउला। निकट समयमै विस्तारित मन्त्रीमण्डलमा माधव नेपाल समूहका केही सांसद पर्लान् र उनीहरू पनि पदीय लाभ प्राप्तिको खुसियालीसँगै हाँस्लान्। तर यो हाँसोको आयु कति होला ? प्रतीक्षा गर्नैपर्छ। साँच्चै, समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ, पु¥याउँछ।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?