संस्कृतिको बजारीकरण र ‘ख्यास्स पुतली’
कुनै समय केही जाति वा समुदायको सीमित घेराभित्र रहेको पर्व तीज आज सिंगो नेपाली समाजकै सांस्कृतिक पर्व बन्न पुग्दै छ। तीजमा भित्रिएका विकृति हटाउँदै एक सौहार्द, तडकभडकविहीन र विशुद्ध सांस्कृतिक पर्वका रूपमा यो पर्वलाई विकास गर्नुपर्नेछ।विक्रमाब्द ४० को प्रारम्भिक दशकतिरको एउटा प्रसंग स्मरण हुन्छ अझै मलाई। गाउँको मध्य–भूभागमा महादेवको मन्दिर स्थापित थियो। त्यही मन्दिरभन्दा ठीकमुनि करिब एक मिनेटको दूरीबीच सिद्धस्थान थियो। हरेक वर्षको तीजमा महादेवको मन्दिर परिसरमा नारीहरूको भव्य जमघट हुन्थ्यो। सांस्कृतिक हिसाबले ग्रामीण बस्तीलाई शोभायमान तुल्याउने केही धार्मिक, सांस्कृतिक पर्वमध्ये तीज पनि गन्तीमा आउँथ्यो।
थानपति महादेव थानको लघु आकारको मन्दिरमा तीजमा व्रत बसेका वल्लापल्ला गाउँका नारी समेतको सक्रिय उपस्थिति रहन्थ्यो। उनीहरू मन्दिरमा पूजाआजा गर्थे र मन्दिर नजिकैको खुला चौरमा नाचगान गर्दै मनोरञ्जन लिन्थे। तत्कालीन समय र समाजमा नारीले भोग्नुपरेका घरेलुदेखि सामाजिक उत्पीडनका कथाव्यथालाई गीति लयमार्फत अभिव्यक्त गर्थे। उनीहरूले गाउने गीतमा ‘ब्लुज सङ’को नमीठो हरक आउँथ्यो। नेवार समुदायको बाहुल्य रहेको उक्त गाउँको मध्य थलोमा अवस्थित महादेवको मन्दिरमा तीजको माहोलमा भिज्न त्यही गाउँ र वरपरका गाउँका ब्राह्मण एवं क्षेत्री समुदायका नारीको भीड लाग्थ्यो। नेवार समुदायका महिला भने कमै उपस्थित हुन्थे। नेवार समाजमा तीजमा व्रत बस्नुपर्ने चलन नभएको हुँदा यस समुदायका महिला मन्दिरमा पुगी श्रद्धा अर्चना गर्न र मनोरञ्जनमा सामेल हुनबाट टाढै रहन्थे।
मलाई सम्झना छ, मेरी आमाले भने तीजका दिन महादेवस्थानको मन्दिरमा पाइला टेक्नुहुन्थ्यो। किनभने, तत्कालीन समयमा ग्रामीण भेगमा सामाजिक÷सांस्कृतिक जमघट सीमित हुन्थे र त्यहीमध्ये एउटा पथ्र्यो– तीज। अरू नारीले धार्मिक अनुष्ठानमा सक्रियतापूर्वक सहभागिता जनाएको र मनोरञ्जनमा दत्तचित्तपूर्वक क्रियाशील भएको दृश्यलाई आमाले नियाल्नुहुन्थ्यो। तीजको व्रत नबसेका कारण उहाँले कुनै धार्मिक अनुष्ठानमा भाग चाहिँ लिनुहुन्नथ्यो। महादेवको मूर्तिलाई ढोग्ने र टीका लगाउने मात्र गर्नुहुन्थ्यो।
थाहा थिएन मलाई, त्यतिबेला नेवार समुदायका नारीले तीज मान्थे कि मान्दैनथे ! महादेवको मन्दिरमा ब्राह्मण र क्षत्री समुदायका महिलाले रौनकता दिलाएका बेला तीजमा कुनै व्रत नबस्ने मेरी आमाको भूमिका भने नितान्त सीमान्तकृत दर्शकझैँ हुन्थ्यो। यो दृश्यविम्ब म अझै पनि सम्झन्छु।
निश्चय नै, पूर्ववर्ती समयमा तीजलाई मूलतः हिन्दू कथित उच्च जातीय नारीले विशेष रूपमा मनाउने गर्दथे। केही दशकयता भने तीजले अरू जाति वा समुदायभित्र पनि सहज रूपमा प्रवेश पाइसकेको छ। नेवार समुदायका नारीले पनि तीजको सांस्कृतिक रौनकमा आफूलाई भिजाउन थालेका छन्। नेवार समुदायका नारी मात्र होइनन्, अरू जाति÷जनजातिका महिलाले पनि तीजलाई समग्र नेपाली नारीको पर्वका रूपमा ग्रहण गरी मनाउन थालेका छन्। तसर्थ, पछिल्लो समय तीजले आफ्नो सीमा क्षेत्र विस्तार गरिसकेकामा दुईमत देखिँदैन।
तीजलाई एक विशुद्ध सांस्कृतिक पर्वको रूपमा स्विकारिए पनि यो पर्वमा धार्मिक वा पौराणिक मिथक र आहान समेत जोडिँदै आएका छन्। हुन त धर्मभन्दा पहिला संस्कृतिको अभ्युदय भएको थियो। कुनै पनि पर्व सांस्कृतिक मूल्य–मान्यताले भरिपूर्ण भए पनि त्यसलाई धर्मसँग जोड्ने परिपाटीको विकास भने सामन्ती समाजको अभ्युदयसँगै हुँदै आयो र हरेक चाड वा पर्वमा धार्मिक वा पौराणिक मिथक अभिन्न रूपमा जोडिएका छन्।
हिन्दू धर्मावलम्बीले ग्रहण गरेका अरू चाडपर्वमा जस्तै तीजमा पनि धार्मिक आस्थाको पक्ष जोडिएकै छ तर पछिल्लो समय नेपाली समाजमा यो सांस्कृतिक पर्वकै रूपमा उभिँदै र परिचित बन्दै आएको थियो। किनभने, नारीले उन्मुक्त भावभङ्गी प्रदर्शन गर्दै आफ्ना दुःख–वेदनाका सुसेली हाल्ने पर्वका रूपमा यो परिचित रहँदै आएको थियो। हामीले एउटा कटुसत्य स्विकार्नैपर्छ, नेपाली समाजका सबै जाति वा समुदायका नारीका कथा–व्यथा, उत्पीडन र शोषणका स्वरूप समान भए पनि अधिक चाहिँ ब्राह्मण क्षत्री समाजकै वा समाजमै छन्। धर्म र संस्कृतिको गलपासोमा ब्राह्मण क्षत्री समाजका महिला बढी नै बाँधिन पुगेका छन्।
परिवर्तनको प्रभाव
केही दशकअघिसम्म ग्रामीण कृषि अर्थतन्त्रको टेकोमा यात्रारत नेपाली समाजको कथा बेग्लै थियो। सूचना र प्रविधिको विकास एवं पहुँचमा उँधो तहमै थियो, ग्रामीण अर्थतन्त्र। पछिल्लो समय भने निकै ठूलो फड्को मार्न पुगेको छ। अचेल ग्रामीण भेगका मानिस प्रविधिगत हिसाबले समृद्ध बन्दै छन्। हरेकका हातहातमा मोबाइल फोन छन् र उनीहरू देश–देशावरका खबर तत्काल पाउन सक्छन्। प्रविधिको तीव्र विकासले हरेक क्षेत्रमा परिवर्तनबोध दिलाउँदै गएका छन्। मानिस–मानिसबीचको दूरी र सम्बन्ध छोटिँदै छन्। केही वर्षपूर्व सिन्धुलीगढीको प्रवेशद्वारमा फलफूलको सानो पसल थापेर बसेकी एउटी महिलालाई मैले स्थानीय विषयबारे सोध्दा उनले आफूलाई थाहा नभएको बताइन्। उनी पूर्वी पहाडी जिल्ला पाँचथरबाट त्यो ठाउँमा बिहे गरेर आइपुगेकी रहिछन्। मैले उनलाई सोधेँ, ‘त्यति टाढाकी तपाईं, कसरी यो ठाउँमा बिहे गरेर आइपुग्नुभयो ?’
ती महिलाले सहजतापूर्वक बताइन्, ‘फेसबुकमा चिनजान भो, मन पराइयो र बिहे गरियो।’
यस्ता पक्ष परिस्थितिहरू सिर्जना हुनुमा अनेक कारणले सहायक भूमिका खेलेका छन्। सूचना प्रविधिको तीव्र विकास त मुख्य कारण भइहाल्यो। साथै, रेमिट्यान्स, शिक्षा र सडकको पहुँचले परिवर्तनका रेखा नजानिँदो तरिकाले कोरिन पुगेका छन्। यिनै कारणले ग्रामीण भेग समेत उठ्न पुगेका छन्– सूचना, चेतना र अरू हिसाबले पनि।
सहरी क्षेत्र त धेरै माथि उठेका छन्। सूचना र प्रविधिगत पहुँचका हिसाबले सहरी क्षेत्रका बासिन्दा विकसित मुलुककै दाँजोमा दरिन पुगिसकेका छन्। तसर्थ, सहरी क्षेत्रका नारी पूर्ववर्ती सामन्ती समाजका नारीले भोग्नुपर्ने तमाम उल्झनबाट पृथक् छन्। ‘बुहातर्न’ भन्ने शब्द सहरी नारीका निम्ति अब शब्दकोशमा मात्र सीमित हुन पुगेको छ। एक हिसाबले उनीहरू उन्मुक्त पुस्तामा रूपान्तरित भइसके भन्दा अन्यथा ठहर्दैन। सहर सिकोको अर्को आधार पनि हो, सायद। तीज आओस् वा अरू कुनै पर्व, त्यसलाई बिना हिच्किचाहट सहर्ष रूपमा स्विकार्ने कार्यमा महिला वा पुरुषले समान अधिकार पाएझैँ प्रतीत हुन्छ। यो उपक्रम ग्रामीण भेगसम्म तन्किँदो छ।
तीजलाई ब्राह्मण क्षत्री समुदायका महिलाले मात्र नभई अरू जाति जनजातिका महिलाले समेत आफ्नै सांस्कृतिक पर्वका रूपमा स्विकार्ने कार्य पछिल्लो समय वृद्धि हुँदै जानुमा सांस्कृतिक अन्तर्घुलनको प्रभावले मुख्य भूमिका खेलेको ठान्न सकिएला। योभन्दा धेरै त हाम्रो समाजमा हिन्दू संस्कृतिले पहिलादेखि नै जति घनीभूत प्रभाव पार्दै आएको थियो, त्यसकै सघन प्रभावको उपज ठान्नु अझ सान्दर्भिक होला। हामीले देखेका वा भोगेका छौँ– जहिल्यै प्रभावकारी संस्कृतिले निम्छरो संस्कृतिमाथि आधिपत्य (प्रभुत्व) जमाउँदै आएका छन्। चाहे त्यो विदेशी होस् वा स्वदेशी। प्रभावकारी संस्कृतिको बढ्दो प्रभुत्वकै कारण अहिले हामी आफ्नो परम्परागत संस्कृतिप्रति कम स्नेह र अपनत्वबोध स्विकार्ने र प्रभुत्वकारी संस्कृतिलाई सहज रूपमा ग्रहण गर्ने कार्यमा पारंगत भइसकेका छौँ। हामीले खुलेरै ‘भ्यालेन्टाइन डे’ मनाउन थालिसकेका छौँ, अंग्रेजी सम्वत्को नयाँ दिनलाई धुमधामका साथ स्विकार्न थालिसकेका छौँ।
किन उफ्रिन्छन् दुर्गेश थापाहरू ?
केही वर्षयता संगीतकर्मी दुर्गेश थापा र उनका समूहले विशेषतः तीजको सन्दर्भ पारेर निकालेका गीत–संगीतले एउटा वृत्तमा राम्रै चर्चा÷परिचर्चा पाइरहेका छन्। यो वर्ष उनले जारी गरेको ‘ख्यास्स पुतली’ बोलको गीतमाथि सकारात्मकभन्दा नकारात्मक टिप्पणी आए, धेरै नै। द्विअर्थी शब्दले भरिभराउ उक्त गीतको ध्यन्यर्थलाई लिएर खासगरी नारीवादी आन्दोलनमा लागेकाले आपत्ति जनाए। समाजलाई छाडापनतिर उन्मुख गराउन, नारीको अस्मिताप्रति द्वेष फैलाउन उक्त गीत उद्यत रहेको ठहर गर्दै नारी र प्रगतिशील चिन्तन बोक्ने ‘दुर्गेश थापा एन्ड कम्पनी’प्रति क्षुब्ध देखिन पुगे। निश्चय नै, गीतका शब्द नारी समुदायप्रति कठोर छन्। गलत एवं विकृत चिन्तन र कार्यप्रति उकेरा लगाउन महिला–पुरुष दुवै उद्यत भए पनि दुर्गेशको प्रहार भने नारीमाथि मात्र केन्द्रित रहेको हुँदा त्यसलाई स्वीकार्य ठान्ने आधार भेटिँदैन।
यद्यपि, अब सचेत नारीले आफूहरूलाई ‘ख्यास्स पुतली’भन्दा माथि उठेर हेर्नु र सोच्नु पनि पर्छ। तीजकै सन्दर्भमा कुरा गर्दा, जसरी तीज पछिल्लो समय एउटा संस्कृतिको तहबाट निस्केर हिन्दुत्वकरण हुने दिशामा उन्मुख छ। कुनै समय केही जाति वा समुदायको सीमित घेराभित्र रहेको पर्व तीज आज सिंगो नेपाली समाजकै सांस्कृतिक पर्व बन्न पुग्दै छ। तीजमा भित्रिएका विकृति हटाउँदै एक सौहार्द, तडकभडकविहीन र विशुद्ध सांस्कृतिक पर्वका रूपमा यो पर्वलाई विकास गर्नुपर्नेछ।
मूलतः वर्षमा एक दिन मात्र नारीहरू उन्मुक्त भावभङ्गीसहित रमाउने यस्ता पर्वमा भित्रिएका विकृत पक्षलाई हटाएर नारीले वर्षैभरि आफ्नो उन्मुक्ति र स्वतन्त्रताको अनुभूति गर्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा अझ अरू जाति वा समुदायतिर यो पर्व सल्किँदै छ। यस्तो हुनुमा हिन्दु धर्मको प्रभुत्व रहेको समाजमा हरेक चाड वा पर्वलाई हिन्दुत्वकरण गर्ने प्रयत्नकै विस्तृत अभियान हो भन्नु पनि अन्यथा नठहरिएला।
बिसाउनी
पछिल्लो समय, तीज होस् वा अरू कुनै पर्व, उल्लास, मनोरञ्जन र सद्भाव बाँडचुँड गर्ने पर्वका रूपमा सीमित रहेनन् वा रहन छाडिसकेका छन्। जब दसैँ–तिहारजस्ता पर्व आउँछन्, मदिरा उत्पादक कम्पनीले तीव्र रूपमा आफ्ना उत्पादनको प्रचार–प्रसारमा लाखौँ–करोडौँ खर्च गर्ने गर्छन्। प्रचारप्रसारमा खर्च गरिएअनुरूप त्यस्ता मदिरा कम्पनीका उत्पादनको बिक्री अधिक हुने अनुमान लगाउन मुस्किल पर्दैन। साथै, तीजजस्तो नारीकेन्द्रित पर्वलाई पनि लक्षित गरेर व्यापारिक कम्पनीले नारी सौन्दर्यका सामग्रीको बजार विस्तारीकरण गर्ने कार्य स्वाभाविकै रूपले अघि बढाउन चाहन्छन्। निश्चित रूपमा, उपभोक्तावादी संस्कृतिको बढ्दो चापलाई कुनै पनि भोक्ताले नजरअन्दाज गर्न नसक्ने यथार्थका सामु तीजमा पनि नारीले सौन्दर्यका सामग्री खरिद गर्ने कार्यबाट आफूलाई पन्छाउन सक्दैनन्। देखावटीकै लागि भए पनि मानिसले महँगा र आवश्यकताभन्दा बढी नै सामग्री खरिद गर्ने हुँदा यस्ता पर्वले घर–परिवारको आर्थिक सन्तुलनलाई खलबल्याउन भूमिका खेल्ने गरेकामा कुनै सन्देह देखिँदैन।
यद्यपि, केही वर्षयता कोरोना महामारीका कारण सामाजिक, सांस्कृतिक जमघट शून्यप्रायः हुन पुगेका छन्। महामारीका कारण दसैँ–तिहारजस्ता हिन्दूका पर्व समेत प्रभावित बन्न पुगेका छन् भने तीजलगायत अरू पर्वमा महामारीको प्रभाव नपर्ने प्रश्नै रहेन। महामारीपूर्वका वर्षका तीजमा महिलामा देखिने रौनक, तडकभडकलाई लिएर भने अनेक प्रश्न उब्जिएकै थिए। अब, महामारी थामिएपछि कस्तो होला, त्यो भविष्यले नै बताउला।