Kathmandu Press

ओली चिप्लिएको ठाउँमा देउवा सम्हालिएर हिँड्लान्?

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ ‘विद्रोही’ सांसद देउवाको पक्षमा चट्टानजस्तै अडिग भएर उभिएपछि झनै खलबलिन पुगेको एमालेको एकता–प्रयत्न भीरबाट खस्नै लागेको छ। निःसन्देह, यतिबेला एमालेको जीवन धेरै नै सकसपूर्ण देखिँदै छ।
ओली चिप्लिएको ठाउँमा देउवा सम्हालिएर हिँड्लान्?

एकजना हजाम थिए, राजाका अति नै प्रिय। हरेक बिहान आफ्नो दाह्री–जुँगा मिलाउन राजाले ती हजामलाई दरबारमा बोलाउँथे र उनीसँग देश–देशावरका खबर बुझ्थे। एक हिसाबले, राजाले तिनै हजामबाट राज्यको सम्पूर्ण जानकारी हासिल गर्थे र आफ्नो दृष्टिकोण बनाउँथे।

एकपटक राज्यमा ठूलो अनिकाल पर्‍यो। जनता भोकभोकै मर्न थाले। जनताको पीडाप्रति राज्यको रतिभर नजर परेन। जनताको बेहाल देखेर मन्त्रीहरूले राजासमक्ष गुहार गरे, ‘महाराज ! राज्य अनिकालको चपेटामा प¥यो। प्रजा मर्न थालिसके। अनिकालले गर्दा कतिपय प्रजा आफ्ना खेत–खलिहान, जनावर, धनसम्पत्ति बेचेर राज्य छाड्दै अन्यत्रै जान थालिसके। राज्यको ढुकुटी खर्च गरेर प्रजालाई अनिकालमुक्त नतुल्याउने हो भने सिंगो राज्य प्रजाविहीन हुनेछ।’

मन्त्रीका कुरा सुने पनि राजा मौन बसे। भोलिपल्ट बिहान राजाले आफ्नो सेवामा उपस्थित हजामलाई निर्देशन दिँदै भने, ‘मन्त्रीहरूले राज्यमा अनिकाल पर्‍यो भन्दै छन्। हिजो मकहाँ आएर ढुकुटीको पैसा खर्च गर्नुपर्‍यो भन्दैथे। के भएको रहेछ, भोलि सबै वास्तविकता बुझेर आउनू।’

Hardik ivf

हजाम घर फर्किए। उनको गोठमा १०–१२ वटा दुहुना भैंसी बाँधिएका थिए। भकारीभरि अन्नपात थिए। आँगननजिकै जस्तोसुकै सुक्खा मौसममा पनि पानी आउने इनार थियो। सुन, चाँदी, रत्न, मणिमाणिक्यले घर भरिएको थियो। भोलिपल्ट साबिक समयमै उनी दरबार पुगे र राजासामु बिन्ती चढाए, ‘महाराज ! राज्यमा अनिकाल–सनिकाल केही पनि परेको छैन। सबै ठीकठाक छन्, चलिरहेको छ। भकारीभरि अन्नपात छन्, गाईभैँसीले दूध दिइरहेका छन्, इनारभरि पानी छ, सुनचाँदी प्रशस्तै छन्। ती बदमास मन्त्रीले राज्यको ढुकुटी लुटेर खानका लागि राज्यमा अनिकाल परेको अफवाह फैलाएका हुन्। सबै वाहियात कुरा हो।’

हजामको ‘ब्रिफिङ’ सुनेर आक्रोशित भएका राजाले मन्त्रीहरूलाई बोलाए र नराम्ररी झपार्दै भने, ‘राज्यमा कहाँ अनिकाल परेको छ ? सब वाहियात। सबै जनता आनन्दले बसिरहेका छन्, उनीहरूका भकारीभरि टन्नै अन्नपात छन्, इनारमा पानी आइरहेको छ। कहाँ अनिकाल पर्नु ? वाहियात कुरा। मलाई भ्रममा पारेर राज्यको ढुकुटी सिध्याउन खोजेका हौ, तिमीहरूले।’

मन्त्रीहरूले दिमाग लडाए, ‘राजा नराम्रा त होइनन्, तर कसै न कसैले राजालाई यति धेरै मूर्ख र बेवकुफ बनाइरहेको छ। यो पत्ता लगाएर राजालाई मूर्ख बनाउनेलाई दण्डित गर्नुपर्छ।’

मन्त्रीहरूले खोज–अनुसन्धान गर्दै जाँदा हजामको करामत दृश्यात्मक भए। त्यसपछि मन्त्रीहरूले हजामको घरमा थुप्रिएका अन्नपात, गाईभैँसी र बहुमूल्य मणिमाणिक्यहरू चोरी गर्ने निधो गरे। तत्पश्चात्, एकरात हजामको घरका गाईभैँसी, अन्नपात र मणिमाणिक्य चोरी गरियो।

आफ्ना सम्पत्तिहरू चोरी भएको भोलिपल्ट हजाम दरबारमा गए र राजासामु रोइकराई गर्न थाले, ‘महाराज ! हजुरको राज्यको हालत निकै खराब भइसक्यो। हिजो राति मेरो घरमा चोरी भयो, गाईभैंसी, अन्नपात र गरगहनाहरू सबै चोरिए। राज्यको हालत निकै खराब भइसक्यो, महाराज। राज्यको सुरक्षा प्रबन्ध दह्रो तुल्याउन पहल गर्नुप¥यो, निर्देशन दिनुप¥यो।’

केही वर्षपूर्व कतै पढेको थिएँ, यो लोककथा। शासक एवं उनका अनुचर–सेवकको प्रवृत्तिलाई उजागर गर्न सक्षम यो लोककथाको सान्दर्भिकता आजको हाम्रो राजनीति र समाज व्यवस्थामा पनि उस्तै प्रतीत हुन्छ। शासकहरू आफ्ना विश्वासपात्रप्रति अतिशय विश्वस्त हुँदा अनेकौँ विभम्रमा चुर्लुम्म डुब्न पुग्छन्। जनताले झेल्नुपरेका अनगिन्ती पीडा, उनीहरूका सामु तेर्सिएका अजङ्गका सङ्कट र निराशाको तहलाई शतप्रतिशत नजरअन्दाज गर्छन्। यस्तो प्रवृत्ति इतिहासमा मात्र होइन, आज पनि यथावत छन्।

केही सीमित अनुचरका ‘सल्लाह’माथि कुनै सन्देह नउमारी हुबहु शिरोधार्य गर्ने शासकहरू र आफ्नो ढाडमाथि आपद्विपत्को पहिरो खसेपछि आँखा उघार्न बाध्य हुने चम्चे प्रवृत्तिले नेपाली राजनीतिमा जरा गाड्दै आइरहेको लामै समय बितिसक्यो। यस्तो प्रवृत्तिको पटाक्षेप भइसकेको छैन अझै। यसो हुन कति वर्ष वा युग लाग्ने हो, कुनै टुङ्गो छैन। यद्यपि, पछिल्लो कालखण्डमा दुईतिहाइको टेको पाएर सानदार ढंगले सत्तारोहण भएको नेकपा (एमाले) को सरकार च्युत हुन पुग्नुमा यस्तै प्रवृत्तिको प्राधान्य रहेकामा मतभिन्नता देखिँदैन। विदितै छ, पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा एमाले बाहेकका दलहरूको सरकार गठन हुन पुगेको छ। अपेक्षा गरौँ– कुनै लुछाचुँडीबिना नै केही दिनपश्चात् सरकारले पूर्णता पाउला र समयले सुम्पिएको जिम्मेवारीलाई सार्थक ढंगले निर्वाह गर्ला।

यतिबेला नयाँ सरकारलाई जनताले विश्वास र भरोसा गर्नु स्वाभाविकै देखिन्छ। दशक लामो सकसपछि निर्मित संविधानको रक्षार्थ उभिएका राजनीतिक दलहरू सम्मिलित वर्तमान सरकारले पूर्ववर्ती सरकारद्वारा चालिएका असंवैधानिक र अनुचित कदमलाई सच्याएर लोकतान्त्रिक संस्था, मूल्य एवं धरोहरलाई सम्मान गर्दै अघि बढ्ने अधिक अपेक्षा पनि गरिएको छ। तसर्थ, विगतमा जेजस्ता गलत प्रवृत्ति सतहमा प्रकट भए, अब त्यस्ता प्रवृत्तिको नेपाली राजनीतिमा पुनरावृत्ति नहोस् भन्ने कामना पनि सबैले गरेका छन्।

विद्वेष र घृणाको राजनीति

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले त्यसको ६ दिनपश्चात् नै  धेरैले अपेक्षा र अनुमान गरेभन्दा बढी (१६५ सांसद)को विश्वासको मत पाए। २३८ सांसदमध्ये बहुसंख्यकले उनलाई विश्वासको मत दिए। विश्वासको मत पाएसँगै अब उनले अविच्छिन्न अर्को संसदीय निर्वाचनसम्मका लागि (बीचमा कुनै राजनीतिक दुर्घटना भएनन् भने) पदभार सम्हाल्ने अवसर पाएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते हठात् संसद् विघटन गरेपश्चात् उत्पन्न राजनीतिक द्वन्द्वपछि सैद्धान्तिक रूपले एकै थलोमा उभिएका संसद्का अरू दल (एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको समूह समेत) को अपार विश्वास पाएर प्रधानमन्त्री बनेका देउवाको काँधमा अब संघीय, स्थानीय र प्रदेशको निर्वाचन गराउने दायित्वबोध थपिएको छ। कम्तीमा पनि अब विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले भिराइदिएको ‘निर्वाचन गराउन असक्षम प्रधानमन्त्री’ भन्ने बिल्ला देउवाले भिर्नुपर्ने छैन।

यद्यपि, प्रधानमन्त्री देउवाले विश्वासको मत पाएलगत्तै पूर्वसत्तारुढ दल एमालेभित्र भने फुट र विभाजनको स्पष्ट धाँजो देखापरेको छ। भन्न सकिँदैन– कुन दिन त्यो धाँजोले आ–आफ्नो धरातल समात्ने हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ ‘विद्रोही’ सांसद देउवाको पक्षमा चट्टानजस्तै अडिग भएर उभिएपछि झनै खलबलिन पुगेको एमालेको एकता–प्रयत्न भीरबाट खस्नै लागेको छ। निःसन्देह, यतिबेला एमालेको जीवन धेरै नै सकसपूर्ण देखिँदै छ। हुन पनि, सत्ताच्युत भएपछि पूर्वप्रधानमन्त्री ओलीमा पलाएको आक्रोश, द्वेष र घृणाले शिखर नै छुन पुग्यो र बालुवाटार छाडेर घर फर्किएको अपराह्न बालकोटको बार्दलीबाट विद्वेषको बीजारोपण समेत हुन पुग्यो। स्वभावतः ओलीको आक्रोश र विद्वेषको उपल्लो बिन्दुमा माधवकुमार नेपाल नै रहन्थे र रह्यो पनि। बार्दलीबाट उद्घोष भयो, ‘गद्दारहरूलाई एमालेमा कुनै ठाउँ छैन।’

एउटा कुरा निश्चित मान्न सकिन्छ, नेपालले आफ्नो अडानबाट दायाँ–बायाँ कम्मर नचाएका भए राजनीतिक परिदृश्य यसरी बदलिनेमा शङ्का नै थियो। देउवा नेतृत्वको सरकारले विश्वासको मत आर्जन गर्नै नपाई केही दिनपछि सत्ताबाट बहिर्भूत हुनुपर्ने हो कि भन्ने सन्देह पनि जीवितै थियो। तर, आफ्नो समूहका केही सांसदले खुट्टा कमाए पनि, हिजोका दिनमा आफूलाई छाडेर हिँडेका सांसदले देउवा नेतृत्वको सरकारलाई समर्थन दिने अपेक्षा कमै भए पनि नेपाल देउवा÷प्रचण्डहरूलाई दिएको वाचामा दृढ र पक्का देखिए। चाहे त्यो संसद् जोगाउने अर्थमा होस् वा ओलीप्रतिको साटो–फेराइको अर्थमा होस्।

यिनै राजनीतिक प्रकरण र फेरबदलसँगै यतिबेला पूर्वप्रधानमन्त्री ओली समर्थक युवा विद्यार्थीको आक्रोश र घृणाको केन्द्रबिन्दुमा माधवकुमार नेपाल पर्न पुगेका छन्। सम्पूर्ण राजनीतिक सम्बन्धहरूलाई विच्छेद गरेर नेपाललाई अनेक उपमा भिराई एक घृणित र गद्दार पात्रका रूपमा चित्रित गर्न उद्यत देखिएका छन्। कुनै बेला कम्युनिस्ट पार्टीभित्र तीव्र अन्तर्विरोध चर्किंदा मोहनविक्रम सिंहहरूले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई ‘गद्दार’को संज्ञा मात्रै दिएका थिए। ओलीका ‘सेवक’ले भने नेपाललाई त अझ एक कदमअघि बढेर ‘लालगद्दार’ को उपमाले विभूषित गर्नरुचाए। पछिल्लो समय ओलीका ‘सेवकहरू’मा सीमाहीन आक्रोश तन्किँदै जाँदा माधव नेपालको पुत्ला दहन गर्ने र सडकमा बाँदरको मुखुन्डो लगाएर नेपालको कदमप्रति तिखो कटाक्ष गर्ने कार्य भए। यस्ता दृश्यले एउटा प्रश्न भने निश्चित रूपमा उब्जाएको छ– के माधव नेपालको पुत्ला दहन गर्दा वा बाँदरको रूपमा चित्रित गर्दा ओली पक्षीय नेता–कार्यकर्ता चाहिँ महिमान्वित होलान् ? मूलतः यसलाई आत्मीय सम्बन्ध हुँदा लपक्कै टाँसिएर घाँटी नै जोड्ने र विच्छेद हुँदा एक–अर्काको घाँटी नै छिनाल्न उद्यत हुने नेपालका कम्युनिस्टको प्रवृत्तिको पुनरावृत्तिका रूपमा अथ्र्याउन उचित होला।

घृणाले उत्पन्न गराउने अन्ततः घृणा नै हो। घृणाले स्नेह, सद्भाव र सुविचार उत्पन्न गरेको इतिहास छैन। अतः घृणा र द्वेषद्वारा भरिपूर्ण राजनीति वा अराजक प्रवृत्तिले कस्तो राजनीतिक संस्कार र संस्कृतिको विकास होला ? समाजलाई कुन दिशातिर डो¥याउँला ? निःसन्देह, घृणाको राजनीतिले राजनीतिलाई कलुषित तुल्याउँछ नै, यसले समाजलाई असुरक्षा, विघटन र अशान्तिको दिशातिर घचेट्न उत्तिकै नकारात्मक भूमिका खेल्छ। निश्चय नै, सत्तासीन दल एवं सत्ताको चटनी चाट्ने अवसर पाएका व्यक्ति वा समूहले अचानक वर्चस्व गुमाउनुपर्दा हतास, निराश र कुण्ठित मनोचेतनाद्वारा निर्देशित हुनुलाई स्वाभाविकै मानिन्छ। अहिले ओलीका ‘सेवक’ले सडकमा देखाइरहेका गैरराजनीतिक क्रियाकलाप, असहयोगी एवं विरोधीलाई लक्षित गरेर फैलाइरहेको घृणाभाव र उत्तेजना एवं उनीहरूका भाषामा ‘गद्दार’हरूलाई हरेक प्रकारले तेजोवध गर्न उद्यत प्रवृत्तिको चुरोमा यिनै मनोवृत्ति घुसेका छन् भन्नु अन्यथा नहोला। अपेक्षा गरौँ– यस्ता अशोभनीय परिदृश्य राजनीतिक दृश्यावलीबाट चाँडै विलुप्त हुनेछन्।

बिसाउनीमा थोरै शब्द

सुरुमै लोककथनको सहयोग लिनुको तात्पर्य यति हो कि नयाँ प्रधानमन्त्री देउवाले अब ‘हजाम’हरूका मात्र कुरा नसुनून्। ‘हजाम’का मात्र लहलहैमा लागेर जनताले झेल्नुपरेका सङ्कटप्रति आँखा नचिम्लिऊन्। हामीले देखेका छौँ– सत्तारोहण भएपछि हरेकजसो राजनेताहरू आत्ममुग्धता, अतिप्रशंसा र सत्ता लोलुपताको बुट्टेदार जालोमा फस्न पुग्छन् र राजनीतिक संस्कार, मूल्य र संस्कृतिप्रति आँखा चिम्लेर एकपछि अर्काे राजनीतिक सङ्कट निम्त्याउन तल्लीन देखिन्छन्।

अतः नेपाली राजनीतिका चुस्त खेलाडी देउवाले अबका दिनमा खेलका नियमलाई पालना गरेर दर्शकको प्रशंसा र ताली पाउने काममा अग्रसरता लिन सके भने निश्चय नै लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारहरू गतिशील, सुदृढ र परिपक्व हुनेमा दुईमत देखिँदैन। तर, प्रश्न छ– ओली चिप्लेको ठाउँमा देउवा उभिएर हिँड्लान् ?

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्