नेवार र दलित समुदायलाई कसरी जोड्ने ?
आफ्नो अध्ययन अनुसन्धानलाई आधारमा मानेर निष्पक्ष रूपमा भन्ने हो भने, नेवारको धर्म–संस्कार तान्त्रिक धर्मबाट प्रभावित छ । तन्त्र एउटा पद्धति हो । धार्मिक...आफ्नो अध्ययन अनुसन्धानलाई आधारमा मानेर निष्पक्ष रूपमा भन्ने हो भने, नेवारको धर्म–संस्कार तान्त्रिक धर्मबाट प्रभावित छ । तन्त्र एउटा पद्धति हो । धार्मिक मतहरूमा तन्त्रले प्राथमिकता पाएपछि संस्कार गहन हुन्छ ।
नेवारहरूमा बौद्ध र हिन्दू धर्मावलम्बी दुवै छन् । विभिन्न देउतालाई आफ्नो दृष्टिकोणबाट मान्ने, पुज्ने परम्परा प्राचीनकालदेखि रहिआइरहेको छ ।
हिन्दू धर्मबाट प्रभावित होऊन् वा मौलिक संस्कारले प्रभावित होऊन्– आफ्नै रैथाने संस्कृतिका हिसाबले नेवार समुदाय चलेको छ । नेवारको धर्म–संस्कृतिलाई लिएर विभिन्न जात छन्, तर कर्मका आधारमा सबै सम्मानित वर्गको रूपमा रहिआएका छन् ।
जातीय विभेद धर्म र मौलिक संस्कारबाट आएको होइन । जोसँग आर्थिक अवस्था उच्च छ, जसको सामाजिक हैसियत उच्च छ, उनीहरूले कामका आधारमा विभेद गरेको पाइन्छ । ठूलो–सानो, पानी चल्ने–नचल्ने भन्ने विकृत मनस्थितिबाट आएको हो ।
मानिस जातले होइन, कर्मले ठूलो हुन्छ । नेवारहरूको तन्त्रप्रधान धर्म संस्कृतिमा पनि ऊँचनीच, पानी चल्ने–नचल्ने केही छैन । उदाहरणका लागि, तलेजुलाई लिन सकिन्छ । नेवारको मूल बस्ती भएको स्थानमा तलेजु छ । तलेजुमा सारा जातका मानिसले प्रतिनिधित्व गर्छन् । त्यहाँ ब्राह्मणदेखि कसाईको समेत प्रतिनिधित्व हुन्छ । तलेजु भनेको नेवारको सांस्कृतिक तथा धार्मिक ढुकढुकी हो । तलेजुमा कर्मले महŒव पाएको हुन्छ, जातले कुनै महत्त्व राख्दैन ।
वर्णले वर्गलाई, वर्गले पेसालाई र पेसाले जातलाई संकेत गर्छ । जातले कर्मलाई देखाउँछ । कर्मले चरित्र झल्किन्छ । त्यसैले जुनसुकै जातको भए पनि कर्मले उच्च बनाउँछ । जात ठूलो कुरा होइन, कर्म विशेष कुरा हो । मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) ठूलो जातको होइनन्, निम्न जातका हुन् । सारा संसारले ढोग्छन् । मच्छिन्द्रनाथको नालिबेली हेर्ने हो भने माछा बेचेर जीविका निर्वाह गर्ने माझी जातका हुन् । मच्छिन्द्रनाथले सारा जनताको दुःखलाई कम गर्ने काम गरे । त्यसैले उनलाई उच्च स्थानमा राखिन्छ । उनलाई जातका आधारमा होइन, कामका आधारमा पुजिएको हो ।
मनकामना मन्दिरको शिलालेखको प्रमाणका आधारमा राम शाहका पालामा त्यहाँ मगर जातिका पुजारी थिए । मगर पुजारी पृथ्वीनारायण शाहको पालामा आइपुग्दा कामको आधारमा प्रसिद्ध भएका थिए, त्यसैले पुजारीलाई विशेष पूजा भाग दिन थालेको पाइन्छ । कुमारीलाई बौद्ध धर्मको मात्र नभई हिन्दू र बौद्ध धर्म पण्डित मिलेर पूजा गर्छौं ।
धर्मको नाममा एकता भएको देश नेपाल हो । आजसम्म धर्मका आधारमा एक थोपा पनि रगत बगेको छैन । पुरानो धर्म बौद्ध र हिन्दू हो । अहिले जुन एउटा कामी, नेवार भन्दै विभेद ल्याउन खोजिएको छ, यस्ता कुराले ठूला तहल्का मच्चिनु दुःख लाग्छ । जातले होइन, कर्मले विशेष भइन्छ भन्ने कुरा बुझाउनु अहिलेको सरकारको दायित्व हो ।
नेवार समुदायभित्र जातीय विभेद छन् । राज्यको आँखामा सबै सम्मान छन् । तर, केही व्यक्तिले समाजमा विभेद कायम गरिरहेको देखिन्छ । नेवारको जातीय व्यवस्थामा पानी चल्ने र नचल्ने छन् । जात र धर्म संस्कृतिलाई नबुझी सम्पन्न वर्गमा ल्याइएको विभेद हो । धर्ममा पानी चल्ने वा नचल्ने भनी छुट्ट्याइएको छैन । कामका आधारमा जातीय वर्गीकरण गरिएको मात्र हो । तर, पछिल्लो पुस्ताले विभेदको आधारमा हेर्न थालेको पाइन्छ । नेवार समुदायभित्र जातीय विभेद प्रत्यक्ष गरेको नदेखिए पनि व्यवहारमा छ ।
नेवार समुदायमा छुवाछुत पहिलेदेखि नै थिएन । कसरी छुवाछुतको प्रचलन आयो ? कसले ल्यायो ल्यायो ! पानी चल्ने र नचल्ने जात भनिएको छैन । आफ्नो जात अनुसारको काम गर्नु भनिएको छ । जात अनुसारको पानी चल्ने र नचल्ने भन्ने कुरा सम्पन्न वर्गका व्यक्तिले शक्ति र पैसाले चलाउँदै ल्याएको विकृत हो ।
समुदायमा जातीय समानताबारे चेतना ल्याउन सरकारले पहल गर्नुपर्छ । नेपाल देशका सारा नेपाली हुन् । वर्तमानको आँखा इतिहास हो । त्यसैले पहिला दासप्रथा, सतीप्रथा थियो । उतिबेला सती जानुलाई प्रतिष्ठाका रूपमा पनि लिइन्थ्यो । गलत भन्ने थाहा पाएपछि हटाउन पहल गरियो र हटाइयो । छुवाछुत अन्धविश्वासको कुरा हो । छुवाछुतले एक पक्ष मात्र हित हुन्छ । सारालाई हित हुने काम गर्नुपर्छ । एक पक्षलाई मात्र हित हुने काम गर्नु हुँदैन । त्यसैले छुवाछुतजस्ता समाजलाई असर पार्ने कुरालाई छाड्दै जानुपर्छ ।
धर्म–संस्कृतिका कुरा धेरै संवेदनशील हुन्छन् । त्यसैले हाम्रो धर्म–संस्कृतिका बारेमा बुझ्न आवश्यक छ । पुराना कुरालाई लिएर आपसमा झगडा गर्नुहुन्न । नेवार र दलित भनेर छुट्ट्याइरहन आवश्यक छैन ।
नेवार समुदाय पनि राज्यबाट उत्पीडित भएको देखिन्छ । देशको ढुकढुकी भनेको काठमाडौं उपत्यका हो । प्राचीनकालदेखि हरेक कुराको केन्द्रको रूपमा काठमाडौं रहिआएको छ । यहाँ नेवार सभ्यता छ । बुद्धले मात्र होइन, सगरमाथाले मात्र होइन, सम्पदा र संस्कृतिले पनि चिनिएको देश हो हाम्रो । तर, यहाँका सम्पदा र संस्कृति लोप हुन थालेका छन् । सम्पदालाई विकासको नाममा लोप हुन दिएकाले नेवार सभ्यता अहिलेको समयमा अन्तिम श्वास फेरिरहेको अवस्थामा छ । नेवार सभ्यतालाई सबै नेपाली, राज्यले संरक्षण दिनु आवश्यक छ ।
अहिले रुपा सुनार र घरबेटी प्रधानका विषयलाई लिएर विभिन्न मतभेद देखिन्छन् । मेरो विचारमा यसलाई टुंग्याइदिनुपर्छ । लामो समय छलफल गरे तहल्का मच्चाउनुभन्दा अनुसन्धान गरी टुंग्याउनु आवश्यक छ । कुनै पनि जातलाई हेप्ने हिसाबले बोल्नु र व्यवहार गर्नु हुँदैन । नकारात्मक विचार र व्यवहारलाई त्यागिदिउँ । स्वतः त्यहाँ जातको कुरा आउँदैन, त्यहाँ माया प्रेम बस्छ ।
नेवार तथा अन्य जातिमा पनि उपजात छन् । कामीले बनाएको जल चढाउने भाँडो पवित्र हुन्छ भने त्यो बनाउने मान्छे कसरी बिटुलो हुन्छ । नेवारमा नकर्मी छन् । नकर्मीको कलाले वास्तुकला माथि उठेको छ । जातीय आधारमा विभेद गर्नु हुँदैन । एकता भाँडिन्छ । जातीय विभेदको विकृतिलाई हटाउन नेपालभित्रका नेपाली सारा एक हौँ भन्ने भावना आउनु जरुरी देखिन्छ ।
(इतिहासविद् डा. श्रेष्ठसँग सरिशा अछामीले गरेको वार्तामा आधारित ।)