प्रधानमन्त्रीलाई खुला पत्र– गणतन्त्र र संघीयता जोगिन्छन् त?
त्यो केपी ओली र त्यो वेलाको वाहवाही त आज जोगाउन सक्नुभएन तर आज मजस्तै धेरैलाई चिन्ता लागिसकेको छ– तपाईंंले जोगाउन बाँकी हाम्रो देश जोगाउनु हुन्छ कि हुन्न?प्रधानमन्त्रीज्यू, अब तपाईंं केही समयका लागि भए पनि ढुक्क हुनु भयो होला। किनकि, भरखरै मन्त्रिपरिषद् पुनः विस्तार गर्नुभएको छ। हुन त, मन्त्रिपरिषद् विस्तारको मुख्य जिम्मेवारी तपाईंंको नै हो। तर, प्रधानमन्त्रीको कुर्सी कतिबेला जान्छ कुनै ठेगान नभएको बेला तपाईंंले गर्नुभएको मन्त्रिपरिषद् विस्तारले तपाईं र नयाँ मन्त्रीहरूलाई आत्मसन्तुष्टीबाहेक के नै दिन सक्ला र ? जे होस् मन्त्रिपरिषद् विस्तारले तपाईंको कुर्सी केही समयका लागि भए पनि बलियो भयो होला।
तर, नेपालीमा एउटा उखान छ– ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’। मलाई यो उखानलाई प्रश्नमा परिवर्तन गरेर प्रधानमन्त्रीज्यू तपाईंलाई सोध्न मन छ।
प्रधानमन्त्रीज्यू, तपाईंको काम कारवाही त्यस्तै भएन र ? तपाईंका पछिल्ला राजनीतिक क्रियाकलाप हेर्दा हामीकहाँ अहिले कुनै पनि समस्या छैन, समस्या छ त केवल तपाईंलाई मात्र छजस्तो देखिन्छ। यतिखेर खासगरी दुईवटा विषय गुम्ने चिन्ता छ, जुन एक सरकारसँग त अर्को जनतासँग सम्बन्धित। पहिलो चिन्ता सबैलाई थाहा छ, आम नागरिकको जीवन सामान्य स्वास्थ्य उपचार नपाएर गुम्ला कि भन्ने र दोस्रो तपाईंको कुर्सी गुम्ला कि भन्ने।
तपाईंलाई कति पीडा होला– एकातिर विपक्षी दलका सांसदहरूले पेलेका छन् भने अर्कोतिर आफ्नै पार्टीका सहकर्मीहरूबाट पेलिनुपरेको छ। तर, तपाईंको पीडाका सामू अस्पतालमा जीवन छटपटाइरहेका संक्रमितहरू र अस्पतालको गेटसम्म पुगेर बेड नपाई होम आइसोलेसनमा फर्किएर मृत्यु स्पर्श गरिरहेका संक्रमितहरूको पीडा केही होइन।
तपाईंले मन्त्रिपरिषद् बारम्बार विस्तार गरिरहँदा म अज्ञानीलाई लाग्यो– अस्पतालको क्षमता विस्तार गरिदिएको भए हुने। तपाईंले मन्त्रीहरू थप्दै गर्दा लाग्यो– अस्पतालमा डाक्टरहरू थपिए दिएको भए हुने, मन्त्रीहरूका लागि नयाँ–नयाँ चिल्ला गाडीहरू थप्दै गर्दा अस्पतालमा एम्बुलेन्स थपिदिएको भए हुने, यो चाहीं अलि बढी नै सोचेँ कि प्रधानमन्त्रीज्यू ? मलाई यो पनि लाग्यो, तपाईंले नयाँ मन्त्रीहरूलाई सपथको व्यवस्था गर्दैगर्दा निषेधाज्ञालाई मौन समर्थन गरिरहेका नागरिकलाई कोरोना खोपको व्यवस्था गरिदिएको भए हुने।
तपाईंं पहिलोपटक प्रधानमन्त्री भएर कुर्सीबाट विदा हुँदै गर्दा हजारौँ युवाको भीड सडकमा निस्किएको थियो। त्यो समयमा तपाईंंले देखाएको राष्ट्रवाद साँच्चै ‘वाह !’ भन्न लायक थियो। एउटा छिमेकीले गरिरहेको हेपाहा प्रवृत्तिका सामू तपाईंं उभिँदा राष्ट्रको शीर उभिएको जस्तो लाग्थ्यो। त्यही राष्ट्रवादको खोल ओढेर दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीसम्म पुगेको कुरा त तपाईंंले पनि पक्कै बिर्सनुभएको छैन। त्यो केपी ओली र त्यो वेलाको वाहवाही त आज जोगाउन सक्नुभएन तर आज मजस्तै धेरैलाई चिन्ता लागिसकेको छ– तपाईंंले जोगाउन बाँकी हाम्रो देश जोगाउनु हुन्छ कि हुन्न ? लामो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्र, संविधान र संघीयता जोगाउन सक्नु हुन्छ कि सक्नु हुन्न। संविधानलाई संस्थागत गर्ने बहानामा राज्यले ठूलो राशि खर्चिएको छ। गणतन्त्र र संघीयताको अभ्यासमा हामीले धेरै चुकाइसकेका छौँ। आज ठूलो प्रश्न हाम्रा सामू उभिएको छ– त्यो जोगिन्छ कि जोगिँदैन ?
एकपछि अर्को राजनीतिक परिघटनाहरूको सामना तपाईंंले गर्नुप¥यो। तपाईंंको दोस्रो कार्यकाल सोचेजस्तो सहज भएन। तर, तपाईंंले झ्याल, ढोका सबैमा भोटेताल्चा लगाएर ‘मार्गप्रशस्त’को भाषण गरिदिनुभयो। जनताले सडक र सामाजिक सञ्जालबाट कोरोनाको खोप, अक्सिजन, स्वास्थ्य सुरक्षा मागिरहँदा तपाईंंले कोरोना नियन्त्रणमा आइसकेको जवाफ फर्काउनुभयो।
अहिलेको परिस्थिति कसैको वशमा छैन, यसको दोष सर्वसाधारणहरूलाई दिइरहनुभएको छ। मान्न सकिन्छ, सरकार एक्लैले यो महामारी नियन्त्रण गर्न सक्दैन। यो महामारी हो, जसको कुनै आकार, प्रकार छैन। तर, हठात् मध्यरातमा संसद् विघटनको अभ्यास गर्नुभन्दा र भागबण्डा पु¥याउनकै लागि मन्त्री र राज्यमन्त्रीहरूको जोडघटाउ गर्नुभन्दा कोरोना खोपका लागि र अस्पतालको क्षमता बढाउने अभ्यास गर्नुभएको भए पक्कै आज नागरिकले यो हालत बेहोर्नुपर्ने थिएन।