तत्काल शैक्षिक संस्था बन्द नगरे विद्यालयहरू कोरोनाको ‘हट स्पट’
हरेक घरका बालबालिका विद्यालय पुग्छन्। एक विद्यार्थीको घरमा मात्र कोरोनाको लक्षणविहीन बिरामी छन् भने पनि त्यो बच्चाले विद्यालयमा आएका अन्य विद्यार्थीलाई सार्न सक्ने सम्भावना रहन्छ। कोरोना संक्रमण अन्य विद्यार्थीलाई सरेको खण्डमा उनीहरूले फेरि आ-आफ्ना घरमा कोरोना लैजान्छन्। यो जंगलमा डढेलो लागेजस्तै हो।भाइरसको नयाँ भेरियन्टले जहिले पनि पुरानोलाई विस्थापन गर्छ। पुरानोको तुलनामा नयाँ भेरियन्ट बढी संक्रामक हुन्छ। कोरोना महामारी सुरु भएदेखि नै यसले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्छ भन्ने प्रमाणित भएको छ। त्यसैले अहिले आएको कोरोनाको भेरियन्टले विशेषतः १८ वर्षमुनि उमेर समूहका लागि बढी जोखिम हुने देखिएको छ।
सोही कारण केही समयका लागि विद्यालय र कलेजहरू बन्द गर्नु आवश्यक छ। यसो गर्न सकेमा केही हदसम्म कोरोना प्रसार व्यापक नहुने र नियन्त्रणका लागि प्रभावकारी हुने मेरो तर्क हो।
यसै पनि युवा तथा ज्येष्ठ नागरिकको तुलनामा बालबालिकाहरूमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भइसकेको हुँदैन। कतिपय बालबालिकाले यस प्रकारका अन्य भाइरसको पनि सामना गरेका हुँदैनन्। जस्तै- कतिपय बालबालिकामा सामान्य रुघाखोकीका लागि पनि एन्टिबडी विकास भइसकेको हुँदैन। सम्भवतः यस प्रकारका भाइरससँग सामना गरेकै प्रथमपटक हुनसक्छ। त्यसैले हो, युवा तथा ज्येष्ठ नागरिकको तुलनामा बालबालिकामा कोरोनाको बढी प्रभाव पर्न सक्ने सम्भावना हुने पनि।
बालबालिकाले विद्यालयमा धेरैभन्दा धेरै समय बिताउँछन्। उनीहरू बिहान १० देखि अपराह्न चार बजेसम्म एउटै कोठामा बस्छन्। त्यो समयमा उनीहरूले भौतिक दूरी कसरी अपनाउने? यो सम्भव नै छैन। उनीहरूलाई मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम गर्नेलगायत जनस्वास्थ्यका सामान्य मापदण्ड पालना गराउन निकै गाह्रो हुन्छ।
हरेक घरका बालबालिका विद्यालय पुग्छन्। एक विद्यार्थीको घरमा मात्र कोरोनाको लक्षणविहीन बिरामी छन् भने पनि त्यो बच्चाले विद्यालयमा आएका अन्य विद्यार्थीलाई सार्न सक्ने सम्भावना रहन्छ। कोरोना संक्रमण अन्य विद्यार्थीलाई सरेको खण्डमा उनीहरूले फेरि आ-आफ्ना घरमा कोरोना लैजान्छन्।
यो जंगलमा डढेलो लागेजस्तै हो। एक ठाउँमा सल्केको झिल्कोले तीव्र रूपमा जंगलभरि आगो फैलाउँछ। त्यसरी नै विद्यार्थीहरूले कोरोना संक्रमण छिटो र धेरै फैलाउने सम्भावना बढी रहन्छ। सोहीकारण दुईदेखि तीन साता विद्यालय बन्द गर्ने हो भने पनि कोरोना प्रसार नियन्त्रणका लागि धेरै प्रभावकारी हुन्छ।
तर, अहिले निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन)ले विद्यालय बन्द नगर्नेतर्फ बढी जोड दिएको देखिन्छ। आर्थिक संकट, विद्यालयले बेहोर्नुपर्ने घाटालगायत समस्याका कारण प्याब्सनले विद्यालय खोल्नुपर्छ भनेको हुनसक्छ। तर, यो सबै क्षेत्रका लागि उत्पन्न संकट हो। यो नाफा-घाटा गणना गर्ने समय होइन।
सरकारी र निजी संघसंस्थाका साथै सर्वसाधारणले पनि आफ्नो क्षेत्रबाट दायित्व बहन गर्दा मात्र यसलाई नियन्त्रणमा राख्न सकिन्छ। त्यसो नगर्ने हो भने आगामी दिनमा अझ बढी समस्या आउनसक्छ। यस्तै, कुनै पनि तहका शिक्षकले कोरोनाविरुद्धको खोप पाएका छैनन्। त्यसकारण पनि विद्यार्थी र शिक्षक दुवै असुरक्षित छन्।
जानकारी प्राप्त भएअनुसार विगतको तुलनामा स्वास्थ्य समस्याका कारण अस्पताल आउने बालबालिकाको संख्या बढेको छ। ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पताल आउने बिरामी बढी छन्। यसको अर्थ कोरोनाको दोस्रो लहर सुरु भएको मान्न सकिन्छ। अहिले कम छन्, बढी बिरामी देखिएपछि मात्र विद्यालय बन्द गरौँला भन्यौँ भने नियन्त्रणमा धेरै समस्या आउन सक्छ।
त्यस्तो अवस्था आउन नदिन विद्यालयले अभिभावक र सम्बन्धित निकायसँग ‘यति दिन विद्यालय बन्द गर्ने र त्यस समयमा अनलाइन कक्षा चलाउने’ भनेर छलफल चलाउन जरुरी छ। अहिले बिदा दिएर बाँकी पाठलाई पछि बिदा काटेर ‘कभर’ गर्न सकिन्छ।
यसको मतलब अनलाइन कक्षा मात्र राम्रो भनिएको पनि होइन। तर, यसले बालबालिकालाई ‘इंगेज’ गराउँछ। त्यसैले केही समय विद्यालय बन्द गरी अनलाइन कक्षा चलाउँदा विद्यालय र विद्यार्थी दुवैलाई ठूलो घाटा हुँदैन। सधैँभरि विद्यालय बन्द राख्नुपर्छ भनिएको होइन। तर, केही समय बन्द गर्दा सबैको स्वास्थ्यका लागि राम्रो हुन्छ भने किन नगर्ने?
छिमेकी भारतमा दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन्। भारतमा पनि कतिपय विद्यालयमा प्रत्यक्ष पठनपाठन बन्द भएको छ। त्यहाँ संक्रमित बढ्नु भनेको हामीकहाँ पनि बढ्नु हो। नेपालमा पनि संक्रमित बढ्ने सम्भावना अत्यधिक छ।
(जनस्वास्थ्यविद् डा. भट्टसँग कुराकानीमा आधारित)