अदालतको निर्णय मान्नुपर्छ भन्दा देउवा कसरी असंवैधानिक भए ?
संसद् विघटन गरेर ओलीले संविधान भत्काउने प्रयास गरेका छन् । अब हामीले पनि सर्वोच्चलाई प्रभावमा पारेर ‘यो फैसला गर’ भनेर थप संविधानलाई प्रहार गर्नुहुन्न भन्ने देउवाको मान्यताले ओलीलाई कसरी सहयोग गर्ने भयो ?प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको विषयमा कांग्रेसभित्र कुनै खालको द्विविधा छैन । ओलीले गत पुस ५ गते संसद् विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको केही घण्टामै कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत उक्त कदमलाई असंवैधानिक भनेका छन् । त्यसयता बसेको केन्द्रीय समिति बैठकदेखि उक्त कदमका विरुद्ध भएका आन्दोलनलगायत सबै फोरममा देउवाले संसद् विघटन गर्ने काम असंवैधानिक भएको बताउँदै आएका छन् ।
तर पछिल्ला केही हप्तादेखि कांग्रेसकै केही नेता र मिडियामा एकपक्षीय रूपमा ‘देउवाले ओलीको संसद् विघटनमा साथ दिए’ भनेर गलत समाचार र विचार आउन थालेका छन् ।
- उक्त कदम असंवैधानिक हो र यसविरुद्ध आन्दोलन गरौं भनेर केन्द्रीय समितिमा प्रस्ताव राख्ने सभापति देउवा नै हुन् ।
कांग्रेसले संसद् विघटन गर्ने ओलीको कदम पार्टीको केन्द्रीय समिति बैठकबाटै असंवैधानिक भनेर निर्णय गरेको छ । त्यसविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । उक्त कदम असंवैधानिक हो र यसविरुद्ध आन्दोलन गरौं भनेर केन्द्रीय समितिमा प्रस्ताव राख्ने सभापति देउवा नै हुन् । झन्डै ६ दशकदेखि राजनीति गर्दै आएका देउवालाई संसदभित्र अर्को सरकार बन्ने सम्भावना हुँदा हुँदै ओलीले आफ्नो व्यक्तिगत स्वार्थमा संसद् विघटन गरेर असंवैधानिक कमद चालेको भन्नेमा कुनै अस्पष्टता छैन । यस विषयमा देउवाले सार्वजनिक फोरममा बोलेको भाषण र केन्द्रीय समितिमा राखेका धारणामा कसैलाई शंका लागे ‘फ्याक्ट चेक’ गरे हुन्छ ।
तर देउवाले संसद् विघटनको संवैधानिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरेको र अहिलेको अवस्थामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कुनै पनि लोकतान्त्रिक व्यक्ति र दलले प्रभाव पार्ने गरी धारणा बनाउनुहुँदैन भन्ने मान्यता राखेका छन् । उनले सार्वजनिक फोरममा भन्ने गरेका छन्, ‘हामी लोकतन्त्रमा विश्वास गर्नेहरुले लोकतान्त्रिक चरित्र देखाउनुपर्छ, अदालतमा विचाराधीन विषयमा आफंै फैसला दिनुहुँदैन ।’
- सभापति देउवाले यही लोकतान्त्रिक पद्धतिमा खलल नहोस् भन्ने मान्यता राख्दै संसद् विघटनको विषय अदालतमा पुगिसकेकाले अदालतलाई स्वतन्त्र भएर निसाफ गर्न दिऔँ भनेका हुन् । देउवाले अदालतलाई स्वतन्त्र बनाऔँ भन्दा कहाँनिर ओलीलाई सहयोग गरेको भयो ?
संसद् विघटन गरेर ओलीले संविधान भत्काउने प्रयास गरेका छन् । अब हामीले पनि सर्वोच्चलाई प्रभावमा पारेर थप संविधानलाई प्रहार गर्नुहुन्न भन्ने देउवाको मान्यता हो । संविधान मान्ने हो भने सर्वोच्चमा विचाराधीन विषयमा ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ’ भनेर धारणा बनाउनु वा अदालतलाई प्रभाव पार्न खोज्नु पनि असंवैधानिक काम नै हो । देउवाले केन्द्रीय समितिमा पनि यही विचार राखेका हुन् । ‘संसद् विघटन असंवैधानिक काम हो तर अदालतमा विचाराधीन भएकाले अब अदालतलाई स्वतन्त्र रूपमा संविधानको व्याख्या गरेर फैसला गर्न हामीले प्रभाव पार्नुहुँदैन,’ देउवाले भनेका छन् ।
अदालतलाई स्वतन्त्र फैसला गर्न दिनुपर्छ भन्ने देउवाको धारणा मिडिया र केही कांग्रेसकै नेताले भने जस्तो कसरी ओलीसँग मिल्ने भयो ? संसद् विघटन नेपालमा नयाँ घटना होइन । न विश्वमै नयाँ घटना हो । नेपालमा यसअघि पनि चार चारपटक संसद् विघटन भएका छन् तर तीमध्ये तीनपटक तत्कालीन प्रधानमन्त्रीले विघटन गरेका संसद् अदालतबाट अनुमोदन पनि भएका छन् । अहिलेको संविधानमा त्यतिबेलाका संसद् विघटनका केही कमीकमजोरीलाई नियन्त्रण गर्ने कोसिस गरिएको जस्तो देखिन्छ ।
तर यसमा राजनीतिक दलले अदालतलाई प्रभावित हुने गरी आफ्नो निर्णय गर्न मिल्दैन । नेपाली कांग्रेस सबैभन्दा पुरानो र एउटा मात्रै सच्चा लोकतन्त्रवादी दल हो । कुनै निर्वाचनमा हारजित हुनुले मात्रै राजनीतिक दल सानो वा ठूलो हुँदैन । दलको विचारले विगतमा राजनीतिक परिवर्तन र सामाजिक परिवर्तनमा खेलेको भूमिकाले दलको आकार मापन हुन्छ । त्यसलै संसदमा अंक गणितीय रूपमा सानो भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको मुलुकको सबैभन्दा ठूलो दल कांग्रेस नै हो । कांग्रेससँग जनताले आवेशको निर्णय होइन, परिपक्व र दीर्घकालीन महत्त्वको निर्णय गरोस् भनेर अपेक्षा गरेका हुन्छन् । अहिले कांग्रेसले अदालतलाई प्रभाव पार्ने गरी धारणा बनाउने हो भने भोलि अर्को विषयमा पनि अर्को दलले अदालतले ‘यो गर्नुपर्छ’ भनेर दबाब दिन सक्छ ।
- अहिले कांग्रेसले अदालतलाई प्रभाव पार्ने गरी धारणा बनाउने हो भने भोलि अर्को विषयमा पनि अर्को दलले अदालतले ‘यो गर्नुपर्छ’ भनेर दबाब दिन सक्छ ।
तसर्थ अदालतलाई प्रभावमा पारेर हामीले संसद् पुनस्र्थापना गर्दा तत्कालका लागि ओलीको असंवैधानिक कदम त सच्चिएला तर अर्को असंवैधानिक कदम हामीले सुरु गरेका हुन्छौं, अदालतलाई प्रभावमा पारेर । लोकतन्त्रको मूल मर्म भनेको शक्ति पृथकीकरण हो । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बीचको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार लोकतान्त्रिक प्रणाली जीवित हुन्छ । अहिले कार्यपालिकाले गल्ती गरेको छ भने त्यो गल्ती हो कि होइन भनेर परीक्षण गर्ने निकाय न्यायपालिका हो । तर यसरी परीक्षण गर्दा राजनीति दल वा व्यक्तिले न्यायपालिका (अदालत)लाई प्रभावित पार्नुहुँदैन ।
अहिले दलका नेताहरुको विचार हेर्दा अदालतलाई प्रभाव पार्ने मात्रै होइन, फैसला यो गर्नुपर्छ भनेर चुनौती नै दिएको देखिएको छ । यसरी चुनौती दिएर आफ्नो पक्षमा अदालतबाट फैसला गराउने हो भने विधिको शासन हुँदैन र ‘जसको शक्ति उसैको भक्ति’ भने झैँ कानुन गरिब र शक्तिहीनलाई लाग्ने, पुहँचवाला कानुनभन्दा माथि हुने अवस्था हुन्छ । जसले विगत सात दशकदेखि संघर्ष गरेर ल्याएको लोकतन्त्रमाथि नै प्रहार गर्छ । हो, कांग्रेस सभापति देउवाले यही लोकतान्त्रिक पद्धतिमा खलल नहोस् भन्ने मान्यता राख्दै संसद् विघटनको विषय अदालतमा पुगिसकेकाले अदालतलाई स्वतन्त्र भएर निसाफ गर्न दिऔँ भनेका हुन् । देउवाले अदालतलाई स्वतन्त्र बनाऔँ भन्दा कहाँ निर ओलीलाई सहयोग गरेको भयो ?
- संसद् विघटन गरेर ओलीले संविधान भत्काउने प्रयास गरेका छन् । अब हामीले पनि सर्वोच्चलाई प्रभावमा पारेर थप संविधानलाई प्रहार गर्नुहुन्न भन्ने देउवाको मान्यता हो ।
सम्भवतः अहिलेका समकालीन राजनीतिज्ञमा सबैभन्दा लामो समय राजनीतिमा होमिएका एक्ला नेता हुन् देउवा । कसैको प्रभाव वा दबाबमा उनलाई अहिले अदालतलाई प्रभाव पारेर पक्ष वा विपक्षमा निर्णय गराउनु छैन । उनलाई लोकतन्त्रको थिति बसाल्नु छ । आवेग वा कसैको उक्साहटमा उनीमाथि भएका मिडिया आक्रमणलाई उनले लोकतन्त्रको अभ्यासका रूपमा हेरेका छन् ।
भोलि अदालतले संसद् विघटन सदर गरेर चुनावमा जाऊ भन्यो भने त्यसलाई मान्नुपर्छ भन्ने धारणा हरेक लोकतन्त्रवादीको हो र देउवाको पनि छ । अदालतको आदेश आफ्नो पक्ष वा विपक्षमा आएमा त्यसविरुद्ध प्रतिवाद गर्ने सर्वसत्तावादी चरित्र देउवाको छैन । उनले हरेक फोरममा भन्दै आएका छन्, ‘अदालतले चुनाव जाऊ भन्यो भने हामी चुनावमा जान तयार हुनुपर्छ किनकि नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी हो ।’
तर संविधानमा कहीँकतै खोट वा कमजोरी छ भने त्यो सच्चाउने अधिकार पनि राजनीतिक दलहरुको हो । त्यस्तो कतै लाग्छ भने बृहत् छलफल गरेर बरु चुनावपछि ती कमजोरी सच्चाउन हरेक लोकतन्त्रवादी तयार हुनुपर्छ । संविधान धर्मशास्त्र होइन, परिवर्तन गर्न नसकिने । यो त राजनीतिक दस्तावेज हो, अभ्यास गर्दै जाँदा देखिएका कमी कमजोरी सच्चाउँदै जान सकिन्छ ।
तसर्थ विधि विधान मान्नुपर्छ भन्दा त्यस्ता व्यक्तिमाथि नियोजित प्रहार हुन्छ भने त्यसबाट मिडिया, राजनीतिक दल र हरेक नागरिक सचेत हुनुपर्छ ।
(ढुंगाना नेविसंघका अध्यक्ष हुन् ।)