कोरोनाविरुद्धको भ्याक्सिन आयात गर्न स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं, पुस ३ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए।
'भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन। हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने,'भ्याक्सिन ल्याउन भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कूटनीतिक संवाद जारी राखेका छौं।'
उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाइलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए।











-1791359764.jpg)