फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई कोरोना पोजेटिभ
पेरिस, पुस ३ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको छ। बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेको उनको कार्यालयले जारी गरेको...
पेरिस, पुस ३ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको छ। बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनको बिहीबार पीसीआर परीक्षण रिपोट पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ। उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ।
उनी आगामी मंगलबार र बुधबार लेबनान जाँदै थिए। कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ। यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ।
राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको थियो। तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ।
यसैबीच राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ। फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ।
यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ।
फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो।












