संवैधानिक परिषद् अध्यादेशविरुद्ध आज सर्वाेच्चमा सुनुवाइ
काठमाडौं, पुस ३ : सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ३० गते...
काठमाडौं, पुस ३ : सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ३० गते संवैधनिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। त्यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले पुस १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अध्यादेश विरुद्धको यस रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतले आज जारि गरेको दैनिक पेशी सूचिमा यो मुद्दालाई संवैधानिक इजलासको ३ नम्बरमा राखिएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा यस रिटमाथि सुनुवाइ तोकिएको छ।
यस रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद्का सदस्यहरुलाई विपक्षी बनाइएको छ।
रिटमा अध्यादेश बदर घोषित गर्न, अध्यादेशका आधारमा हुने संवैधानिक परिषद्का बैठकमा सहभागी नहुने तथा नियुक्तिसम्बन्धी अन्य कुनै निर्णय नगर्न आदेश जारी गर्न माग गरिएको छ।
सरकारले ल्याएको यस अध्यादेशमा संवैधानिक परिषद्का बहुमत सदस्यको बैठक बस्न सक्ने व्यवस्था गरिएको छ। यस अघि बैठक बस्न ६ सदस्य रहेको संवैधानिक परिषद्का पाँच सदस्य उपस्थित हुनुपर्ने व्यवस्था थियो।
त्यस्तै, अध्यादेशमा सरकारले बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि सर्वसम्मत रुपमा निर्णय गर्नुपर्ने व्यवस्था रहेको थियो।











-1791359764.jpg)