Kathmandu Press

‘वीपीनोमिक्स’ले डोर्‍याएको नेपालको आर्थिक-सामाजिक विकास

राजनीतिक नेतृत्व र बुद्धिजीवीले ‘वीपीनोमिक्स’ को रूपमा आर्थिक मोडल विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्नु पर्दछ। तर, यसका लागि सर्वप्रथम युवा जाग्नु पर्दछ। यत्ति भए हामीले राष्ट्रियता, लोकतन्त्र र समाजवाद वा लोक कल्याणकारी राज्य निर्माणमा केही योगदान पुर्‍याएको ठहर्छ।
‘वीपीनोमिक्स’ले डोर्‍याएको नेपालको आर्थिक-सामाजिक विकास

हामी अहिले वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाइरहेका छौँ। कोरोनाका कारण सभाहलमा कार्यक्रम हुन नसके पनि भर्चुअल फोरममा विभिन्न संघ-संस्थाले वीपीको विचारका विभिन्न पक्षमा छलफल गराएका छन्। 

वीपीको व्यक्तित्व र व्यवहारका साथै राजनीतिक, सामाजिक र आर्थिक दर्शन, विचार र अभिव्यक्तिबारे विभिन्न कोणबाट समीक्षा, चर्चा परिचर्चा भइरहेका छन्। मानिसहरुले वीपीलाई सम्मान गर्दैै जननायक, महामानव जस्ता नामले सम्बोधन गरिएको पाइन्छ। कोही उहाँलाई देवत्वकरण नगरौँ भन्ने पनि राय राख्छन्। हालै आयोजित एउटा भर्चुअल कार्यक्रममा त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपीलाई ‘सानो देशका ठूला नेता’  भनेर सम्झना गर्दै सम्मान व्यक्त गर्नुभयो। 

वीपीको प्रजातान्त्रिक समाजवादी राजनीति र राज्यव्यवस्था सम्बन्धी सोच र सिद्धान्त अहिलेको सन्दर्भमा पनि लोकप्रिय हुँदै गएका छन्। साथै यसतर्फ बौद्धिक र राजनीतिक जमातको आकर्षण बढ्दै गइरहेको छ। वीपीका अनुयायी अधिकांश कांग्रेसीमा र राजनीतिक चेत भएको ठूलो समूहमा भने कांग्रेसले वीपीको प्रजातान्त्रिक समाजवादको नीति र सिद्धान्त छोडेर कम्युनिष्टको एजेन्डामा पछि लाग्यो भन्ने धारणा पनि आउने गरेको छ।

Hardik ivf

सन् १९५० देखि ७० को दशकको आर्थिक सामाजिक परिस्थिति र परिवेशमा वीपीले परिकल्पना गरेको सामाजिक–आर्थिक विकासका  सोचलाई अहिले समय सापेक्ष परिमार्जन गर्नु पर्ने मात्रै होइन, अहिलेको बजारमुखी गोल्वलाइज्ड आर्थिक व्यवस्थामा समाजवादी आर्थिक नीति आउटडेटेड भइसकेको भन्ने राय राख्ने पनि धेरै पाइन्छन्।

त्यसैले वीपीका समाजवादी प्रजातान्त्रिक सिद्धान्त र सोचहरु नेपाली राज्य व्यवस्थाबाट प्रतिस्थापित हुँदै गएका छन् कि? झन् स्थापित भएका छन् ? समय सापेक्ष छन् वा छैनन् ? पुनःपरिभाषित गर्नु पर्ला कि नपर्ला? या पूरै त्याग नै गर्नु पर्ला ? आदि विषयमा व्यापक बौद्धिक बहस जरूरी छ।

कुनै पनि देशको राज्य व्यवस्था र सञ्चालनका संरचना, नीति नियम, प्रक्रिया र गतिविधिलाई त्यस देशको संविधानले मार्गनिर्देशन गरेको हुन्छ। नेपालको संविधान २०७२ ले प्रजातान्त्रिक र लोकतान्त्रिक समाजवादको सिद्धान्त र भावनालाई पूर्णरुपमा आत्मसाथ गरेको पाइन्छ। संविधानको प्रस्तावना, मौलिक हक, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व आदि खण्डमा सामाजिक लोकतन्त्र र लोक कल्याणकारी राज्यको परिकल्पना र प्रक्रिया प्रष्टसँग उल्लेख गरेको छ। 

उदाहरणका लागि हालको संविधानको प्रस्तावना नै ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध’ भनेर उल्लेख छ। त्यस्तै, भाग ९१ मा नेपाल राज्य ‘समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख’ भनेर परिकल्पना गरिएको छ। त्यस्तै, संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भागमा समाजवाद उन्मुख स्वतन्त्र, समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने प्रष्ट उल्लेख छ। त्यस्तै अर्थ उद्योग र वाणिज्य सम्बन्धी नीतिमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने जस्ता तीन खम्बे नीतिको परिकल्पना गरिएको छ।  

विकाससम्बन्धी नीति अन्तर्गत विकासलाई क्षेत्रीय सन्तुलित, समावेशी, विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिने, सन्तुलित र वातावरणमैत्री, दिगो सामाजिक आर्थिक विकास गर्न नीति लिने, प्राकृतिक स्रोतबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्न स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिने त्यस्ता महत्वपूर्ण समाजवादी सिद्धान्त नेपालको संविधान २०७२ मा समावेश गरिएको छ । 

यसबाट वीपीले निरन्तर उठाएको विषय, ‘राष्ट्र भनेको भूगोल मात्र होइन, त्यहाँ बस्ने बासिन्दा पनि हुन्’ भन्ने भावनालाई संविधानले राम्रोसँग सम्बोधन गरेको देखिन्छ। विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिँदै आम नागरिकलाई न्यायोचित रुपमा पाउने सुनिश्चित गर्ने, विकासको काम गर्दा पर्यावरणीय सन्तुलन र दिगो विकासका सिद्धान्त अवलम्बन गर्ने, किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार लागू गर्ने, राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनु पर्ने जस्ता समाजवादी नीति संविधानमै उल्लेख गरिएको छ।  

यसबाट के प्रष्ट हुन्छ भने नेपाली कांग्रेस कम्युनिष्टलाई वीपीको लोकतान्त्रिक समाजवादको सिद्धान्त र भावना स्वीकार गराउन सफल भएको छ। न कि कम्युनिष्टको एजेण्डा या सिद्धान्तमा फसेको छ। कम्युनिष्ट पार्टीले चाहेको भए त संविधानमा ‘साम्यवादप्रति प्रतिबद्ध, साम्यवाद उन्मुख’ आदि जस्ता वाक्य लेखिन्थ्यो होला।  राज्य नियन्त्रित आर्थिक नीतिको प्रावधान राखिन्थ्यो होला। किनकि त्यो नै उनीहरुको अन्तिम राजनीतिक र आर्थिक लक्ष्य हो। वीपीले पटक–पटक भन्नु भएकै छ, लोकतन्त्रबिनाको समाजवाद नै साम्यवाद हो।

त्यस्तै, प्रजातन्त्रबिना राष्ट्रिय एकता रहन्न, आर्थिक विकासबिना प्रजातन्त्र सुदृढ हुँदैन, खुला आर्थिक गतिविधि र विकासको न्यायोचित वितरण नभए आर्थिक विकास दिगो रहन्न भन्नेमा वीपीको गहिरो विश्वास थियो। त्यसैले वास्तवमा नेपालको संविधान २०७२ वीपीको विचारको साररुप हो। र, यसबाट वीपीको विचार र सिद्धान्त संस्थापित भएको छ। नेपालको संविधान २०७२ मुलुकले अंगिकार गरिसकेको अवस्थामा वीपी कोइरालाका राजनीतिक सिद्धान्त र दर्शन अब एउटा राजनीतिक दलको मात्रै नभएर राष्ट्रको दर्शन भइसकेको छ। नेपालको राज्य व्यवस्थाको मुल आधार बन्न पुगेको छ।

अब थोरै वीपीको आर्थिक विकास नीति कत्तिको कल्पनाशील र दूरदर्शी थियो भन्ने चर्चा गरौँ। वीपीको छोटो समयको सरकारको नीति, कार्यक्रम र बजेट तथा वीपीले विभिन्न समय र अवसरमा दिएको अभिव्यक्तिलाई केलाउँदा आर्थिक विकासका नीति निर्माणमा ७ वटा पक्षलाई ठूलो महत्व दिएको देखिन्छ।

१. विकास भनेको जनता केन्द्रित हुनुपर्छ।

२. विकासले दूरदराजका क्षेत्र र समाजका निम्न वर्गको आवश्यकतालाई समेट्नु पर्दछ।

३. विकास आफ्नो देशको वास्तविक आवश्यकता र देशमा उपलब्ध स्रोतमा आधारित हुनु पर्दछ।

४. राष्ट्रको स्रोतमा सबै नागरिकको समानुपातिक पहुँच हुनुपर्दछ।

५. विकास वातावरणमैत्री हुनुपर्छ वा प्रकृति विनाशकारी हुनुहुँदैन।

६. विकासको प्रतिफल समन्यायिक वितरण हुनुपर्दछ।

७. देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र साझेदारी आवश्यक पर्दछ। 

झण्डै ६ देखि ७ दशक अगाडिका वीपीका विकासका यी सोच नै अहिले विश्वमा प्रचलित विकासका प्रमुख सिद्धान्त र विधि हुनुले उहाँ कति कल्पनाशील हुनुहुँदो रहेछ भन्ने देखाउँछ।  वीपीका विकास नीतिमा हाल विश्वले अंगिकार गरेको दिगो विकास लक्ष्यका सिद्धान्त जस्तै चार ‘प’ (पिपुल, प्लानेट, प्रोस्परिटी र  पाटनरशीप) को प्रष्ट परिकल्पना गरिएको पाइन्छ।

त्यस्तै दिगो विकास लक्ष्यकै मुख्य उद्देश्य विकासमा कोही नछुटुन् र विकास प्रतिफलको वितरण समन्यायिक होस् भन्ने कुरा वीपीले ६ दशक अगाडि नै आत्मसाथ गरेको पाइन्छ।  वीपीको कल्पनाशीलता र विकास दर्शनको अर्को एउटा महत्वपूर्ण उदाहरण पनि यहाँ उल्लेख गर्नु जरुरी छ। वीपीले सन् १९६० को दशकमा नै मानव सक्षमता अभिवृद्धि नै विकासको प्रमुख आधार हो भनेर पैरवी गर्नु भएको पाइन्छ। जसलाई अर्थशास्त्रका नोबेल पुरस्कार विजेता अमत्य सेनले सन् १९९० को दशकमा आएर मात्र अन्तर्राष्ट्रिय विकासको नीति निर्माणमा यसलाई स्थापित गर्न सफल भएको पाइन्छ।

वीपीका विचार र आर्थिक विकासका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन्। त्यसैले वीपीका विचारको व्यवहारिक प्रयोग गरी नेपालका साथै विश्वको लोकतन्त्र, समृद्ध र शान्तिमा योगदान दिन वीपी कोइरालाका विभिन्न ठाउँमा बोलेका र छरिएर रहेका आर्थिक नीति र सिद्धान्तको दस्तावेजीकरण गर्ने, युवा र राजनीति कार्यकर्ताहरुलाई प्रशिक्षण दिने र जनमानसमा व्यापकरुपमा प्रचारप्रसार गर्ने, आगामी दिनमा देशको आर्थिक विकासका नीति तथा योजना वीपीका प्रजातान्त्रिक समाजवादी आर्थिक नीति तथा सिद्धान्तलाई आधार बनाएर बनाउनु पर्दछ। यो भनेको हालको संविधानको मर्म र भावना अनुरुप आर्थिक विकास कार्यक्रम लागू गर्नु पनि हो।

राजनीतिक नेतृत्व र बुद्धिजीवीले ‘वीपीनोमिक्स’ को रूपमा आर्थिक मोडल विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्नु पर्दछ। तर, यसका लागि सर्वप्रथम युवा जाग्नु पर्दछ। यत्ति भए हामीले राष्ट्रियता, लोकतन्त्र र समाजवाद या लोक कल्याणकारी राज्य निर्माणमा केही योगदान पुर्‍याएको ठहर्छ। सँगसँगै वीपीमाथि सच्चा श्रद्धा सुमन अर्पण गरेको मानिन्छ।

(बुढाथोकी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन्।)
 

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?