‘म मृत्युको मुखबाट बाँचेर आएँ, कोरोनालाई नजरअन्दाज नगरौँ’
समयमै काठमाडौं नआएको भए मेरो आज करिब १८ दिन भइसक्थ्यो। म मृत्युको मुखबाट बाँचेर आएको हुँ। मेरो स्थिति एकदमै नाजुक थियो। उपचार गर्ने डाक्टरहरुले नै माया मारिसकेका थिए।सामाजिक सञ्जालमार्फत होस् वा सञ्चारमाध्यमहरुले कोरोना भाइरसबारे सचेतना फैलाइरहेका छन्। तर, अहिले पनि कोरोनालाई नजरअन्दाज गर्ने देखिइरहेका छन्।
कतिपय चिकित्सकहरुले पनि नजरअन्दाज गरेको पाइएको छ। यो साधारण भाइरस हो। पीपीई नलगाएरै उपचार गर्न सकिन्छ भन्ने गरेको सुनेको छु। कसैले घरमै बसेर बेसारपानी, कागती पानी खाएर उपचार गर्दा ठीक हुन्छ भनेको पनि सुगेको छु।
यस्ता कुराले सरकार र हाम्रो प्रयासलाई धमिलाउन खोजेको जस्तो भान पर्न गएको छ। मेरो आग्रह छ– कोरोनालाई कसैले पनि झुक्किएर पनि नजरअन्दाज नगरौं। कोरोनासँग डराइहाल्नु पर्ने, आत्तिहाल्नु पर्ने स्थिति हुँदैन।
तर, कोरोना केही पनि होइन भनेर भुल गर्नु भएन। जनमानसमा के धारणा छ भने जवान मानिसलाई यसले असर गर्दैन। वृद्ध, बालक र रोगीलाई मात्रै असर गर्छ भन्ने मानसिकता छ। तर, कोरोनाले कसैलाई पनि छोड्दैन। के वृद्ध, के जवान। संक्रमण भइसकेपछि यसले कुन रुप लिन्छ भनेर सोच्न पनि सकिँदैन।
म नेपालको सिनियर चिकित्सक हुँ। कोभिडबारेमा मानिसलाई सिकाउँदै हिँडिरहेको थिएँ। तर, एक महिनाअघि मलाई नै संक्रमण भयो। मैले राम्रो उपचार नपाएको भए समयमै काठमाडौं नआएको भए मेरो आज करिब १८ दिन भइसक्थ्यो। म मृत्युको मुखबाट बाँचेर आएको हुँ। मेरो स्थिति एकदमै नाजुक थियो। उपचार गर्ने डाक्टरहरुले नै माया मारिसकेका थिए।
त्यसैले कुनै पनि हिसाबमा कोरोनालाई नजरअन्दाज नगरौं। सामाजिक दूरी गरौं, मास्क लगाऔं र हात धोऔं। मैले बारम्बार भनिरहेको छु– रोग लाग्नुभन्दा नलाग्नु नै सबैभन्दा उत्तम हो। अझै पनि हामीले कोभिडलाई राम्ररी बुझ्न सकेका छैनौँं।
कोभिड लागेकालाई भोलिका दिनमा के असर हुन्छ भनेर पनि बुझेका छैनौँ। हामीले कुनै पनि जवान हो, स्वस्थ मानिसलाई यसले केही गर्दै भनेर भ्रम नपालौं। म विराट मेडिकल कलेजको सञ्चालक समेत हुँ। अहिले हामीले कोभिड अस्पताल तयार गरेका छौँ। त्योभन्दा पहिले एक–दुई जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। बिरामीसँग सिधा सम्पर्क हुने भएकाले स्वास्थ्यकर्मीलाई संक्रमणको खतरा उच्च हुन्छ। स्वास्थ्यकर्मी स्वस्थ रह्यो भने मात्रै समाज स्वस्थ हुन्छ। हामीले एक डाक्टर गुमाऔं भने अर्को डाक्टर जन्माउन ३५ वर्ष लाग्न सक्छ।
म आईसीयूमा हुँदादेखि नै यी कुरा भनिरहेको छु। समाजमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई कोभिड लागेपछि हेर्ने दृष्टिकोण एकदमै गलत छ। कोभिड संक्रमण कुनै पनि बेला जो कसैलाई हुन सक्छ। त्यसैले कसैको मनोवल गिराउने, हेप्ने र दुःख दिने काम गर्नु हुँदैन।
निको भइसकेका संक्रमित ११० प्रतिशत समाजका लागि खतरामुक्त हुन्छन्। तर, संक्रमण नभएकाहरु सधैँ खतरामा रहन्छन्। त्यसैले बुझेर बुझ नपचाऔँ। शहरमै यस्तो विभेद छ भने गाउँमा दूरदराजमा के होला? हामीले यही कालखण्डमा केही राम्रा, ज्ञानी र असल मानिसलाई गुमायौं। धेरै व्यक्ति आत्महत्या गर्न बाध्य बनेका छन्। त्यसैले कसैलाई दुर्व्यवहार गर्ने काम नगरौँ। हामी जुनसुकै परिस्थितिमा पनि मानव भएर बाँच्नै पर्छ। भोलिका दिनमा आत्मग्लानी हुने काम नगरौँ।
अब हामी कोरोनासँग बच्न सिक्नुपर्छ। भाइरस कहिल्यै पनि पूर्ण रुपमा ठीक हुँदैन। त्यसैले योसँगै बाँच्न सुरक्षाका उपाय अपनाउनु पर्छ। सबै मेडिकल कलेजले अहिले कोभिड अस्पताल सञ्चालन गरेका छन्। सरकारले हाम्रो सहयोगको अपेक्षा गरेमा हामी सहयोग गर्न तयार छौँ।
(हालै कोरोनालाई जितेका डा. कार्कीले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा व्यक्त गरेको विचार)