शक्ति बढाउँदै देउवा, कमजोर बन्दै पौडेल-कोइराला
काठमाडौं, फागुन २८ : १४ औं महाधिवेशन आउन एक वर्ष बाँकी छँदै नेपाली कांग्रेसको भावी नेतृत्
काठमाडौं, फागुन २८ : १४ औं महाधिवेशन आउन एक वर्ष बाँकी छँदै नेपाली कांग्रेसको भावी नेतृत्वका लागि दाैडधूप सुरू भएको छ।
पुन: नेतृत्व हत्याउन सभापति शेरबहादुर देउवाले पनि आफ्नो दाैडधूप सुरू गरेका छन्। त्यसका लागि सभापति देउवाले संस्थापन इतर समूहका नेताहरूलाई आफ्नो पक्षमा भित्र्याउने रणनीति अघि बढाउँदै लगेका छन्। १३ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व सम्हालेका देउवाले अघिल्लो महाधिवेशनमा आफ्नो प्रतिस्पर्धी समूहका केही सक्रिय नेताहरूलाई समेत आफ्नो पक्षमा ल्याएर आगामी अधिवेशनको सशक्त दाबेदारी प्रस्तुत गर्ने तयारी थालेका छन्।
संस्थापन पक्षबाट कांग्रेस नेतृत्वका लागि देउवा एक्लो दावेदार हुन्। संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक काेइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि नेतृत्वका दाैडधूपमा छन्।
केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमतमा रहेका देउवाले पछिल्लो समय अघिल्लो महाधिवेशनमा आफ्नो विपक्षमा रहेका नेतालाई आफ्नो पक्षमा ल्याएर दोस्रो कार्यकालको बलियो पूर्वतयारी गरेका छन्।
विश्वप्रकाश शर्मा, गोविन्द भट्टराई, आनन्द ढुंगाना, डा.नारायण खड्का, चीनकाजी श्रेष्ठ लगायत नेताहरुको साथले देउवा झन बलियो हुँदै गएका छन् भने पौडेल–कोइराला थप कमजोर बनेका छन्।
१३ औं महाधिवेशनमा ९ भोट अपुग भएको कारण ५१ प्रतिशत भोट नपुगेर दोस्रो चरणको निर्वाचनबाट ५८ प्रतिशत मत ल्याएका देउवा यसपटक पहिलो चरणबाटै ५१ प्रतिशत मत कटाउने रणनीतिमा देखिएका छन्। ‘अघिल्लो महाधिवेशनमै ६१ मत बदर नभएको भए देउवाले पहिलो चरणको निर्वाचनमा झण्डै ५२ प्रतिशत मत ल्याएका हुन्थे’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘अहिले आफै सभापति भएर चुनाव गराउँदा हुने फाइदाका साथै दर्जन केन्द्रीय सदस्यहरु अर्को समूहबाट संस्थापनमा आएकाले उहाँको दावेदारी निकै बलियो देखिन्छ।’
पछिल्लो समय प्रभावशाली केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, डा.नारायण खड्का, गोविन्द भट्टराई, चीनकाजी श्रेष्ठलगायत पौडेल समूह छोडेर देउवा समूहमा प्रवेश गरेका छन्। दर्जन नेताहरुको गुट फेरबदलले पौडेल–कोइराला समूह थप कमजोर र देउवा समूह अझ मजबुत बनेको छ।
अघिल्लो महाधिवेशनमा तटस्थ भूमिकामा रहेका युवा नेता विश्वप्रकाश शर्मा अहिले देउवा टिमको मुख्य भूमिकामा छन्। कांग्रेसभित्र अधिक मन पराइएका नेतामा पर्ने शर्मालाई देउवाले दुई वर्षअघि नै पार्टी प्रवक्ताको जिम्मेवारी दिएर नेतृत्व विकास गराइरहेका छन्। उनलाई कांग्रेसभित्र भावी महामन्त्रीको रुपमा हेरिएको छ। पछिल्लो समय पार्टीका हरेक गतिविधिमा शर्माले नेतृत्व गर्दै आएका छन्।
कांग्रेसभित्र शालिन नेताको रुपमा परिचित महेश आचार्य पनि पछिल्लो समय पौडेलसँग रुष्ट भई देउवातर्फ ढल्किएका छन्। तत्कालीन सभापति सुशील कोइरालाको निधन भएकै दिन बोल्दाबोल्दै ब्रेन ह्यामरेज भएर तंग्रिँदै गरेका अर्का नेता नरहरि आचार्य देउवा समूहमा आएका छन्। १३ औं महाधिवेशनमा स्वास्थ्यका कारण उम्मेदवार बन्न नसकेका आचार्यलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेपछि उनी औपचारिक रुपमै संस्थापन पक्षतिर उभिएका हुन्।
त्यस्तै देउवासँग विगतमा नेविसंघको अध्यक्ष भएर हाँकेका ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, एनपी साउद, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, किशोरसिंह राठोरलगायत नेताहरु टिममा छन्। कांग्रेसमा नेविसंघको नेतृत्व गरेका नेताहरु भोट बैंकको रुपमा हेरिन्छन्।
अघिल्लो महाधिवेशनमा महामन्त्रीमा हारेका अर्जुननरसिंह केसी भने अहिले पौडेल टिममा बसेर सभापतिको चर्को आलोचक बन्दै आएका छन्। महामन्त्रीमा आफ्नै ज्वाइँ गगनकुमार थापालाई उम्मेदवार रोक्न नसकेपछि केसीले महामन्त्रीमा शशांक कोइरालासँग ठूलो मतान्तरले हारेका थिए। २०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा केसीलाई देउवाले शहरि विकास मन्त्री बनाएका थिए । मन्त्रीबाट हटेको केही दिनमै केसीले देउवालाई छोडेर पौडेलतिर लागेका हुन्।
१३ औं महाधिवेशनमा देउवाको प्यानलबाट केन्द्रीय सदस्य जितेका चन्द्र भण्डारी भने अहिले पौडेल समूहमा छन्। महाधिवेशनपछि लामो समय संस्थापन पक्षमै रहेका भण्डारी ‘मन्त्री बन्न नपाए’पछि देउवाको साथ छोडेर पौडेल समूहमा प्रवेश गरेको पार्टी भित्र चर्चा हुने गरेको छ।
पार्टीभित्रको आन्तरिक राजनीतिमा झन मजबुत हुँदै गएका देउवालाई विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकलाई चुनावअघि कांग्रेसमा समायोजन गरेपछि अझ शक्ति आर्जन भएको छ। देउवा समूहमा रहेका गच्छदारलाई पार्टीको क्रियाशिल सदस्यता वितरणमा २० प्रतिशत हिस्सा दिइएको छ। अधिकांश जिल्लामा यो २० प्रतिशतले महाधिवेशन प्रतिनिधि कुन पक्षका ल्याउने भन्ने निर्णय गर्न सघाउँछ।
पार्टीका उपसभापति मनोनित भइसकेका गच्छदारलाई पार्टीको समायोजन समितिको सिफारिसमा अघिल्लो हप्ता मात्रै देउवाले ११ केन्द्रीय सदस्य पनि मनोनयन गरेका छन्। एकपछि अर्को निर्णयबाट शक्ति बढाउँदै आएका देउवा १४औं महाधिवेशनबाट पार्टीभित्र थप बलियो र आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउने लक्ष्यका साथ अघि बढेका छन्। उनले केही हप्ताअघि भैरहवामा भएको एउटा कार्यक्रममा पार्टीलाई बहुमत दिएर मात्रै बिश्राम लिने उद्घोष गरेका थिए।
दाऊ पर्खदै गगन र प्रदिप
युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल १४ औं महाधिवेशनमा कता भार पुग्छ भन्दै पर्ख र हेरकाे रणनीतिमा छन्। यसअघि सिटौलासँग नजिक रहेका गगन थापा स्वास्थ्यमन्त्री भएपछि उनीसँगको सम्बन्ध बिग्रिएको हो। त्यसपछि सिटौलासँग दूरी बढेपनि गगन कुनै पनि गुटमा देखिएर लागेका छैनन्। प्रदीप भने केही महिना अघिसम्म सिटौलासँगै थिए।
तर पछिल्लो समय १४औं महाधिवेशनलाई मध्यनजर गर्दै दुवै जना कता लाग्ने भन्ने दोधारमा देखिएका छन्। केही दिनअघि नेता पौडेलले ‘गगन र प्रदीप’लाई उचित व्यवस्थापन गर्ने भन्दै आफ्नो टिममा रहेको सन्देश दिएका थिए। तर पौडेल समूहले आयोजना गरेको पछिल्ला कोर बैठकमा उनीहरु दुवै देखिएका छैनन्।
यसले गगन-प्रदीप दुवै राम्रो अवसरको खोजीमा हो की भन्ने अनुमान कांग्रेसभित्र गरिएको छ। युवामाझ लोकप्रिय र संसदमा बेजोड प्रस्तुतिका कारण गगन आफूलाई १४ औं महाधिवेशनमा महामन्त्रीमा चुनाव जित्न जता सहज हुन्छ उतै जाने उनी निकटकहरु बताउने गर्छन्।
गगन-प्रदीपले सिटौला समूह छोडेपछि अब उनीसँग उमाकान्त चौधरी र शिवप्रसाद हुमागाइँलगायतका नेताहरु बाँकी छन्। सिटौला आफैँ पनि पौडेलभन्दा कोइराला परिवार र देउवासँग नजिक छन्। नेविसंघको भागवण्डादेखि केन्द्रीय सदस्य मनोनीतसम्म देउवाले सिटौलालाई सम्मानजनक स्थान दिएका छन्।
देउवाले फागुन १७ गते केन्द्रीय सदस्य मनोनित गर्दा सिटौलाको गृहजिल्ला झापाका दुई जनालाई समावेश गरेका थिए। देउवाले गोपालकुमार बस्नेत र सुधिरकुमार सिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए। त्यति मात्रै होइन, देउवाले सिटौलाका सहोदर दाइ पूर्वसांसद डिल्लीप्रसाद सिटौलालाई ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनित गरेका छन्। पछिल्लो यो कदमले सिटौला पौडेल-कोइरालाभन्दा देउवासँग समदुरीमा छन् भन्ने संकेत गर्छ।
संस्थापन पक्ष एकढिक्का, पौडेल समूहमा गुटैगुट
कांग्रेसको आन्तरिक राजनीतिमा मुख्य रुपमा तीन गुट छन्। संस्थापन, पौडेल र सिटौला समूह। तर, संस्थापन समूहमात्रै एकढिक्का छ।
संस्थापन समूहका सवै नेता देउवाकै निर्देशनमा चल्दै आएका छन्। संस्थापन इतरमा भने पौडेल, कोइराला र सिटौलागरी प्रष्ट देखिने तीन समूह छन्। त्यसभित्र पनि तहगत गुट बाक्लाे छ। तहगत गुटका कारण संस्थापन इतरबाट सभापति को हुने भन्ने कुनै टुंगो छैन।
पौडेलसँग प्रकाशमान सिंह र रामशरण महत छन् भने शशांकसँग मिनेन्द्र रिजाल, सुजाता कोइराला, दीपक गिरीलगायतका नेताहरु साथमा छन्। छुट्टै उपगुट नबनाए पनि कार्यकर्तासामू आफ्नो उपस्थिति बलियो बनाउन शेखरले देश दौडाहा र भेटघाट बाक्लो बनाउँदै आएका छन्। तर उनी अझसम्म पदाधिकारीसमेत नभएकाले सभापतिभन्दा पनि अरु कुनै पदाधिकारीका लागि तयारीमा रहेको अनुमान उनकै निकट नेताहरुको भनाइ छ।
किन कमजोर भए पौडेल?
१३औं महाधिवेशनमा पार्टीभित्रको गुट समाप्तिको मुख्य एजेन्डा बोकेर मैदानमा आएका पौडेलले चुनाव हारेको भोलिपल्टदेखि नै आफ्नो भाग माग्न थाले।
गत चुनावमा कांग्रेसको गढ मानिने तनहुँका प्रतिनिधिसभा र प्रदेशसभा सबैमा पराजय भोगेपछि उनी जिल्लादेखि केन्द्रीय राजनीतिमा कमजोर बनेका हुन्। केन्द्रको नेतृत्वमा विरोध गर्ने पौडेलसँग कांग्रेसको बलियो जिल्ला मानिने गृहजिल्लामा लज्जास्पद हार भएपछि उनको राजनीतिक प्रभाव केन्द्र र जिल्ला दुवैमा एकै पटक घटेको हो।
पछिल्लो समय उनकै गृहजिल्लाबाट प्रभावशाली नेता गोविन्द भट्टराईले गुट फेरेर देउवा समूहमा गएपछि पौडेल जिल्लामा समेत अल्पमतमा परेका छन्। नेताहरु शंकर भण्डारी, ध्रुव वाग्लेसहित भट्टराई पनि देउवा समूहमा आएपछि पौडेललाई जिल्लामा साथ दिने केन्द्रीय नेता छैनन्।
अर्का नेता गोविन्दराज जोशीसँग भने उनको पुरानो दुश्मनी अझै जिवित छ। जिल्ला राजनीतिमा अझै पनि जोशीको पकड पौडेलको भन्दा बलियो भएको नेताहरुको भनाइ छ। यसले पाैडेल १४ औं महाधिवेशनमा अघिल्लोमा भन्दा निकै कमजोर हुँदै गएकाे देखिन्छ। आफ्नो समूहमा समकक्षी नेता नहुँदा पनि पौडेल सभापतिका लागि सर्वसम्मत उम्मेदवार बन्न सकेका छैनन्। यसले पनि पौडेल पार्टीभित्र थप कमजोर भएको देखिन्छ।