Kathmandu Press

लकडाउन एक्सप्रेस

कोरोना भाइरसको त्रासका कारण लकडाउनले कोठाभित्रै थुनिएर बसिरहेको थिएँ। गत वैशाख ७ गते शुक्रबार बिहान गाउँबाट फोन आयो-

लकडाउन एक्सप्रेस

कोरोना भाइरसको त्रासका कारण लकडाउनले कोठाभित्रै थुनिएर बसिरहेको थिएँ। गत वैशाख ७ गते शुक्रबार बिहान गाउँबाट फोन आयो- सानिमालाई धेरै गाह्रो भएको छ। आउनु पर्‍यो।

सानिमा बिरामी भएको लामै समय भइसकेको थियो। तर, लकडाउनका बेला घर आउनु पर्‍यो भनेर फोन आएपछि सानिमालाई रोगले साह्रै च्यापेछ कि भन्ने लाग्यो। मोबाइल राखेर खाटमा पल्टिए। लकडाउनले घरमै बस्दा निसास्सिएको म, त्यो खबरले झनै निसास्सिएको जस्तो माने।  केहीबेर त आत्तिएँ, कताकता सास फेर्न नै अप्ठ्यारो भए जस्तो भयो। सोचें–सानिमालाई के भयो फेरि? 

मलाई फोन गर्नेले अलि कुरा लकाए जस्तो लाग्यो। मैले फेरि फोन घुमाएर त्यो खबर कन्फर्म गर्न थाले। मैले धेरैतिर फोन गरेपछि केहीबेरमा थाहा भयो– सानिमाले संसार छोडिसक्नु भएको रहेछ। 

Hardik ivf

त्यसपछि मन थाम्न सकिनँ, ओछ्यानमै थचक्क बसेर रोएँ। आफूले आफ्नै मनलाई बुझाएँ। सम्झे, लकडाउन छ। कसरी पुग्ने सानिमाको घर अलैचे (तनहुँ) सम्म? 

राजधानीको लकडाउन पार गरेर निस्कन यत्तिकै सम्भव थिएन। सवारी पास बनाउन पनि ठूलै पहुँच चाहिन्थ्यो। केही चिनेजानेका साथिभाइलाई मेरो समस्या शेयर गरे। अन्ततः तनहुँसम्म सानिमाको अन्तिम अनुहार हेर्न जाने पास मिल्यो। पास मिल्दा दुःखमा पनि केहीबेर खुशी भएजस्तो लाग्यो। 

पास हात पर्ने बित्तिकै मोटरसाइकल स्टार्ट गरे। सानो झोला भिरे र हुइँकिए। 

मोटरसाइकलको जति–जति गति बढ्छ त्यति झलझली सानिमाको अनुहार अगाडि घुमिरहेको थियो। मेरो मोटरसाइकलको पछाडि  बसेका नातेदार कहिलेकाहीँ गति घटाउ भन्थे पछाडिबाट। तर, खाली सडक देख्दा मेरो हात एक्सिलेटर बटार्न मात्रै खोज्थ्यो। 

 

बाटो खाली थियो। तनहुँको दुलेगौडासम्म पुग्नुपर्ने भएकाले घाम पानीको प्रवाह नगरी निरन्तर कुदिरहे।

सधैँभरि धुलो, धुँवा र जामबाट गुज्रिएको राजधानीमा त्यो कोलाहाल नदेख्दा पनि अनौठो लागेर आयो। राजधानीमा केही स्थानमा प्रहरी चेकिङ थियो। नागढुंगामा सुरक्षामा खटिएका प्रहरीको सामान्य सोधपुछपछि मेरो हाइवे एक्सप्रेस अघि बढ्यो।

नागढुंगा कटेपछिको बाटो सवारीविहीन नै थियो। कहिलेकाहीँ त लाग्थ्यो, दर्जनाैंँ पटक हिँडेको यो हाइवे नभई अन्त कतै त गइरहेको छैन।

सधैँभरि जाम र ठूला गाडीको भिड हुने सडक एकदमै सुनसान थियो। पृथ्वी राजमार्ग लगभग सवारीविहीन जस्तो थियो। बाटोमा एकदमै अत्यावश्यक एम्बुलेन्स, सुरक्षाकर्मी, खाद्यान्न र केही मिडियाका सवारीसाधन आकलभुक्कल भेटिन्थे। राजमार्ग सुनसान थियो। सधैँ व्यस्त रहने राजमार्ग सुनसान थियो। सुसाइरहेको त्रिशूली नदी र चराचुरुङ्गीको आवाजले मन प्रफुल्ल भएजस्तो हुन्थ्यो।

राजमार्गमा जिल्लाका सीमान सक्किने वित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्ने र पास हेरेर अनुमति दिन्थें। चेकिङमा त्यति साह्रो कडाइ भने थिएन। काठमाडौंबाट तनहुँ हुँदै स्याङ्जासम्मको यात्रामा राजमार्गमा करिब चार ठाउँमा मात्र चेकिङ भयो। 

सामाजिक सञ्जाल र विभिन्न समाचारमा भनिएजस्तो गण्डकी प्रदेश प्रवेश गर्दा सीमामा सवारीसाधनमा कोरोना भाइरसविरुद्धको किटनाशक औषधि छर्किने व्यवस्था त्यहाँ थिएन। जिल्लामा प्रवेश गर्दा सबैलाई थर्मल गनबाट ज्वरो चेकजाँच पनि कतै गरिएन। समाचारमा मात्रै रहेछ, फिल्डमा मैले त्यस्तो केही भेटिनँ।

राजधानीमा बसेर सरकारले दिनदिनै कोरोनाविरुद्धमा ठूलो गफ छाट्यो। राजमार्गमा त्यसको कुनै असर देख्न पाइनँ। हालसम्म कोरोनाबाट सुरक्षित रहेको भनेर ढुक्क बनेको राजधानीमा यसरी नै चेकजाँचमा हेलचेक्राइ गर्ने हो भने समस्या हुन्छ कि भन्ने कुरा पनि मनमा खेल्न थाल्यो। 

 

साँझ ७ बजे तनहुँको दुलेगौडाबाट सेतीघाट पुग्दा सानिमाको अन्तिम संस्कार सकिसकेको रहेछ। अन्तिम पटक सानिमाको अनुहार देख्न पाउँछु कि भन्ने आशा, निराशामा परिणत भयो। मनमा खल्लो त लाग्ने नै भयो। तर, पनि मन बुझाएँ। 

म प्रायः सधै जसो नै सानिमाहरुसँग सम्पर्कमै रहन्थे । अझ ममीको निधन पश्चात सानिमाहरुसँगको आत्मियता झनै वढेर गएको छ । ममीका ३ बहिनी (सानिमा) उहाँ माईली सानिमा हुनुहुन्थ्यो । उहाँ पनि ममी जस्तै बिरामी भएकाले धेरै कुराकानी हुने गथ्र्यो । त्यसैले होला, ममी गुमाएपछि सानिमाको अनुहारमा समेत मैैैले आफ्नै ममीकाे अनुहार देख्न थालेको थिए ।

अन्तिम संस्कार सकिसकेकाले म पुग्दा आफन्तजनको शोकको माहौल साम्य भइसकको थियो। साम्य भइसकेको स्थितिलाई पुनः भावविह्वल बनाउन चाहिन र आफ्नो मनलाई नियन्त्रण गर्ने प्रयास गरेँ। राति करिब साढे आठ बजेतिर सानिमाको घर तनहुँको अलैचे पुगेँ।

सानिमाको अन्तिम संस्कार सकिएपछि भोलिपल्ट स्याङ्जाको सीमानामै पर्ने राइपुरमा रहेको मामा घरमा नगएर मन मानेन। आएको बेला गाउँघरमा पुगाैैँ भनेर म राइपुरतिर लागेँ।

मैले राजधानीमा रहँदा सुनेको थिए–स्याङजा छिर्ने जो कोहीलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिएको छ। तर, म राजमार्गको प्रमुख बाटो नभई भित्रको सडकबाट गएकाले त्यो व्यवस्था मैले भोग्नु परेन।

मुख्य राजमार्गमा प्रहरीको चेकिङ रहेपनि भित्री गाउँले सडकहरुमा स्थानीय तहले चेकजाँचको क्रमलाई तीव्रता दिएका रहेछन्। तनहुँको दुलेगौडाबाट भित्र लागेपछि मान्द्रे, साँखे बजारमा स्थानीय क्लब र स्थानीय तहले चेकजाँच राखेका रहेछन्। साँखे बजारमा त काठमाडौंबाट आएको भनेपछि स्थानीय एकदमै सचेत देखिए।

सोधपुछपछि मैले सवारी पास देखाएपछि मलाई राइपुर जान सहज भयो। तनहुँ र स्याङ्जाका गाउँ जाने सडकमा आफू खुसी बाटोमा बार लगाउने, स्थानीय क्लबका युवाले थर्काउने र दादागिरी देखाउने पनि गरेका छन् कतैकतै।

स्याङ्जामा उच्च सतर्कता अपनाएको देखेपछि घरै (स्याङजा सदरमुकाम) जाने हिम्मत गरिनँ। राइपुरमै पाँच दिन बसेर काठमाडौं फर्किने निधो गरे। फेरि काठमाडौं फर्कने पास चाहियो। राइपुरबाटै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङसँग फोनमा कुरा गरे।

काठमाडौंबाट सानिमाको निधनका कारणले तनहुँ हुँदै स्याङ्जासम्म आइपुगेको र पत्रकारिताका क्रममा काठमाडौंमा कार्यरत रहेको जानकारी गराए।  आफ्नो समस्या व्यक्त गरेर अनलाइनमार्फत प्रक्रिया पूरा गरेपछि उनले मलाई एक दिने इ–पासको व्यवस्था गरिदिए। पाँच दिनपछि फेरि काठमाडौंको यात्रा सुरु भयो।

सामान्य समयमा गाडीमा बसेका यात्रु नै तान्न जाने राजमार्गका होटलहरु सबै बन्द थिए। राजमार्गमा सबै होटलहरु बन्द हुँदा बिरामी लिएर हिड्नुपर्ने र अत्यावश्यक काममा हिँड्ने सर्वसाधारणका लागि खानाको प्रबन्ध थिएन। 

 

कोरोना त्रासका कारण होटल खुल्नु त परै जाओस् होटल आसपासको पार्किङ क्षेत्रमा समेत कोही प्रवेश नगरुन भनेर बारेर राखिएको थियो। कतै केहीबेर बसेर चिया खाउ भनेपनि पसल खुला थिएन। एकोहोरो यात्राले कहिलेकाहीँ त निकै झन्झट लाग्ने।

मनकामना केबलकार नजिकै चिनजानका बविन्द्र गौचन दाइको श्री नर्साङ थकाली होटलको थोरै सटर खुलेको रहेछ। दाइलाई पनि भेटघाट हुने भनेर होटल छिरे। त्यही चिया पिउने माहौल समेत मिल्यो। राजमार्गमा केही तरकारी पसल, फलफूल पसल र औषधि पसलमात्र खुलेका देखिन्थे। सामान्य बेला बाटोमा ठेलामा चटपटे र अन्य सामग्री बेचेर छाक टार्नेहरु नदेख्दा मेरो मनले ती साना व्यापारीलाई समेत सम्झियो।

मलेखुमा सकडको दायाँ–बायाँ केराको घरी लिएर विक्री वितरण गर्ने स्थानीयहरु भने अहिले पनि त्यही छन्। तर त्यहाँका खाना खाने होटलहरु बन्द थिए। काठमाडौंबाट जाँदा मनमा पनि तनाव भएर होला त्यति राजमार्ग छेउछाउको वातावरण निहाल्न सकिनँ। फर्कँदा भने केही स्थानमा मोटरसाइकल रोकेरै नजिकबाट निह्याले। राजमार्गका कतिपय स्थानमा पैदल नै हिँडेर गन्तव्यमा जानेहरुलाई रोकेर राखिएको थियो भने कतिपय पैदल यात्रु हिँडिरहेका पनि भेटिन्थे।

राजमार्गमा पेट्रोलियम पदार्थका लागि पम्पहरु खुलेको भएपनि गाडी तथा मोटरसाइकल बनाउने वर्कसपहरु सबै बन्द थिए। मोटरसाइकल पन्चर भयो भने के गर्ने होला भन्ने चिन्ता मलाई पनि थियो। 

 

थानकोट आइपुगे। सोचेँ– अब कडा चेक हुन्छ होला भनेर। तर, सुरक्षाकर्मीले सामान्य हेरेर मलाई अघि बढ्ने अनुमति दिए। अनि सोचे यसरी नै सबैलाई सामान्य ज्वरो समेत चेक नगरी काठमाडौं प्रवेश गर्न दिने हो भने काठमाडौंलाई कोरोनाबाट कसरी बचाउन सकिएला?

जे होस्, दुःखमा भएपनि सवारीसाधन विनाको राजमार्गमा एउटा अनौठो अनुभव संगाल्ने मौका मिल्यो। सफा सडक, हरियाली वातावरण, धुलो र गाडीको धुँवाविहीन राजमार्गबाट श्वास भरेर म काठमाडौं आइपुगें।  

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्