Kathmandu Press

म पनि बाँच्नुपर्छ

डाई टुँ रोऊ मने आँश ना गिराऊ,
दुखके सागरमे चलैना बा लाऊ ।

बाबाले धर्ती छोड्नुभन्दा दुई वर्ष

म पनि बाँच्नुपर्छ

डाई टुँ रोऊ मने आँश ना गिराऊ,
दुखके सागरमे चलैना बा लाऊ ।

बाबाले धर्ती छोड्नुभन्दा दुई वर्ष अघि पठाएको चिठ्ठीका पंक्ती हुन् । चिठ्ठी आएको मेरो नाम होइन, हजुरआमाको लागि । त्यतिबेला हजुरबा बित्नु भाथियो, हजुरआमालाई भेट्न पनि आउनु सक्नु भएन । बाबाको सट्टा उहाँको चिठ्ठी आयो, हतोहात । त्यतिबेला चिठ्ठी सुनेर हजुरआमाले के सोच्नु भयो होला, थाहा छैन् । तर, अहिले बाबाको चिठ्ठी १९ वर्षको भयो । अझै पनि जब उकुसमुकुस हुन्छु, एक्लोपनले पिरोल्छ, दुःख र पीडाले जीवनदेखि विरक्त लाग्छ, अनि यहि चिठ्ठी पल्टाउँछु र बाबाको स्पर्श महसुस गर्छु । आत्मबल थपिन्छ र मनमनै भन्छु, ‘म पनि बाच्नुपर्छ ।’

‘म पनि बाँच्नुपर्छ’ भनेजस्तै जिन्दगी बाँच्न त सजिलो कहाँ हुँदो रहेछ र ! आमाले भात दिएजस्तो जिन्दगीले मलाई थालमा पस्किएर केही पनि दिएनँ । उल्टै मेरो भागमा परेको पनि खोसेर लग्यो । आठ वर्षको हुँदा बाबा भूमिगत हुनुभयो र १३ वर्षको हुँदा हामीबाट अलग पारियो । वहाँको कमि जहिल्यै खट्किरह्यो । कतिसम्मकी पेटले भोग लाग्यो भन्थ्यो, म चुपचाप नसुनेझै गरि बस्थेँ । नयाँ कक्षाले नयाँ किताब माग्थ्यो, म पुरानै अरुको मागेर पढ्थेँ । चाडपर्वले नयाँ लुगा खोज्थे, म पुरानै च्यातिएको सिएर लगाउँथेँ । बाबाकै चिन्ताले हजुरबा गुमाए, त्यसपछि बाबा र काका गुमाएँ ।

Hardik ivf

त्यसपछि पीडैपीडाले दशैं मनाउन छोड्यौं, दीपावलीमा दीयो बाल्न छोड्यौं, चाडपर्व आएको थाहा नपाएँजस्तो  गर्‍याै‌ । घरपरिवारमा मात्रै होइन, मेरो जीवनमा यस्तो सन्नटा छायो, बाँच्न बेकार छ जस्तो लाग्न थाल्यो ।

जब बाबा होइन, पुलिस आउन थाले

बाबाका धेरै कुरा याद छैन्, मलाई । आमा भन्नुहुन्छ, ‘बाबा धेरै मेहनति हुनुहुन्थ्यो । आफ्नै मेहनतले धनगढीमा घर बनाउनुभयो । मेडिकल खोल्नुभयो । टोल छिमेकमा सबैले माया गर्थे, हामीलाई । सबकुछ राम्रो थियो ।’

अचानक बाबा घर आउन छोड्नुभयो । घरमा पुलिसहरु आउन थालेँ । पुलिस र शाही सेनाले धनगढी र हसुलियाका दुवै घर घेर्न थाले । डरले छिमेकीहरु पनि हाम्रो घर आउन छाडे । सेनाले बाबाका बारेमा सोधपुछ गर्दै ‘तिमीहरुको घर बमले उडाइदिन्छौं, तिमीहरु सबलाई मारिदिन्छौं’ भन्थे । उनीहरु ‘छोराहरुलाई माओवादी बनाइस्, तेरो छोराहरुलाई मारिदिन्छौं’ भन्दै हजुरबालाई कुट्थे । अहिले पनि हजुरआमाले ति दिन सम्झिँदा गहभरि आँशु हुन्छन् । हजुरबालाई जोगाउँन खोज्दा हजुरआमा पनि कुटाइ खानुहुन्थ्यो ।

पुलिसले धनगढीको घरमा सताउँन थालेपछि सबै जना सँगै बस्ने सल्लाह गरेर गाउँ फर्कियौं, हसुलिया । त्यतिबेला बाँच्ने आशा त थिएन, सँगै मरौला भन्ने वाचा थियो ।

यातनाका स्कुले दिन

माओवादीमा सक्रिया बाटा २०५४ मा भूमिगत हुुनुभयो । त्यतिबेला म धनगढीमै बाबाको साथी राज अधिकारीको बोर्डिंङ स्कुलमा पढ्थे । भाइहरु आमासँगै गाउँ फर्किसकेका थिए । गाउँकै स्कुल पढ्थे । मेरो बोर्डिङको फि तिर्न सक्ने अवस्था थिएन् । बाबाको साथीले सित्तैमा पढाउनु भयो । तर, प्रहरीले पढ्न दिएनन् । ‘त्यो माओवादीको छोरी हो, पढ्न दिइस् भने गाह्रो पर्ला’ भनेर उहाँलाई धम्काए । त्यसपछि मेरो भर्ना लिइएन् ।

सेना र प्रहरीले सताउने, लेखपढ गर्न नपाइने भएपछि घरमा सरसल्लाह भयो, सपरिवार भूमिगत हुने । अंकलले सोध्नु भयो, ‘भूमिगत हुने हो ?’ मेरो जवाफ थियो, ‘म पढ्न चाहन्छु । धेरै पढ्न मन छ ।’

गाउँमा पढ्न नपाएपछि फेरी धनगढी नै आएँ । बाबाको साथीकै बोर्डिङ स्कुलमा भर्ना भए । सानै थिए, कोठामा बस्न सक्थेनँ, उहाँकै घरमा बसे । तर, पुलिस राति घरमा आउन थाले । ‘माओवादीकी छोरीलाई घरमा किन राखिस् ?’ भन्दै हप्काउन थाले । उहाँलाई गाह्रो भएपछि घर छोडेँ ।

धनगढीमा एक्लै बस्न थाले । बिहान स्कुल हुन्थ्यो । बिहानै बिउझेर न नास्ता पकाउन सक्थे, न खाना । भोकै स्कुल जान्थे । टिफिन टाइममा साथीहरु केही न केही खाइरहेका हुन्थे । म भोकै चुपचाप कक्षाकोठामा बस्थेँ । छुट्टीहुँदा अरुका लागि स्कुल भ्यान थियो, म हिँडेरै कोठामा पुग्थे । तराईको गर्मी, दाउरामा खाना पउकानु राह्रै कष्टकर हुन्थ्यो । कति रात त खान नपाइकी सुत्थेँ ।

बोर्डिङ स्कुलमा एक वर्षमात्रै पढ्न पाएँ । माओवादीले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउने निर्णय गर्‍याे र म पनि धनगढी माविमा भर्ना भएँ । थुप्रो विद्यार्थी थिए, दुई सेक्सनमा दुई सय । पढाइमा राम्रो थिए, स्कुले भर्ना शुल्क लिएन् । तर परीक्षा शुल्क तिर्न पनि आपत हुन्थ्यो । किताब त झन नयाँ देख्नै पाइन, पुरानै पढेँ ।

कक्षा ९ र १० पढ्दा त पढाउँन थाले, आफ्नौ साथीहरुलाई । मेरै कक्षाका पाँच–छ जना हिसाब सिक्न आउँथे । उनीहरुले दिएको पैसाले खर्च चल्थ्यो ।

एसएलसीपछि सुदूरपश्चिमाञ्चल उच्च माविमा भर्ना भएँ । डा. ओम गुरुङको पहलमा छात्रवृत्ति पाएँ । त्यो २५ हजार मेरा लागि धेरै अर्थ राख्थ्यो ।

स्नातकमा कैलाली बहुमुखी क्यापस पुगेँ । पढ्नमा राम्रै थिएँ । तर, जति गर्दा पनि छात्रवृत्ति पाइन् । धान बेचेर ‘फि’ तिरेँ । त्यहिँ बेला धनगढीको बोर्डिङ स्कुलमा पढाउन शुरु गरेँ र त्यही खर्चले स्नातकोत्तर पनि पुरा गरेँ ।

म मर्न नसक्ने कायर

म सानो छदा आमाले खुब दुःख गर्नु भयो । घरको खर्च जुटाउनका लागि मजदुरी गर्नुभयो, अर्काको धान रोप्न, चामल केलाउनु, छिमेकको घरमा काम सघाइदिनु आमाको दैनिकी हुन्थ्यो । बोर्डिङ स्कुलमा झाडुपोछा लाउनुभयो । बाबा छँदा यस्तो गर्नु पर्ला भनेर सायदै सोच्नु भयो होला ।

हसुलियाबाट मलाई भेट्न धनगढी आउनुहुन्थ्यो । बस चढ्ने पैसा हुदैन्थ्यो, हिडेरै धनगढी पुग्नुहुन्थ्यो । आमा उस्तै दुब्लो हुनुहुन्थ्यो । झन विरामी हुँदै जानु भयो । अस्थिपञ्जर मात्रै बाँकी रहे । मानसिक रुपमा पनि सन्तुलन बनाइराख्नु सक्नु भएन् । जहिल्यै हडबडाउँदै भन्नुहुन्थ्यो, ‘फेरी लडाइँ हुन्छ, गोली चल्छ, मान्छे मर्छन् । हे भगवान् बचाउ, मेरा छोराछोरीलाई बचाउ ।’

आमा, घरपरिवार, आफ्नो दुखजिलो दैनिकी देख्दा स्कुल पढ्दामात्रै होइन, क्याम्पसको पढाइ सक्दासम्म पनि बाँच्न मन लाग्थेन् । कति पटक मर्नलाई कोठाको सिलिङ हेर्थे । फेरी मर्न डराउँथेँ । अनि मनमनै भन्थे, ‘म मर्न नसक्ने कायर रहेछु । अलिकति हिम्मत जुटाएको भएँ त बाबाकहाँ पुग्थेँ ।’ सायद मर्न नसक्ने मजस्तै कायरहरु यसरी नै बाँच्छन होला, भोली राम्रो हुने आशमा ।

बाबाका पद्चाप

सानै छदा छुट्टिएकाले होला, बाबासँगका धेरै सम्झनाहरु छैनन् । घरमा पुस्तकहरु राख्नु भएको थियो, नेपाली र थारु भषका । वहाँले ‘चोराइल मन’ गजल संग्रह लेख्नु भएको थियो । आफ्नै सम्पादनमा ‘मुक्तिक डगर’ पत्रिका प्रकाशन गर्नुहुन्थ्यो, बाबा । 

२९ जेठ, २०५९ मा कैलालीको भजनी नगरपालिकास्थित कन्हैयापुरमा शाही सेनाले घेर हालेर बाबा र अंकललाई नियन्त्रयणमा लियो । दुवैलाई त्यही गोली हानेर हत्या गर्‍याे । त्यसपछि बाबाको यात्रा रोकियो । र ‘मुक्तिक डगर’ प्रकाशन पनि रोकियो ।

अहिले बाबाकै नाममा जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान खोलेकी छु । बाबा र अंकलका नाममा ‘जोखन–जगत पत्रकारिता पुरस्कार’ स्थापना गरेकी छु । अब बाबाको ‘मुक्तिक डगर’ प्रकाशनलाई निरन्तरता दिनु छ । बाबाले नौ वर्षमा सात अंक निकाल्नु भएको थियो, म वर्षमा १२ अंक निकाल्न सकुँ । जसको सुरुवात मैले आफ्नै सम्पादकत्वमा गरेको छु ।

तथापि, हजुरआमा र आमाको अनुहार देख्दा बाबाको अभाव खड्किएको महसुस गर्छु । मलाई देखेर मुस्कुराउँनु त हुन्छ तर, पीडा लुकाउनु सक्नु हुन्न । बुवा गुमाएपछि हजुरआमा र आमाले मुस्कुराउन बिर्सिसक्नु भएको थियो । अचेल, फेरी हजुरआमा र आमा मुस्कुराउने कोसिस गर्नु हुन्छ ता कि म मुसस्कुराउँन सकुँ । म पुस्कुराउँछु ता कि हजुरआमा र आमालाई फेरी मुस्कुराउन सिकाउँ ।
त्यस्तैले, माओवादी शान्तिप्रक्रियामा आइसकेपछि बाबा र अंकलबारे सोधीखोजी गरेँ । वहाँका साथीहरुलाई भेटेँ । सबैको एउटै सार थियो, वहाँ थारुको नम्बर एक नेता हुनुहुन्थ्यो, पढाइमा तेज, साहित्य लेखनमा उत्कृष्ट, इमान्दार, अनुशासित व्यक्ति हुनुहुन्थ्यो ।’

आमाले पनि मलाई बाबाको डायरी दिनु भएको छ । जब बाबाको याद आउँछ, विगतले पिरोल्छ, त्यही डायरीका पाना पल्टाउँछु । आँखा अनायासै रसाएर आउँछन् । फेरी बाबाले हजुरआमालाई पठाउनु भएको उही चिठ्ठी ओल्टाइपल्टाइ गर्छु । एकाएक आत्मबल बढेर आउँछ, र मनमनै भन्छु, ‘म पनि बाँच्नुपर्छ ।’  

डाई टुँ रोऊ मने आँश ना गिराऊ
साहस व विवेकसे नेगटी जाऊ,
डाई टुँ सुनो मने सुनैती जाऊ
आँश चुहाके दुश्मनहे खुशी ना कराऊ

दुखके समुद्र नघलो समुद्र बाँकी बा
अभिनटे कपारिम पहार उठैना पाली बा,
तोहार ठे लोह चबाइ सेक्ना दाँत बा
मृत्युहे फेन आज पचाई सेक्ना आँट बा

डाई टुँ रोऊ मने आँश ना गिराऊ
दुखके सागरमे चलैना बा लाऊ

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, माघ १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्