Kathmandu Press

यी हुन्, डिजिटल स्वरुपमा ढालिएका १० पुराना नेपाली फिल्महरू

यी १० पुराना नेपाली चलचित्रहरू प्रविधिको हिसाबले कमजोर होलान्, विषय–बस्तुको हिसाबले पश्चगामी पनि होलान्, तर यी चलचित्रहरू त्यति बेलाको नेपाली समाज चिहाउने माध्यम हुन्।  
यी हुन्, डिजिटल स्वरुपमा ढालिएका १० पुराना नेपाली फिल्महरू

काठमाडौं – के तपाईंलाई पुराना नेपाली चलचित्रहरू हेर्न मन छ? चिन्ता नलिनुहोस्, चलचित्र विकास बोर्डले अहिले धमाधम ती चलचित्रहरूलाई डिजिटाइज गरिरहेको छ। 

बोर्डले हालसम्म १० वटा पुराना नेपाली चलचित्रहरूलाई डिजिटल स्वरुपमा ढालिसकेको छ, जसका केही दृश्यहरू अर्को साता (असार १६) बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा देखाइँदैछन्।

बोर्डले हालसम्म डिजिटाइज गरेका नेपाली चलचित्रमा श्यामश्वेत जमानाका पनि छन्। नेपालमा सुरुमा बनेका रङ्गीन चलचित्रहरू पनि छन्।

Hardik ivf

प्रविधिको हिसाबले ती चलचित्रहरू कमजोर होलान्, विषय–बस्तुको हिसाबले पश्चगामी पनि होलान्, तर ती चलचित्रहरू त्यतिबेलाको नेपाली समाज चिहाउने माध्यम हुन्।  

बोर्ड अध्यक्ष केशव भट्टराई भन्छन्, ‘पुराना फिल्मको डिजिटाइजेसन भनेको हाम्रो इतिहासको संरक्षण हो।’ 

यी हुन्, बोर्डले अहिलेसम्म डिजिटाइज गरेको पुराना नेपाली चलचित्रहरू–

आमा

दुई वर्ष विदेशी भूमिमा विदेशी फौजकै लागि लडाइँ लडेर हिरो घर फर्कन्छन्, आमा भेट्न। तर, त्यस बेला उनकी आमाले यो संसार छाडिसकेकी हुन्छिन्।

जुन आमाका लागि लडाइँ जितेर घर फर्कियो, उनी नै नरहेपछि हिरो फेरि विदेशतिरै फर्कन खोज्छन्। तर, उनलाई छिमेकीले सम्झाउँछन् – तिम्रो जन्मदिने आमा नबाँचेर के भो, यो जन्मभूमि पनि तिम्रै आमा हो।

हिरोले त्यसपछि जीवनको नयाँ अर्थ भेट्छन्, र जीवनपर्यन्त जन्मभूमिको सेवा गर्ने प्रण गर्दै स्वदेशमै बस्छन्। 

वि. सं. २०२१ सालमा बनेको नेपालकै पहिलो फिल्म आमाको कथा हो, यो। हिरा सिंह खत्रीद्वारा निर्देशित आमामा शिव शंकरले हिरो र र भुवन चन्दले हिरोइनको भूमिका निर्वाह गरेका छन्।

रुपमा यो फिल्म नेपालीलाई देशभक्त बन्न झक्झकाउने खालको थियो। तर,  सारमा यो फिल्मले राजा महेन्द्रले भर्खरै जग बसाएको पञ्चायती व्यवस्थाप्रति वफादार बन्न नेपाली जनतालाई प्रेरित गरेको थियो।

परिवर्तन

परिवर्तन पनि हिरा सिंह खत्रीकै निर्देशनमा बनेको फिल्म हो। वि. सं. २०२८ सालमा प्रदर्शनमा आएको यो चौथौ नेपाली फिल्म हो। नाटकमा आधारित यो फिल्ममा यज्ञनाथ घिमिरे, रिता थापा, निर शाह र यादव खरेलको मुख्य अभिनय छ।

बद्लिँदो आकाश

बद्लिँदो आकाश वि.सं. २०३९ सालमा रिलिज भएको थियो। रोयल नेपाल फिल्म कर्पोरेशनद्वारा निर्माण गरिएको फिल्मलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन्। यसमा कलाकारहरू शिव श्रेष्ठ, सुष्मा शाही र नीर शाहको मुख्य भूमिका छ। 

यो फिल्म रिलिज भएको समयलाई नेपाली चलचित्र क्षेत्रको सुनौलो युगको रुपमा लिइन्छ। किनभने, त्यो समय निजी क्षेत्रबाट बनेका धेरै चलचित्रहरू व्यवसायिक रुपमा सफल भएका थिए। 

हिजो आज भोलि

हिजो आज भोलि प्राइभेट ब्यानरबाट बनेको पहिलो नेपाली फिल्म हो। यो वि.सं. २०२४ सालमा प्रदर्शनमा आएको थियो।

हिरा सिंह खत्रीकै निर्देशन रहेको हिजो आज भोलिमा श्रीधर खनाल, भुवन चन्द, मित्र लाल, शान्ति मास्के र उत्तम नेपालीको प्रधान भूमिका छन्।

मनको बाँध

नेपाल सरकारले रोयल नेपाल फिल्म कर्पोरेशन स्थापना गरेपछि बनाएको पहिलो फिल्म हो – मनको बाँध। प्रकाश थापाद्वारा निर्देशित यो फिल्म वि. सं. २०३० सालमा प्रदर्शनमा आएको थियो।

मनको बाँधका मुख्य कलाकारमा सल्यान के.सी. र सुष्मा शाही छन्। यसको सिरिजको रुपमा कुमारी ( पहिलो  रङ्गीन नेपाली फिल्म), सिन्दुर र जीवन रेखा रिलिज भएको थियो।

के घर के डेरा

प्रदिप रिमालको निर्देशनमा बनेको फिल्म के घर के डेरा वि. सं. २०४२ मा रिलिज भएको थियो।

यसको कथा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गोपाल राज मैनालीले संयतm रुपमा तयार पारेका हुन् ।

यसमा शर्मिला मल्ल, शान्ति मास्के, वसुन्धरा भुषाल, सुशिला रायमाझी, हरिप्रसाद रिमाल र कृष्टि मैनालीको मुख्य भूमिका छ।

जीवनरेखा
नेपाल सरकारले निर्माण गरेको १२ सफल चलचित्र मध्य एक हो –जीवनरेखा। प्रकाश थापाको निर्देशनमा बनेको फिल्म जीवनरेखा वि सं २०३७ मा रिलिज भएको थियो।
अभिनेता शिव श्रेष्ठ र अभिनेत्री मिनाक्षी आनन्द यसका मुख्य कलाकारहरू हुन् । 

सिन्दुर
रोयल नेपाल फिल्म कर्पोरेशनद्वारा बनाइएको अर्को नेपाली फिल्म सिन्दुर हो। विं सं २०३७ मा रिलिज भएको सिन्दुरलाई प्रकाश थापाले निर्देशन गरेका हुन् भने यसका मुख्य कलाकार अभिनेत्री मिनाक्षी आनन्द हुन्।

शान्तिदीप
२०५१ मा रिलिज भएको फिल्म शान्तिदीपले एक लाहुरेको कथा र देशमा शान्तिको लागि एक लाहुरेले दिने बलिदानको कथा भन्छ।

रोयल नेपाल फिल्म कर्पोरेशनबाट बनाइएको यस फिल्मलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार पुरण जोशी, अर्जुन जंग शाही, नविन श्रेष्ठ र मिथिला शर्माको मुख्य भूमिका छ। 

कुमारी

वि.सं. २०३४ मा रिलिज भएको फिल्म कुमारी रोयल नेपाल फिल्म कर्पोरेशनबाट बनाइएको पहिलो नेपाली रङ्गीन चलचित्र हो।

नेवारी समुदायमा देवीको रुपमा लिइने कुमारीको कथामा फिल्म बनेको छ। फिल्म कुमारीलाई प्रेम बहादुर बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा सल्यान केसी, चैत्य देवी र रत्न तुलाधरको मुख्य भुमिका छ।

 

प्रकाशित मिति: २०:०५ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्