Kathmandu Press

इन्द्रचोकको चीसो लस्सी

असन, इन्द्रचोकको जस्तो चीसो, मीठो र वास्नादार लस्सी काठमाडौंमा सायद अन्त कतै पाइँदैन
इन्द्रचोकको चीसो लस्सी
रिवाज राई

काठमाडौं–घरायसी सामान किन्न प्रायः असन बजार आइरहन्छिन्, गोकर्णश्वरकी अस्मिता श्रेष्ठ। असन आएपछि उनी इन्द्रचोकको चीसो लस्सी नखाई फर्किदैनन्। हालैको एक दिन पनि उनी लस्सी पसलतिर लम्किँदै थिइन्। 

पसलमा लस्सी खानेहरूको भीड थियो। भित्रबाट कोही कराउँदै थियो – आउनुस्, पुरानो लस्सी पसल यता हो।

लस्सीको स्वाद लिँदै अस्मिताले भनिन्, ‘असन आउनुको एक मात्र मजा भनेको यहाँको चिसो लस्सी खान पाइन्छ, अन्य ठाउँको भन्दा स्वाद नै बेग्लै।’

भिडियाे

अस्मिता मात्र होइन, उनीजस्ता थुप्रै व्यक्ति लागि असन इन्द्रचोकको लस्सी पहिलो प्राथमिकतामा पर्छ। सबै ग्राहकलाई सन्तुष्ट बनाएकै कारण इन्द्रचोकको लस्सी पसल सधैं व्यस्त हुने गरेको छ।

मान्छेहरूको भीड अनि जेठ महिनाको उखरमाउलो गर्मीका कारण पनि असन इन्द्रचोकमा आउने  प्रायः मान्छेको लत कोकाकोला, फ्यान्टा भन्दा लस्सीमा बस्न थालेको छ। 

इन्द्रचोकको लस्सी पसल गर्मी होस् वा  जाडो बाह्रै महिना सञ्चालन आउँछ। आकाश भैरब नजिक मन्दिरको धूपको भन्दा सधैं लस्सीको बास्ना बढी आइरहेको हुन्छ।

‘सिजनमा एकछिन् फुर्सद हुँदैन, पानी खान पनि पालो गर्ने गरेका छौँ।’

लस्सी व्यापारी सुनिलमान सिंह आफ्नै पसलमा । तस्वीरः रिवाज राई

दैनिक बिहान ९ देखि साँझ ८ बजेसम्म आकाश भैरब मन्दिर परिसरमा लस्सी खानेहरूको भीड लागिरहेको हुन्छ। अहिले गर्मीको मौसम भएकाले लस्सीको व्यापार थप उकालिएको छ। 

व्यापारीहरू कसौंडीमा घोलिएको लस्सी डाडुले उघाउँदै प्लास्टिकको गिलास भर्न व्यस्त हुन्छन्। लस्सी गिलासमा भर्न व्यस्त एक व्यापारी युवक भन्छन्,‘सिजनमा एकछिन् फुर्सद हुँदैन, पानी खान पनि पालो गर्ने गरेका छौँ।’

 लस्सी खानका लागि मान्छेहरू ठेलमठेल गरिहेका देखिन्छन्। तातोघामका बीच किनमेलपछि तिर्खाले व्याकुल बनाउँदा मान्छेहरू लस्सी पसल पुगेका हुन्छन्। 

‘असन आउनुको मजा यहाँको चिसो लस्सी खानमा छ, अन्य ठाउँको भन्दा स्वाद नै बेग्लै।’

इन्द्रचोकको मीठो लस्सी खाँदै ग्राहकहरू। तस्वीरः रिवाज राई

‘किनमेल गर्न बिहान नै आएकी थिएँ, तिर्खाले ओठ मुख सुक्यो। यहाँको लस्सीले आँत भरिन्छ,’ टोखा बस्ने रिना क्षेत्रीले भनिन्।

नयाँ लस्सी पसल थपिएपछि अहिले त्यहाँका व्यापारीमाझ प्रतिस्पर्धा निकै बढेको  बताउँछन्, स्थानीय व्यापारी। 

‘पहिला निकै कम लस्सी पसलहरू थिए, अहिले केही पसले थपिएकाले व्यापारमा केही कमी आएको छ,’ लस्सी व्यापारी सुनिलमान सिंहले भने।

इन्द्रचोकको मीठो लस्सी । तस्वीरः रिवाज राई

इन्द्रचोकको आकाश भैरबसँगै रहेको जनकपुरको लस्सी पसलमा पनि मान्छेको भीड निकै लागिरहन्छ। यस भीडबाट नै प्रष्ट हुन्छ कि इन्द्रको लस्सी सबैभन्दा प्रख्यात छ। मान्छेहरू त्यस्तो भीडमा पनि उभिएरै खाने  गर्छन् ठाउँ नभए पनि कसैलाई गुनासो छैन । यो पसल यसरी नै चलेको छ वर्षौंदेखि। 

इन्द्रचोकमा सुनिलमान सिंहले दस वर्षअघि पहिलो पटक लस्सी पसल थापेका थिए। ‘म पहिला चकलेट व्यापार गर्थें, चकलेटको व्यापारबाट खासै सन्तुष्ट हुन सकिरहेको थिइनँ। कसरी–कसरी लस्सी पसल गर्ने सोचमनमा पलायो र सुरु पनि  गरियो।’ 

उनका अनुसार त्यतिबेला लस्सी मात्रै बेच्ने पसल काठमाडौंमा निकै कम थिए। होटल, रेस्टुरेन्टमा मात्रै लस्सी पाइन्थ्यो तर प्रख्यात थिएन। 

इन्द्रचोकको मीठो लस्सी खाँदै एक ग्राहक। तस्वीरः रिवाज राई

अहिले लस्सी पसल रहेको ठाउँमा सिंह त्यो बेला चकलेट बेच्थे। व्यापार राम्रो थिएन । ‘सुरूमा त्यति राम्रो भएन तर विस्तारै व्यापार बढ्यो, अहिले लस्सी  धेरै ठाउँमा भएकाले व्यापार पहिलेजस्तो छैन।’

सुनिलमानले एक्लैले लस्सीको व्यापार चलाउन नसकेर सेक्युरिटी गार्डसहित पाँच जना स्टाफ पनि राखेका छन्। गार्डले भीड नियन्त्रण गर्छन् र आम मान्छेलाई लस्सीखान अनुरोध गर्छन्। 

सिंहको लस्सी पसलमा दिनको करिब तीन–चार सय लिटर दही, पाँचदेखि सात किलो काजु, पन्ध्र किलो किसमिस र सात किलो खुवा खपत हुन्छ। 

लस्सीमा प्रतिस्पर्धा निकै भएपछि उनले पसल दर्ता गराएका छन्। गिलासमा आफ्नो पसलको लोगो पनि राखेका छन्। ‘लोगो राख्दा पसल ब्रान्डेड हो भन्ने थाहा हुन्छ, सफा–राम्रो देखिन्छ, अन्य भन्दा फरक हुनु नै मेरो पहिचान हो,’ उनी भन्छन्।

उनको मासिक आम्दानी एक लाखदेखि एक लाख ५० हजारसम्म हुन्छ। सानो गिलास लस्सीलाई ४५ र ठूलोलाई ८० रुपैयाँ लिन्छन्।

‘प्रतिस्पर्धा निकै छ, त्यसैले दहीको गुणस्तरमा पनि ध्यान दिन्छौँ। दही अनुसारको लस्सी बन्ने भएकाले आफूले डेरीबाट नै स्पेसल दही ल्याउँछौं,’ उनले भने।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, जेठ १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्