एचआईभी जीवन, पोजेटिभ सपना
जन्मिँदै एचआईभी सङ्क्रमित जन्मिएकी र एड्सले बा–आमाको मृत्यु भएपछि टुहुरी बनेकी उनले नेपालकै सर्वोत्कृष्ट नृत्यांगना बन्ने अठोट लिएकी छिन्
काठमाडौं – उर्मिला विकको लक्ष्य अरू बालबालिकाको भन्दा फरक छ। एचआइभी संक्रमित भएर जन्मिएकोमा हिनताबोध पाल्नुभन्दा उदाहरणीय व्यक्ति बन्ने सोचमा छिन्, उर्मिला।
नेपालमा धेरै नृत्यांगना छन्। उर्मिलाले पनि एचआइभी संक्रमित पहिलो नृत्यांगना बन्ने लक्ष्य लिएकी छिन्।
उर्मिलाले जोस, जाँगर र हिम्मत जुटाएकी छिन्। उनी अध्ययनपछि दैनिक दुई घण्टा नृत्य सिक्छिन्।
कक्षा ७ मा पढ्दै गरेकी उर्मिला हिजोआज नृत्यमा कसरी पारंगत भइन्छ, त्यसैमा बढी केन्द्रित छिन्।
उनी भन्छिन्, ‘नहुनु जे थियो त्यो भइसक्यो। एचआइभी संक्रमित भएकोमा निराश हुनुभन्दा समाजमा केही काम गरेर उदाहरणीय व्यक्ति बन्न चाहन्छु।’
एड्सले टुहुरी
झन्डै पन्ध्र वर्षअघि उर्मिलाका बाबु कामको सिलसिलामा कैलालीबाट भारत गएका थिए। त्यहाँ उनी मोटर ग्यारेजमा काम गर्थे। केही समयपछि नेपाल आएर बिहे गरेका थिए।
बिहेपछि श्रीमतीलाई पनि सँगै लगेका थिए। उतै दुई छोरी र एक छोराको जन्म भयो। भारतमा जसोतसो गुजारा चलाइरहेका थिए।
छोराछोरी हुर्किने बेलामा बाबुलाई खुट्टामा समस्या देखिन थाल्यो। खुट्टा सुन्नियो। भारतका विभिन्न अस्पतालमा धाए। तर, सन्चो भएन।
कमाउने व्यक्ति नै बिरामी भएपछि यो परिवारलाई त्यहाँ बस्न कठीन भयो। सहयोग गर्ने मान्छे कोही थिएनन्।
दस वर्षअघि बिरामी श्रीमान र छोराछोरी लिएर उर्मिलाकी आमा नेपाल फर्किन्।
त्यो समय उर्मिला जम्मा तीन बर्षकी थिइन्। बहिनी–भाइ टुकुटुकु हिँड्ने भएका थिए।
.jpg)
बाबुलाई ब्यथाले च्याप्न थाल्यो। आमाले कैलालीकै स्थानीय अस्पतालमा उपचारका लागि लगिन्। बारम्बार उपचार गर्दा पनि बीसको उन्नाइस भएन।
शरीर सुक्न थाल्यो। रोग पत्ता नलागेपछि अन्तिममा डाक्टरहरूले एचआइभी परिक्षण गर्न सल्लाह दिए।
रगत परीक्षण गर्दा एचआइभी पोजेटिभ देखियो। बाबुलाई एचआइभी भएको रिपोर्टले उनकी आमालाई झस्किइन्। उनले पनि परीक्षण गराइन्। रिपोर्ट त्यही आयो।
उर्मिलाका बाबु दिन प्रतिदिन गल्दै गए। केही समयपछि उनको मृत्यु भयो। आमालाई श्रीमान् गुमाउनुको पीडासँगै आफ्नो स्वास्थ्यको पनि पिर उतिकै थियो।

साना सन्तानहरुलाई पाल्नुपर्ने जिम्मेवारी काँधमा थियो। उर्मिला र उनका भाइबहिनीलाई पनि विस्तारै बिसञ्चो हुन थाल्यो।
उपचारका लागि उनकी आमाले अस्पताल लगिन्। अन्तिममा उर्मिला र उनका भाइबहिनीलाई पनि एचआइभी देखियो।
बाबुको मृत्यु भएको दुई वर्ष नपुग्दै आमाको पनि मृत्यु भयो। उर्मिला र उनका भाइबहिनी टुहुरा हुन पुगे।
.jpg)
उर्मिला ५ वर्ष, बहिनी ३ र भाइ एक वर्षका थिए। ती साना नानीबाबुलाई मामा घरकी हजुरआमाबुबाले पाल्न लगिन्।
उर्मिला २ र बहिनी १ कक्षामा पढ्दै थिए।
सामाजिक तिरस्कार
उमेर बढ्दै गएकाले उर्मिला समाजसँग परिचित हुँदै थिइन्। मामा घरमा बस्न त्यति सजिलो थिएन। उनीहरूलाई गर्ने व्यवहार फरक थियो। ‘एचआइभी संक्रमित व्यक्तिहरूको रगत कालो हुन्छ भन्नेसम्म कुराहरू सुन्न परेको थियो,’ उर्मिलाले दुःख पोखिन्।
एचआइभी संक्रमित बालबालिकाको पालन पोषण र शिक्षाका निम्ति काठमाडौंमा बेबी लाइफ होम नामक संस्थाले संरक्षण गर्दै आएको रहेछ। समाचारमा सुनेको भरमा ती संस्थाका व्यक्ति उनीहरूलाई लिन कैलाली पुगे।
.jpg)
उर्मिला आफ्नो जिल्ला छोडेर काठमाडौं आइन्, भाइबहिनीसाथ। आफ्नो परिवारबाहेक अरू कसैलाई एचआइभी संक्रमित भएको नसुनेकी उर्मिलाले त्यहाँ आफूजस्तै साथी भेट्टाइन्। बेबी लाइफ होममा उनीजस्ता २६ जना छन्।
‘सँगै खाने, बस्ने, पढ्ने गर्छौं,’ उनी भन्छिन्, ‘दुःख–सुख साटासाट गर्छौं।’
नमूना आत्मविश्वास
कीर्तिपुरको भत्केपाटीमा बेबी लाइफको कार्यालय छ। त्यहीँभित्रै कक्षा १० सम्म पढाइ हुने एचआइभी शिक्षा सदन स्कुल छ। संस्थाले निःशुल्क पालन–पोषण र अध्यापन गराइरहेको छ।
एचआइभी संक्रमित व्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ। त्यसका लागि दैनिक दुई पटक एआरटी नामक औषधी सेवन गर्नुपर्छ।
.jpg)
उर्मिला र उनका साथीहरू पनि नबिराइ दैनिक औषधी सेवन गर्छन्। यो औषधी सरकारले निःशुल्क वितरण गर्छ।
शरीरमा यस्तो प्राणघातक रोगसँग जुधिरहँदा पनि उर्मिलाको आत्मविश्वास स्वस्थ मान्छेमा झैं छ। समाजमा ‘नमूना’ बन्ने उनको उद्देश्य धेरैको जीवनमा प्रेरणा बन्न सक्छ।












