Kathmandu Press

सपनाको सहरमा साङ्गीतिक प्रस्तुति

११ तारिख साँझ हामी दुई कार्यक्रमस्थल पुग्दा हलमा निकै जना भेला भइसकेका थिए। छोटो औपचारिक कार्यक्रमपछि साङ्गीतिक कार्यक्रम सुरु हुने भयो। मैले राकेश गुरुङ भाइको सिर्जनाको ‘आयो ल्होछार’बाट आफ्नो प्रस्तुति सुरु गरेँ। त्यसपछि लगातार पाँचवटा गीत गाएँ।
सपनाको सहरमा साङ्गीतिक प्रस्तुति

११ जनवरी २०२५ को साँझ। हङकङको जोर्डनस्थित ब्लु ओशन रेष्टुरेन्टको हलमा आयोजक गुरुङ (तमू) समाज संखुवासभा हङकङको टोली हस्याङफस्याङ गर्दै कार्यक्रमको अन्तिम तयारी गरिरहेका थिए। फाट्टफुट्ट गर्दै मान्छेहरूको आगमन सुरु भयो। तमू ल्होछार शुभकामना आदानप्रदान कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका लागि म र साङ्गीतिक रियालिटी शो मेरो भ्वाइस युनिभर्स तथा भ्वाइस अफ नेपाल फेम्ड पछिल्लो पुस्ताको भर्सटायल गायक परेश राई दुई दिनअघि नै हङकङ पुगेका थियौँ।

उत्तर छिमेकी चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ १ जुलाई १९९७ अघि बेलायतको अधिनमा थियो र बेलायतले आफ्नो सेनामा भर्ती हुने गोर्खालीको मुख्य मुकाम नै हङकङ बनाएको थियो। ब्रिटिस गोर्खाको मुख्य मुकाम नै हङकङ भएको र त्यहाँ फ्यामिली सुविधा पनि दिइएकाले हजारौँ गोर्खाका सन्तान हङकङको भूमीमै जन्मिएका थिए। र, त्यसरी हङकङमा जन्मिएका गोर्खालीका सन्तानलाई हङकङको परिचय कार्ड दिने व्यवस्था गरिएका कारण हङकङमा ठुलो संख्यामा नेपालीहरू रहेका छन्।

हङकङ पूर्वी एसियाको एक व्यस्त र महत्वपूर्ण व्यापारिक केन्द्र हो। विभिन्नखाले व्यापार, व्यवसायसँगै पर्यटन पनि हङकङको मुख्य आकर्षण हो। हङकङमा पूर्वाधार विकासको क्रम पनि पहिलेबाटै निरन्तर चलिरहेको छ। यी सबै क्षेत्रमा प्रशस्त रोजगारीको अवसर रहेको छ भने कमाइका हिसाबले हङकङ निकै आकर्षक गन्तव्य हो। आम्दानी करको दर एकदमै न्यून भएका कारण हङकङमा रोजगारीमा रहनेहरू सकेसम्म बढी काम गरेर उच्च आर्थिक लाभ लिन प्रयत्नरत रहन्छन्।

Hardik ivf

IMG-20250113-WA0138-1737197016.jpg

मेरो गाउँ संखुवासभाको साविक मत्स्यपोखरी गाविस हाल चिचिला गाउँपालिकाका विभिन्न बस्तीबाट पचासको दशकको सुरुतिर फाट्टफुट्ट गुरुङ तथा राईहरू हङकङ जान थालेका थिए। त्यो क्रम विस्तारै बढ्दै गयो। पचासको दशकको मध्य तथा अन्त्यतिर आइपुग्दा त हङकङ जानेहरूका कारण गाउँ नै रित्तिन थाल्यो। उता हङकङमा आकर्षक कमाइ यता स्वदेशमा माओवादी सशस्त्र द्वन्द्वका कारण गाउँ सुरक्षित छैन। पचासको दशकको मध्यदेखि साठीको दशकको मध्यसम्म आइपुग्दा मेरा पनि सँगैका साथीहरू धेरैजसो हङकङ पुगे।

खाँदबारी– ११, आङ्लाका मनिराज गुरुङसँग मेरो पहिलोपटक २०५९ मा गाउँबाट काठमाडौँ घुम्न आएको बेला संखुवासभा तमू समाज सेवा समितिले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा भेट भएको थियो। गीत–सङ्गीतलाई अत्यन्तै माया गर्नुहुने उहाँले नै मलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्न हौसला दिनुभयो। मलाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न निरन्तर हौसला दिनुहुने तथा गाइड गर्नुहुने क्रममा भएको सघन उठबसले हामीलाई मायाको डोरीमा बाँध्यो। अन्ततः २०६० को जेठमा ललितपुरको लिटिल एन्जल्स स्कुलमा अध्यापन गर्नुहुने उहाँसँग मेरो लगनगाँठो कसियो।

विदेश त्यसमा पनि हङकङ सपना मेरो मनको एउटा कुनामा थियो तर उहाँ विदेश जाने भनेपछि ‘ब’ पनि उच्चारण गर्न चाहनु हुन्न। उहाँ भन्नुहुन्छ, ‘म शारीरिक रूपमा खटेर कठिन काम गर्न सक्दिनँ र मसँग त्यस्तो विशेष सिप पनि छैन। त्यसैले म रोजगारीका लागि विदेश जान्नँ। कुनै दिन पैसा राम्रै कमाइएछ भने घुम्ने उद्देश्यले जाउँला।’ मेरो विदेश सपना उहाँको विचारसँगै सति गयो। तर उहाँ भन्नुहुन्थ्यो, ‘रेडियो नेपालबाट भ्वाइस टेष्ट पास गरेकी छ्यौ। प्रत्यक्ष (लाइभ) दोहोरी गाउन सक्छौ। गीत–सङ्गीतको क्षेत्रमा मिहिनेत गर। कुनै दिन साङ्गीतिक प्रस्तुतिका लागि हङकङ टेकाउन सक्दो पहल गर्नेछु।’

२०६१ मा प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी प्रतियोगितात्मक लोकगीत सम्मेलनमा उत्कृष्ठ १० भित्र पर्दै स्वर परीक्षा पास गरेकी मेरो २०६२ सालमा भिरमाथिको गाउँ नामक लोकदोहोरी एल्बम बजारमा आएको थियो। टीका चाम्लिङ दाइको शब्द र पारस मुकारुङ दाजुको सङ्गीत रहेको शीर्ष गीत भिरमाथिको गाउँ निकै चल्यो। तर मैले मेरो साङ्गीतिक यात्रालाई निरन्तरता दिन सकिनँ। २०६५ मा छोरो जन्मिएपछिका करिब १२ वर्ष म चुपचाप बसेँ।

२०७६ मा मैले मधु (रत्नदेवी) गुरुङ (२०७० सालको संविधानसभा सदस्य) दिदीको शब्द र सङ्गीतमा ‘सुनमाया’ बोलको गीत गर्ने अवसर पाएँ। त्यो गीति रेकर्ड गराउन उहाँले मलाई धेरै गाइड गर्नुभयो। नाताले मेरो आमाजु दिदी उहाँले दिनुभएको त्यो गीतले नै मलाई साङ्गीतिक क्षेत्रमा पुनरागमन गरायो। आफ्नै युट्युब च्यानल खोलेर गीत अपलोड गरेँ। त्यो गीतको सफलतासँगै मैले थप आधा दर्जनभन्दा बढी गीत रेकर्ड गराएँ। मेरो कर्मघर रहेको खाँदबारी नगरपालिका र जन्मघर रहेको चिचिला गाउँपालिकाबाट सम्मानित भएँ। आधा दर्जनपटक जिल्लामा साङ्गीतिक प्रस्तुति लिएर पुग्ने अवसर पाएँ। भारतको सिक्किमसम्मको यात्रा सङ्गीतले नै गरायो।

473545821_992965529381916_7511206533508653662_n-1737197018.jpg

अब थाँती रहेको सपना थियो, ठुलो जहाज चढेर साङ्गीतिक प्रस्तुति दिन समुद्रपारि पुग्ने। कमाइ छैन। बालुवामा पानी खन्याएको जस्तो मात्र भइरहेको छ। कति पो थेग्न सकिएला। मनमा यस्तै यस्तै तर्कना आउँथे। तर गएको असारतिर संखुवासभा समाज हङकङका सचिव मणिशेखर भाइले मेसेन्जरमा कल गर्नुभयो र भन्नुभयो, ‘ल भाउजू, संखुवासभा समाज हङकङले तिहारको छेको पारेर आयोजना गर्ने देउसी–भैलोमा तपाइँ र परेश राईलाई हङकङ बोलाउने निर्णय गरेको छ। दाजुलाई पनि त्यही सुनाइ दिनुहोला।’

दिनभर स्कुलमा रहनुहुने मेरा श्रीमान्लाई घर आइपुग्ने बित्तिकै मैले ‘मणि भाइलाई फोन गर्नु अरे’ भनेर सुनाएँ। उहाँहरूबिच लामै कुराकानी भयो। उहाँलाई संखुवासभा समाजका अध्यक्ष लिला भाइ र मनोज काकाले पनि सम्पर्क गर्नुभयो। समाजले हामी दुई जना कलाकारको नेपालबाट गर्नुपर्ने आवश्यक डकुमेन्टेसनको काम गर्न पनि उहाँलाई नै जिम्मा दिएको थियो। सामान्यतया हङकङ भिसा प्रक्रिया ४ देखि ६ हप्ता लाग्ने रहेछ। तर भिसा अप्लाई गर्नेबेलामा भएको एउटा साना गल्तीले २३ नोभेम्बरमा राखिएको देउसी–भैलो कार्यक्रममा हामी जान पाएनौँ। तर संखुवासभा समाज हङकङ र गुरुङ (तमूं) समाज संखुवासभा हङकङको संयुक्त बैठकले गुरुङ (तमूं) समाज संखुवासभा हङकङले जनवरी ११ मा आयोजना गर्न लागेको तमू ल्होछार शुभकामना आदानप्रदान कार्यक्रममा बोलाउने र भिसा प्रक्रिया निरन्तर राख्ने निर्णय गरेछ। अन्ततः २४ डिसेम्बरमा हाम्रो भिसा अप्रुभ भयो।

भिसा त लाग्यो तर अब मेरो प्रस्तुति कस्तो रहने हो। दर्शक–स्रोतालाई भरपुर मनोरञ्जन प्रदान गर्न सकिएला कि नसकिला। साङ्गीतिक प्रस्तुति लिएर विदेश यात्रा मेरो श्रीमान्को करिब दुई दशकदेखिको सपना थियो। यता पहिलोपटक विदेश जाँदैछु। इमिग्रेसनमा के के सोध्ने हो ? मनमा धेरै कुरा खेलिरहेका थिए। आयोजकलाई के विशेष कोसेली लगिदिने हो ? हङकङभरि आफन्तै आफन्त छन्। उनीहरूले के लगिदिने हो ? तमू (गुरुङ) कलाकार सङ्घको कार्यसमिति सदस्य भएकीले काठमाडौँको टुँडिखेलमा आयोजित ल्होछारमा ड्युटी थियो। काठमाडौँको ल्होछारलगत्तै सिक्किमको पारखामा आयोजित तमू ल्होछार बृहत कार्यक्रम पनि भ्याउनु थियो। यसरी ब्याक टु ब्याक कार्यक्रम र त्यसको धपेडीले पनि तयारी राम्रो गर्न पाइरहेको थिएन।

जनवरी ८ को साँझ हङकङको राष्ट्रिय ध्वजाबाहक जहाज क्याथे प्यासिफिकको उडानबाट हङकङ उड्यौँ। विमानस्थलमा जुन डर पालेर गएकी थिएँ, परेश भाइका कारण त्यो अत्यन्तै सहज भयो। इमिग्रेसनमा पासपोर्ट चेक गर्न बसेका कर्मचारीले परैबाट हामीलाई बोलाए। उनले परेशलाई रियालिटी शोको यात्रा अघि बढाउन भोट पनि हालेका रहेछन्। एकप्रकारले भन्नुपर्दा उनी परेश भाइका फ्यान रहेछन्। हामीलाई निकै सहज भयो।

IMG-20250113-WA0128-1737197017.jpg

जहाजमा उपलब्ध गराइएको खानामा मैले दुबै जनाको भागको सलाद खाएँ। तर दुर्भाग्य ७ देखि १० तारिखसम्म क्याथेको उडानमा उपलब्ध गराइएको खानामा, त्यसमा पनि सलादका कारण धेरै जनालाई फुड प्वोइजन भयो। मैले पनि दुई प्लाष्टिकभरि वान्ता गरेकी थिएँ। हङकङ विमानस्थलमा जहाज ल्याण्ड गर्नेवित्तिकै जहाजमा माइकिङ भयो। बिरामी परेकाहरूलाई अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा थियो। डाक्टरहरू आएका थिए। पहिलोपटक साङ्गीतिक प्रस्तुतिका लागि हङकङ उत्रँदै छु। हालत यस्तो छ। मनमा यति तनाव भयो कि अब के गर्ने होला। कठिन त भइरहेको थियो तर उता प्रस्तुति दिन नपाइएला भनेर ‘आइ एम ओ के, आइ एम भेरी फाइन’ भनिदिएँ। ठमठम हिँड्ने प्रयास गरेँ। अन्ततः हङकङको भूमी टेकियो। वान्ता धेरै भएकाले सम्भवतः खानामा रहेको प्वोइजन सबै निस्कियो होला। जयप्रकाश (जेपी) दाइको घरमा पुग्दा म निकै फ्रेस भइसकेकी थिएँ।

११ तारिखको साँझ हामी दुई जना कलाकार कार्यक्रमस्थल पुग्दा हलमा निकै जना भेला भइसकेका थिए। छोटो औपचारिक कार्यक्रमपछि साङ्गीतिक कार्यक्रम सुरु हुने भयो। समाजका सदस्य भाइबहिनीहरूको केही नृत्य प्रस्तुतिपछि कार्यक्रम सञ्चालक मणिशेखर भाइले मलाई स्टेजमा बोलाउनु भयो। मैले राकेश गुरुङ भाइको सिर्जनाको ‘आयो ल्होछार’बाट आफ्नो प्रस्तुति सुरु गरेँ। त्यसपछि लगातार पाँचवटा गीत गाएँ। मेरो प्रस्तुतिपछि परेश भाइको पालो आयो। उनले ब्याक टु ब्याक राम्रा डासिन्ङ गीतहरू प्रस्तुतिको बिचमा मलाई बोलाए। अनि हामी दुई जनाले ‘दिलको दरबार’ बोलको गीत गायौँ। मैले थप दुई वटा गीति गाएँ। त्यसपछिको दुई घन्टाभन्दा बढी सयम परेश भाइले धाने।

हामी कलाकारले त आफ्नोतर्फबाट सक्दो मनोरञ्जन दिने प्रयास ग¥यौँ। कार्यक्रममा उपस्थित सबै जना र आयोजक पनि धेरै खुशी भएको महसुस ग¥यौँ। हामीले आयोजकलाई, दर्शक–स्रोतालाई कति सन्तुष्ट बनाउन सक्यौँ त्यो त उहाँहरूले भन्ने कुरा हो। तर आयोजक र समस्त दर्शक–स्रोताको माया र सम्मानले हामीलाई साँच्चै नै ऊर्जा दिएको छ। अझ राम्रो गर्न गहन जिम्मेवारी थपिएको महसुस गरेकी छु। हङकङमा पाएको माया ‘फस्र्ट लभ’ हो। त्यसैले हङकङले दिएको माया कहिल्यै भुल्न सक्दिनँ।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, माघ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्