दशैंकाे भाग
फूलपातीको बेलुकी दिलजंग ओछ्यानमा आएर पल्टियो। अनि मनमनै भन्यो–‘मैले सबैलाई सम्झिए दशैंमा।’ दिलजंग मनमनै गुनगुनाइरहेथ्यो –‘सबैलाई दशैंको भाग पुर्याएँ। अब मेरो भाग मै हुँ।’ उसले राति आएर पसिना पुछ्यो र भन्यो – ‘ए, भोलि त टीका पो होला त है !’असोज लागेदेखि नै व्यस्त छ दिलजंग
दिलजंग मगरले कोरिया टेकेको ठ्याक्कै नौ वर्ष भएछ। नौ वर्षदेखि नै ऊ दशैंमा निकै रमाइलो गर्छ।
अघिपछि मतलब नगरे पनि दशैंमा ऊ गाउँघरका, आफन्तको र साथीहरूको खुबै खोजीनिती गर्छ।
‘बल्ल पो फोन लाग्यो !’
‘सानिमा पीर नगर्नु। म भएपछि के पिरलो गर्नु भएको ? तपाईको छोरो मरेको छ र ? म तपाईलाई एक जोर लुगा हालिदिउँला। बरु कस्तो रङको लुगा हाल्ने हो। छानिहाल्नु है। पछि दर्जीले सिउन पनि नभ्याउलान्, नौरथामा त उनीहरू व्यस्तै हुन्छन् नि।’
दिलजंगले माइली सानीमालाई फोनमा भन्यो।
‘म पैसा पठाउँछु यै हप्ता !’
कृषिफार्ममा ऊ काम गर्छ। रेल चढेर जाँदा एक घन्टा जति फुर्सद हुन्छ। त्यै बेला ऊ सबैलाई सम्झना गर्न भ्याउँछ।
‘मामा, दशैं त आयो पो !’
‘पोहोर मैले केही किन्दिन सकिनँ। यो पालि एक जोर ट्रयाकसुट पठाइदेको छु। अलिक लामो पो हुन्छ होला। तलको सुरुवाल चैं अलिक छोट्याएर लगाउनु है। अनि फोटो खिचेर पठाउनु नि यो भान्जालाई।’
‘मामा, दशैंमा चोखो लुगा लाउनु भन्छन्। ठ्याक्कै दशैंको टीकाको दिनमा मात्र लगाउँनु है। यो गुलाबी रङको छ। पक्कै मन पर्ला तपाईलाई मामा। फूलपातीसम्ममा त हात पर्ला। गम्भीरेलाई पठाको छु। चोकबजारको गम्भीरे क्या। तपाईलाई उसले मज्जैले चिन्छ।’
फोनमा उसले मामालाई दशैंको उपहार पठाएको खुशीमा अझै खुशी भयो। अनि आफ्नै तालमा फुसफुसायो – यति भएपछि मामालाई पनि पुग्यो !’
रेल गुडिरहेको छ।
‘अझै बीस मिनेट बाँकी छ। रेल रोकिनलाई। ’
‘यै बेला काकालाई नि सम्झनुप¥यो।’
दिलजंगले काकालाई फोन गर्यो। अरु धेरै कुरा भए उसका। काकाले पनि उसलाई निकै सम्झना गरे।
‘काका, दशैंमा अरुथोक पठाउन सकिन। एकजोर बाटाको जुत्ता किन्ने खर्च पठाइदिएको छु। साथीले हात पारिदिन्छ तपाईलाई।’
‘टीकाको दिन हजुबाको हातको टीका थाप्न जाँदा लगाउनु होला।
‘मैले किन्दा र हिजोआज कत्तिको भाउ फरक छ थाहा छैन। तर मैले पठाएको पैसाले पुग्छ होला।’
‘काकाले हजुरबालाई भनिदिनु होला– मैले पैसा पठाएर किनेको बाटाको जुत्ता भनेर। हजुरबालाई पक्कै खुशी लाग्नेछ।’
‘काका, दशैंको दिनमा जुत्ता लगाएको फोटो खिचेर पठाइदिनु है।’
रेल पनि रोकियो।
दिलजंग फटाफट उत्रेर फार्मभित्र पस्यो। दिनभरि ऊ काममै व्यस्त भयो। बेलुका फर्किदा उसले चिनेको साथीको गाडी पायो। त्यसमै फर्कियो ऊ। अनि बाटोमा फुपूलाई सम्झियो।
‘तपाईलाई त दशैं आयो कि सम्झन्छु म फुपू। सानैमा फुपा बिते। छोराछोरीले पनि तपाईलाई छोडिहाले।’
‘फरिया किन्ने पैसा पठाएको छु। यै हप्ता आइपुग्ला। किनेर लाउनु। मनपरेको किन्ने पैसा पठाएकै छु। पुग्छ त्यो पैसाले। नेपालको बजार भाउ बुझेरै मैले पैसा पठाको छु।’
‘फुपू कुनै बेला तपाईकै लामो म्याक्सी काटेर मलाई दशैंको सर्ट हातैले हालिदिएको हिजै जस्तो लाग्छ। अनि त्यो हिजोलाई सर्लक्क कसरी बिर्सनु मैले।’
उसले फोन राख्ने बेलामा भन्यो –‘फरिया लगाएर फोटो खिच्नु। सानी केटी छ नि पल्ला घरकी। त्यसलाई भनेर खिच्नु। त्यसले मलाई फोटो पठाउँछे। म त्यसलाई पठा भन्छु है फुपू।’
राति सुत्ने बेलामा साथीहरूले भने–‘कोठामा चैं फोन नगर्नु है ब्रो !’ ‘बोर हुन्छ क्या !’
दिलजंगले काममा जाने बेलामा र फर्किदा नै आफ्नो सम्झिने समय छुट्याएको छ।
‘मितबुवालाई दशैंको निहुँ गरी सम्झें है मैले।’
उसले फोनमा धेरै कुरा सोध्यो।
मितबुवाले पनि धेरै कुरा बताए। गाउँघरमा धेरै परिवर्तन भएको कुरा उसले सुन्यो। घर जाने बेलाको खोलामा पुल बनेको कुरा सुनेर ऊ निकै खुशी भयो,
‘बुवा दशैं सबैलाई लाग्छ। मैले दौरा सुरुवाल हाल्ने खर्च पठाईदिएको छु। खर्च पाएपछि लुगा सिउनु होला।’
‘गाउँका लुगा सिउनेलाई कामको चटारो होला। बजारमै गएर सिउनु होला। टीकाको दिन लुगा लगाएर टीका थाप्नु होला।’
धेरै वर्षदेखि बुवा तपाईले एकै जोर लुगामा दशैं मनाइरहेको देखेको छु। यो पालि चैं नयाँ लुगा लाउनु होला।’
‘नयाँ दौरा सुरुवालमा टीका लाउनु लाउनु लाउनु ,अनि.......!’
‘अनि फोटो पनि खिच्नु। तपाईले नजाने पनि अरुले मेरो ठेगानामा सजिलै पठाउँछन् बुवा। खिचिदे भन्नु नि। भन्नु चैं पर्छ। हिजोआज जल्ले नि खिचिदिन्छन्।’
मितबुवालाई फोनमा उसले सम्झायो।
दिलजंगले धेरै दिनदेखि फोन गरेर पनि नलागेको थियो – अन्तरे भाइको। मामाको छोरोलाई खोइ किन हो सबैले अन्तरे भाइ भन्थे। ऊ गाउँकै भाइ थियो।
दाइले पनि भाइ र भाइले पनि भाइ नै भन्थे। लामै समय कतार बसेर फर्किदा अन्तरेले मेसिनमा एउटा खुट्टा च्यापेर फर्किएको हुनाले दिलजंगले बढी नै सोधपुछ गरिरहन्थ्यो।
बल्ल आज फोन लाग्यो।
‘किन, फोन नलागेको अन्तरे भाइ ?’
उसले सोध्यो।
‘खुट्टो काट्नु भो। घाउ आएको आएकै भो। त्यै बुझ्न सिलगढी, भारत गएथें। उता त फोन नलाग्ने नै भो नि !’
अन्तरेले भन्यो।
‘हेर भाइ दशैंमा तिमीलाई धेरै कुरा पठाउन सकिन। एकजोर दामी जुत्ता पठाइदिएको छु। तिमी नांगै खुट्टाले यताउता गरेको देखेको थिए। त्यै भएर मन मानेन। यो दशैंमा त्यै जुत्ताले भए पनि टीका थाप्न जानु।’
‘हाम्रो घरमा पनि पस्नु है। टीकाको दिन नै गएमा आमाबुवालाई खुशी लाग्छ। जाँदा खेरी त्यही मैले पठाएको जुत्ता लगाएर जानु।’
‘सुन त, फोटो खिचेर पठाउनु है। कस्तो सुहाउँदो रहेछ हेर्न मन छ मलाई।’
अन्तरेलाई निकै दिनपछि मात्र फोन लागेकोमा ऊ निकै खुशी भयो, आज पनि ऊ काममा जाँदै गर्दा फोन गरिरहेको थियो।
फोन राखिसकेपछि पो दिलजंगले सम्झियो –‘अन्तरे भाइको त एउटा मात्र खुट्टा छ त। एक जोर जुत्ता पो पठाएँ त मैले। उसले फोटो खिचेर कसरी पठाउला ?’
उसलाई निकै थकथकी लाग्यो।
हिजो बिहानै त हो –दिलजंगले भाउजुलाई पनि फोन गरेथ्यो। फोनमै भाउजुहरूको दुईजना छोराछोरी स्कुल जाँदा खोलामा बगेर मरेपछि त्यै पीरले आमा मर्नु भयो।
मामा मरेपछि माइजु पनि बिरामी परिरहनु भयो।
‘भाउजू जे हुनु भइगो। अब फर्केर आउँदैनन्। यो दशैंमा पनि तपाईसँग भेट नहुने भो। घर एक्लै होला तपाईको। केटाकेटीमा त त्यो घरमा म कति आउँथे कति।’
‘बारीमा फलेका केरा, नास्पाती र कागती खुबै टिप्थे म।’
‘भाउजू तपाईलाई चस्मा चाहिएको मैले सुनेको थिएँ। चस्मा किन्ने पैसा मैले गाउँकै साथीलाई दिएर पठाएको छु। तपाईले दशैंमा नयाँ चस्मा फेर्नुहोला। तपाईको उपचारका लागि पनि त्यो पैसा खर्च होस् भन्ने मेरो ईच्छा छ।’
‘आँखा नभएर संसार गयो। यस्ता धेरै चाँडबाँड हेर्ने आँखालाई सघाउ पुगोस् मैले पठाएको पैसाले।’
‘भाउजूको दशैं राम्रो होस्। अनि चस्मा लगाएर फोटो चैं खिच्नु है।’ ‘मलाई हेर्न मन छ। टीका लाउन जाँदा नयाँ चस्मा लाउनु है भाउजू।’
दिलजंगले आफूलाई सा¥है माया गर्ने भाउजूलाई ख्याल गर्यो।
आज बिहानै उसले बुवालाई फोन गर्यो। बुवाले भनेको कुरा फोनमा बुझिएन। आमासँग पनि उसको राम्रो कुरा भएन।
‘आमा, दशैंका लागि पठाइदिएको छु पैसा। त्यो पैसाले कानको एरफोन चै हालिहाल्नु है। तपाईका लागि त्यै भो उपहार दशैंको।’
‘सुन्नु भो आमा।’
दिलजंगले फोन राख्ने बेलामा भन्यो–‘आमा, एअरफोन लाएर फोटो चैं खिच्नु नि।’
‘मैले आमाको एअरफोन त हेर्नु प¥यो नि।’
फूलपातीको बेलुकी ऊ ओछ्यानमा आएर पल्टियो। अनि मनमनै भन्यो–‘मैले सबैलाई सम्झिए दशैंमा।’
नवमीको रातितिर ऊ क्वार्टरमा आइपुग्यो। आज अरुको पनि काम साटेर उसले गरेकोले ऊ निकै थाकेको थियो। ऊ थाकेर पुरै गलेको थियो।
दिलजंग मनमनै गुनगुनाइरहेथ्यो –‘सबैलाई दशैंको भाग पु¥याएँ। अब मेरो भाग मै हुँ।’
उसले राति आएर पसिना पुछ्यो र भन्यो – ‘ए, भोलि त टीका पो होला त है !’
अनि रातो रङ र चामल मुछेर ठीक पार्यो प्लास्टिकको थालमा।
‘आफ्नै हातले टीका लाएर फोटो पोस्ट्याउनु पर्ला फेसबुकमा। फोटो खिच्ने नि छैनन् कोठामा !’
उसको मनमा एउटा बेग्लै खालको गाँठो प¥यो।