असफल राज्य प्रणाली
२३ वर्षअघि काभ्रेको भुम्लुमा जन्मिएका अञ्चल उप्रेती अझै अनागरिक छन् । विगत ७ वर्षदेखि नागरिकताका लागि संघर्ष गरिरहेका छन्, नागरिकता नहुँदा उनले उच्च शिक्षा हासिल गर्न समेत पाएका छैनन् ।राज्य र सरकार व्यवहारिक भएर विवेकपूर्ण ढंगले चल्न र जनतालाई न्याय तथा छिटोछरितो अनि भरपर्दो सेवा दिनबाट चुक्योभने जुनसुकै व्यवस्था अर्थात लोकतन्त्र या गणतन्त्र जे भएपनि आमनागरिकमा व्यवस्थाप्रति नै वितृष्णा जाग्छ नै।
यस्तै, वितृष्णाको एउटा उदाहरण हुन्, अञ्चल उप्रेती। २३ वर्षअघि काभ्रेको भुम्लु गाउँपालिका वडा नं ७ मा नेपाली बाबु–आमाबाटै जन्मेका अञ्चल अझै अनागरिक छन्। उनले विगत ७ वर्षदेखि नेपाली नागरिकता पाउन अनुनयविनय गरिरेका छन्, नागरिकताबिना गरिखाने र उच्च शिक्षा हासिल गर्ने बाटो सबै बन्द भएकै कारण उनी पीडामा छन्।
लोकतन्त्र स्थापना हुनासाथ २०६३ मंसीर १० मा नागरिता ऐन ल्याएर लाखौं लाख विदेशीलाई नागरिकता वितरण भएको अनुमान छ। त्यसरी नेपाली नागरिकता लिएका बिदेशीहरुका सन्तानहरुलाई वंशजको नागरिकताको लागि सहज बनाउन फेरि २०७४ तिर अर्को नागरिकता विधेयक ल्याउन प्रयास भयो। तर प्रतिनिधिसभा अन्तर्गत संसदीय विषयगत समितिमा सहमति नजुटेपछि संसदमै विचाराधिन रहेकै अवस्थामा २०७६–७७ तिर गृहमन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरि नागरिकता वितरण भयो।
सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतको आदेशबाट ७ दिनपछि उक्त काम रोकिन्छ। रोकिएको सोही नागरिकता विधेयक विवादै विवाद र संसदमै रहेका प्रतिपक्षी दललगायत आमसर्वसाधारणबाट समेत विरोध हुँदाहुँदै पनि संसदमा उपस्थित संख्याको बहुमतको आधारमा जबरजस्ती पास गरि प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाइयो। उक्त विधेयकमा विपक्षी दल र नागरिकहरुलको असहमति देखिएपछि तत्कालीन राष्ट्रपतिबाट संसदमै फिर्ता हुन्छ र यसरी फिर्ता विधेयक फेरि दोस्रोपटक संसदबाट पास गरि राष्ट्रपति समक्ष पठाइयो। २०७९ भाद्रमा फेरि पनि राष्ट्रपतिबाट उक्त विधेयक प्रमाणीकरण भएन।
यसैबीच २०७९ को निर्वाचनपछि पनि नयाँ संसदबाट अनुमोदन नगरि पुरानै विधेयकलाई अघिल्लो संसदकै सभामुख र अघिल्लो राष्ट्रपतिकै नाम उल्लेख भएको विधेयक २०८० सालमा हालको राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ। यसरी ल्याइएको नागरिकता कानुनको फाइदा वास्तविक मुलबासी नेपालीको लागि हुन सकेको छैन। त्यही ऐनबाट काभ्रेमा तिब्बतीयन नागरिक दावा छिरिङलगायतले सजिलै नेपाली नागरिकता लिए, तर नेपालीको हालत जस्ताको त्यस्तो छ।
नागरिकताबाट बञ्चित उप्रेती बारे तथ्य
भुम्लु–७ (साबिक फलांटे ८) बस्ने शेरबहादुर तामाङको नातिनी, रामबहादुर तामाङको छोरी सरिता कुमारी तामाङको भुम्लु १ (साबिक सापिङ गाबिस ९) बस्ने गोरखबहादुर लामाको छोरा गणेश लामासँग २०४९ साल मंसीरमा विवाह हुन्छ र २०५४ सालको सुरुवातदेखि नै उनीहरूबीच सम्बन्ध बिग्रन गई असमझदारी बढेपछि फागुन महिनादेखि आफ्नै माइतीघर गई बस्दै आएकोमा भुम्लु ७ (साबिक फलांटे–७) बस्ने रत्नमणी उप्रेतीको नाति, रामप्रसाद उप्रेतीको छोरा चिन्ताहार उप्रेतीसँग प्रेम सम्बन्धबसी सरिता तामाङले निज चिन्ताहार उप्रेतीसँग मिति २०५७ असोज ७ गते दोस्रो विवाह गर्छिन्।
विबाह पश्चात उप्रेती परिवारले स्विकार नगरेपछि भारतमा नोकरी गर्ने चिन्ताहार उप्रेतीले कान्छि श्रीमती सरितालाई पनि भारतमै लैजान्छन् । केही महिना उतै राख्छन्। यहीबीचमा उनै चिन्ताहार उप्रेतीबाट सरिता गर्भवती हुन्छिन्। केही महिना भारतको बसाइपछि सरितालाई चिन्ताहार उप्रेतीले फर्काएर माईतीमा छाडिदिन्छन्, र भारत फर्कन्छन्। त्यसको केहीमहिनापछि चिन्ताहारलाई घरतर्फबाट बोलावट हुन्छ, उनी नेपाल फर्केको केही दिनमै अर्थात मिति २०५७ चैत १२ गते उनको शंकास्पद मृत्यु हुन्छ।
दुवै पक्षले एक अर्को पक्षलाई हत्याको आरोप लगाई मुद्दा चल्छ। तर अदालतले खासै कसैलाई दोषी ठहर गर्दैन। त्यसपश्चात २०५८ असार ३१ गते सरिता तामाङले छोरा अञ्चल उप्रेतीलाई जन्म दिन्छिन्। त्यसपछिको उनको दिनहरू पिडादायक रुपमा बित्दै जान्छ। बच्चा हुर्कंदै जान्छ तर सम्बन्धित उप्रेती परिवारले आफ्नो मान्छेको मृत्युको कारण देखाई स्विकार्दैन। यो विषय वडाबासी प्राय सबैलाई थाहा भएकै कारण जन्म दर्ता नभए पनि स्थानीय विद्यालयले निज अञ्चल उप्रेतीलाई भर्ना गरि १२ कक्षासम्म अध्ययन गराउँछ र प्राप्त शैक्षिक प्रमाण पत्रमा बाबुको नाम चिन्ताहार उप्रेती नै उल्लेख छ। उनलाई नागरिकता प्राप्त गर्नको लागि आवश्यक पर्ने नाता प्रमाणित, नागरिकताको सिफारिस, वडाबासीको सर्जिमिन मुचुल्का प्रहरीको रिपोर्ट बोकेर भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलसहित जिल्ला प्रशासन काभ्रे आउँदा प्रशासनले थप कागजाद बाबु चिन्ताहार उप्रेतीको मृत्यु दर्ता र आमा–बाबुको विवाह दर्ता लिएर आउन भन्छ।
फेरि वडाले चिन्ताहार उप्रेतीको मुत्यु भएको विषय तथा सरिता तामाङ र चिन्ताहार उप्रेतीको विवाह प्रमाणित गरिदिन्छ । ती थप काजाद लिएर आउँदा प्रशासनले निजलाई नागरिकता दिन आनाकानी गर्छ र यो विषयमा संक्षिप्त रुपमा छिटफुट समाचारहरू पनि आउँछन्। यस विषयमा नागरिकता कनुन अध्ययन गरेका एसके तिमल्सिना र सत्य न्यायको खोजी अभियानका अध्यक्ष वरिष्ठ अधिबक्ता ध्रुबलाल श्रेष्ठ दुवैले निज अञ्चल उप्रेतीलाई नागरिकता जारी गर्न कानुनी बाधा नरहेको सुझाव जिल्ला प्रशासन काभ्रेलाई दिइसकेको पाइन्छ।
जिल्ला प्रशासन काभ्रेको जिकिर यस्तो छ–
निज अञ्चलको आमा सरिता तामाङ उप्रेतीले पहिलो पति गणेश लामासँगबाट सम्बन्ध विच्छेद गर्दाको मिति अञ्चल जन्मभन्दापछि अर्थात मिति २०७९ साउन १२ गते भएकोले भन्नेछ। तर जिल्ला अदालत काभ्रेका तत्कालीन माननीय जिल्ला न्यायधिस मोहनराज भट्टराईको रोहबरमा दुबैको मेलमिलापको आधारमा सम्बन्ध विच्छेद गरेको कागजादको पेटबोलीमा पहिलो पति गणेश लामा र सरिता तामाङ २०५४ फागुनदेखि नै छुट्टिएर माईतमा बसेको भन्ने स्पष्ट उल्लेख गरेको छ।
त्यसैगरी चिन्ताहारको मृत्यु हुँदा सरिता तामाङ उप्रेतीको नामबाट जाहेरी दरखास्त परेको कागजाद समेत सुरक्षित छ। हाल यो विषयमा जिल्ला प्रशासन काभ्रेले गृहमन्त्रालयमा राय माग गरेको भन्ने बुझिएको छ। यस्तो विषयमा गृहको के राय आउला त्यो बाँकी नै छ।
(लेखक सामाजिक अभियान्ता हुन्।)