चार व्यवस्थाको साक्षी ‘अग्र अनुहार’
महासंघको प्रतिष्ठान प्रदेश समितिका अध्यक्षसमेत रहेका पत्रकार बालकृष्ण अधिकारीको सम्पादनमा पुस्तक प्रकाशन भएको हो। नामले नै स्पष्ट हुन्छ- यो नेपाल पत्रकार महासंघको इतिहास हो।काठमाडौं, चैत १५ : नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघका अग्रजहरुबारे तयार पारिएको कृति ‘अग्र अनुहार, कथा अग्रजको गाथा महासंघको’ बजारमा आएको छ।
महासंघको प्रतिष्ठान प्रदेश समितिका अध्यक्षसमेत रहेका पत्रकार बालकृष्ण अधिकारीको सम्पादनमा पुस्तक प्रकाशन भएको हो। नामले नै स्पष्ट हुन्छ- यो नेपाल पत्रकार महासंघको इतिहास हो। पत्रकारको छाता संस्थाको अगुवाइ गरेका अग्रजहरूको जीवनगाथा एउटै ग्रन्थमार्फत प्रकाशन गरेर उनीहरूका बारेमा थप अध्ययन गर्न बाटो समेत खुलाइदिएको छ।
महासंघको पञ्चायतपूर्वका दुई, पञ्चायतकालका १०, बहुदलकालका ६ र संघीय गणतन्त्र स्थापना भएपछि पाँच अध्यक्षहरू पत्रकारको पेसागत अधिकार, व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कसले कति योगदान दिए र भूमिका के रह्यो भन्ने विषय पाठक समक्ष राखिएको छ। महासंघको स्थापनाकालिनसमय र पञ्चायती व्यवस्पत्रकारिता गर्न सजिलो नरहेको, लेखेकै आधारमा राज्यबाट प्रकाशन बन्द गर्नुपरेको, कतिपय अवस्थामा जेल जानुपर्ने अवस्थाबाट गुज्रिँदै नेपाली पत्रकारिता अगाडि बढेको कृतीबाट अवगत हुन्छ।
उक्त ग्रन्थ महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरू किशोर नेपाल, तारानाथ दाहाल, सुरेश आचार्य, महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धर्मेन्द्र झालगायतले सामुहिक रुपमा विमोचन गरेका थिए। पुस्तकबारे भूमिका लेख्दै अग्रज पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताका आवाज पत्रकार महासंघले आवाज उठाउनेहरूको दस्ताबेज रहेको बताएका छन्। नेपालको सात दशकको पत्रकारिताको इतिहासमा आमनागरिकका कैयौं आवाज पत्रकार महासंघ र पत्रकारले उठाएको बताउँदै पुस्तकले पत्रकार महासंघसँग सम्बन्धित जानकारी खोज्न र अध्ययन गर्न सन्दर्भ सामग्रीको रूपमा काम गर्ने विश्वास रेग्मीले राखेका छन्।
एक सय ९१ पेजको उक्त ग्रन्थ पढ्दा समाचार र विचार लेखेकै कारण जेल जीवन बिताउनुपरेको इतिहास अहिलेका पुस्ताका लागि नयाँ र अनौठो बिषय बन्न सक्छ। महांघको प्रतिष्ठान प्रदेशले नेपाल पत्रकार संघदेखि महासंघसम्म अर्थात् कृष्णप्रसाद भट्टराईदेखि विपुल पोखरेल सम्मको व्यक्तिगत जीवनीसहित पत्रकार, पत्रकारिता, तत्कालीन राजनीतिक अवस्थाको जानकारी हुनेगरी पुस्तक ल्याएको छ।
वास्तवमा पत्रकारिताको इतिहास जान्न चाहनेहरूका लागि सबैभन्दा बलियो अनि भरपर्दो स्रोत बन्न सक्ने देखिन्छ।
उक्त ग्रन्थमा अग्रज पत्रकार उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारहरूलाई संगठित गर्ने ध्येयले संस्था स्थापना गर्ने संकल्प गरेको उल्लेख छ। त्यसैको परिणामस्वरुप २०१२ चैत १६ गते बसेको एक भेलाले कृष्णप्रसाद भट्टराईको सभापतित्वमा फत्तेबहादुर सिंह उपसभापति, मणिराज उपाध्याय मन्त्री, राम सिंह सहायक मन्त्री, उदयराज शास्त्री कोषाध्यक्ष, हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मिश्र सदस्य रहेको कार्यसमिति गठन भएको पुस्तकमा उल्लेख छ।
२०१२ सालमा भट्टराईले नेतृत्व लिनु अघि २००८ जेठमा सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ स्थापना गरे पनि त्यसले निरन्तरता नपाएका कारण २०१२ साल चैत १६ लाई नै संस्थापनाकाल मानिएको पुस्तकमा उल्लेख छ। सत्यबहादुरको नेतृत्वमा २००८ सालमा पत्रकार संघ बनेको तर, त्यसले निरन्तरता नपाएको महासंघका दस्ताबेजमा उल्लेख छ। नेपाल पत्रकार महासंघ स्वयम्ले २०१२ साललाई आफ्नो स्थापना दिवस मानेर कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष र अविछिन्न उत्तराधिकार संगठनको रूपमा उल्लेख गर्दै आएको छ।
यद्यपि पुस्तकमा सत्यनारायणबहादुर श्रेष्ठले पुर्याएको योगदान सम्झिँदै त्यतिबेलाको इतिहासबारे प्रकास पारिएको छ। महासंघले आफ्नो इतिहास र अभिलेखमा दर्ज गरेका अध्यक्ष–सभापतिका आधारमा नै पुस्तक तयार पारिएको देखिन्छ। ग्रन्थमा कृष्णप्रसाद भट्टराई, दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँ, महेन्द्र विष्ट, गोविन्द आचार्य हुँदै बिपुल पोखरेलसम्मको इतिहास समेटिएको छ। उनीहरुको पत्रकारितासँगै पारिवारिक र राजनीतिक पृष्ठभूमि समेत प्रकास पारिएको छ।
ग्रन्थ महासंघका अग्रज नेताको जीवनीमूलक देखिन्छ। महासंघको मूल नेतृत्वका विषयमा प्रकास पार्ने उद्देस्य महासंघ प्रतिष्ठान प्रदेशको देखिन्छ। यही भएर नै सायद सभापति वा अध्यक्ष बाहेक अरुको बिषय आएको छैन। एकै खेपमा सबै अग्रजहरुको लेखिसाध्य हुने विषय पनि होइन। महासंघको अध्यक्ष वा सभापति बाहेक अन्य अग्रजहरुको योगदान नभएको भन्ने पनि होइन। नेपाली पत्रकारिता इतिहासमा त्याग, मूल्य, योगदान र समर्पणका लागि श्रद्धाले शिर झुकाउने सयौं व्यक्तित्वहरु छन्। तर पुस्तक लेखनको ध्येय के हो भन्ने कुराले पनि निर्भर गर्दछ।
पत्रकारिता सम्बद्ध विभिन्न अग्रज, जानकार एवम् विज्ञसँग कुराकानी, समन्वय र उपलब्ध सामाग्रीका आधारमा १७ जना समकालीन पत्रकारहरूले महासंघका महानुभावबारे जीवनी तयार पारेका छन्। उक्त सामग्रीलाई महाघको प्रतिष्ठान प्रदेश अध्यक्ष समेत रहेका अधिकारीले सम्पादन गरी ग्रन्थको रूप दिएका हुन्।
स्थापनाको ६८ वर्षे इतिहासमा २३ अध्यक्षहरू रहेका महासंघमा उनीहरूका व्यक्तिगत जानकारीहरू एकै पुस्तकमा अटाउनु यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो। उक्त ग्रन्थका आधारमा नेपालको पत्रकारिता, नेतृत्वदायी अगुवा संस्थाको हिसावले पत्रकार महासंघका सामु रहेका चुनौती, आगामी दिनमा हुनुपर्ने सुधारका बिषय र स्पष्ट गन्तव्य ठम्याउन मद्दत पुग्ने छ। एकाध सानातिना त्रुटी बाहेक ग्रन्थ प्रकासनको प्रयासमाथि खोट लगाउने ठाउँ देखिँदैन। अग्रजको जीवनीलाई ग्रन्थका रूपमा प्रकाशनमा ल्याउनु आफैमा सह्रानिय मात्र नभै अनुकरणीय प्रयास पनि हो।
पत्रकार बालकृष्ण अधिकारी, यम विरही, चेतन पाण्डे, पोषनाथ अधिकारी, भाषा शर्मा, शेखर अधिकारी, विष्णु नेपाल, रुक्मिणी पोखरेल, शिवहरि घिमिर, केशव बोहोरा, सुभाषप्रसाद साह, शिवराज रेग्मी, अशोक घिमिरे, अनिताकुमारी घिमिरे, नरेन्द्र मानन्धर, वीरेन्द्र ओली र देवेन्द्र बस्नेतले अग्र अनुहारको बिषयमा जानिफकारसँग कुराकानी, सम्पर्क, समन्वय गरी लेखेका छन्। २३ जनाबारे लेखिएका अधिकांश सामग्री आफैमा सम्बन्धित व्यक्तिहरू बारेको अभिलेखीकरण पनि हो।
समग्रमा ६८ वर्ष लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ र त्यसको नेतृत्वकर्ताका बारेमा सामान्य जानकारी पाउनसमेत कठिनाई भइरहेको अवस्थामा महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको उक्त पुस्तक पत्रकार मात्र नभै जिज्ञासु सहयोगी बन्ने निश्चित छ। महासंघको निर्माण, विकास र चुनौतीको सामाना गर्ने क्रममा भोगेका अनुभव नियाल्न जो कसैलाई रोचक लाग्ने छ। साथै, पत्रकारिताका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहनेका लागि एउटा आधार समेत बन्ने देखिन्छ। र, नेपालको मात्र होइन, विश्व पत्रकारिताका बारेमा चियाउन आँखिझ्यालको काम पनि गर्ने छ।
यो कुनै नीजि अनुभवमा तयार गरिएको पुस्तक होइन, यस्लाई जे छ त्यही रुपमा तयार पारिएको इतिहासदेखि वर्तमानसम्मको खुला संग्रह भन्दा हुन्छ। हुनसक्छ– यहाँ आएका विचार, धारणा भन्दा भविष्यमा अझ बढी विहङ्गम अध्ययन अनुसन्धान पनि गरिन सक्लान्। तर विविध कोणबाट छोटो–मिठो रुपमा पत्रकार महासंघका अग्रजको बिषयमा बुझ्न र जान्न चाहने जो सुकैलाई अनुगृहित गर्ने विश्वास गर्न सकिन्छ।
यसर्थ यो कृती नमूनाका रुपमा आएको छ। जहाँ महासंघ हाँक्ने व्यक्तित्वको इतिहासबारे जानकारीका लागि संग्रहणिय सामाग्र्री होस् भन्ने हेतु मात्र छ। सेवा बाहेक नीजि मुनाफाको कुनै उद्देस्य देखिँदैन। ग्रन्थको अध्ययन गरेर आम पाठक एवम् चिन्तकहरुले महासंघको बिषयमा निश्चित धारणा बनाउन सक्नेछन्। जस्ले एउटा प्रभावकारी संदेशको काम गर्ने छ। यस्मा रहेका सानातिना अस्पष्टता वा त्रुटीहरु निःसन्देह आगामी अंकमा परिमार्जन होलान् पनि।
अन्तमा, यति त ढुक्कले भन्न सकिन्छ – ‘अग्र अनुहार’ को माध्यमबाट पत्रकारिताको विभिन्न कालखण्ड बुझ्नका लागि एउटा आधार तयार भएको छ। केवल पत्रकारका लागि मात्र मात्र नभएर सबैका लागि जिवित दस्तावेजको रुपमा रहने छ। यो वास्तवमा कलमजिवी र श्रमजिवीकै आवाज हो। अलि बृहद रुपमा हेर्दा यहाँ पस्किएका सामग्रीले समृद्ध पत्रकार महासंघ, नेपाली पत्रकारिताको श्रीवृद्धी हुँदै अन्ततः लोकतान्त्रिक मूल्यको पक्षमा टेवा पुग्ने छ।