Kathmandu Press

आइसिसी एकदिवसीय विश्वकप ड्रिम ११

आइसिसीले आफ्नो ड्रिम टोलीमा भारतका सर्वाधिक ६ खेलाडीलाई स्थान दिएको छ। भारतमा एक महिनासम्म चलेको प्रतियोगितामा विश्व च्याम्पियन टोलीका दुई खेलाडी अटाएका छन्।
आइसिसी एकदिवसीय विश्वकप ड्रिम ११

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार आइसिसी एकदिवसीय विश्वकप ड्रिम टोली सार्वजनिक गरेको छ। ड्रिम टोलीमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका कप्तान प्याट क्युमिन्स समावेश छैनन् । उपविजेता भारतका रोहित शर्मालाई कप्तानी बनाइएको छ ।

आइसिसीले आफ्नो ड्रिम टोलीमा भारतका सर्वाधिक ६ खेलाडीलाई स्थान दिएको छ। भारतमा एक महिनासम्म चलेको प्रतियोगितामा विश्व च्याम्पियन टोलीका दुई खेलाडी अटाएका छन्। यसैगरी, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका समान एक खेलाडी समावेश छन् । आइतबार नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले भारतलाई फाइनलमा ६ विकेटले हराएको थियो ।

3810944-77470808-2560-1440-1710683335.jpg

Hardik ivf

क्विन्टन डी कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका ओपनर तथा विकेटकिपर डी ककले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, अस्ट्रेलियाविरुद्धको महत्वपूर्ण सेमिफाइनल खेलमा उनी चुके । समग्रमा विकेटकिपिङदेखि ब्याटिङसम्म उनको प्रदर्शन अब्बल रह्यो । उनले एकदिवसीय विश्वकप दौरान चार शतकीय इनिङ्स खेलेका थिए । मुम्बईको बाँखडे रंगशालामा उनले बंगलादेशविरुद्ध १७४ रनको उतकृष्ट इनिङ्स खेले । उनले प्रतियोगिताभरि १०७.०२ को स्ट्राइकमा ५९४ रन बनाए । उनले विश्वकपमा सर्वाधिक २० खेलाडीलाई विकेट पछाडिबाट आउट पारे ।

Rohit-Sharma-profile1700142481090-1710683334.jpg

रोहित शर्मा (भारत)

भारतले एकदिवसीय विश्वकप जित्न सकेन् । १२ वर्षपछि भारतलाई आफ्नो कप्तानीमा रोहित शर्माले फाइनल पुर्‍याए । तर, उनी उपाधि भिडन्तमा चुके । यद्यपि, भारत उपविजेता बने पनि आइसिसीको ड्रिम ११ टोलीको कप्तान रोहित नै भएका छन् । उनले ११ खेलमा एक शतक र तीन अर्धशतकको सहयोगमा ५९७ रन बनाए । विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी विराट कोहलीपछि दोस्रो स्थानमा छन् । प्रतियोगिताभरि उनले १२५.९४ स्ट्राइक रेटमा ब्याटिङ गरे ।

virat-kohli-1710680516.jpg

विराट कोहली (भारत)

१३औँ संस्करणको विश्वकपमा भारतका कोहली निकै चम्किए । प्रतियोगितामा उनले केही व्यक्तिगत रेकर्डसमेत राखे । अस्ट्रेलियाले छैटोँपटक विश्वकप उचाल्दा उनी सर्वाधिक रन बनाउने खेलाडी बने । उनले विश्वकपमै सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक ४९ शतक तोडे । न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा शतकीय इनिङ्स खेल्दै उनले एकदिवसीय खेलमा ५० शतकको रेकर्ड बनाए । उनले ११ खेलमा ९०.३१ को स्ट्राइकमा सर्वाधिक ७५६ रन बटुले । यसक्रममा उनले तीन शतक र ६ अर्धशतक लगाए ।

daryll-mitchell-century-1200-1697976877-1710683388.jpg

डार्यल मिचले (न्युजिल्यान्ड)

न्युजिल्यान्ड लगातार तेस्रोपटक विश्वकप सेमिफाइनलमा स्थान बनाउँदा ब्याट्सम्यान मिचेलको प्रदर्शन उच्च रह्यो । उनले नौ खेलमा १११.०६ को स्ट्राइकमा ५५२ रन बटुले । भारतविरुद्धको खेलमा उनले संघर्ष गर्दै १३४ रनको शतकीय इनिङ्स खेलेका थिए । प्रतियोगितामा १० खेल खेलेका उनले दुई शतक र दुई अर्धशतक बनाए ।

kl-profile1700138082033-1710683333.jpg

केएल राहुल (भारत)

भातरका विकेटकिपर ब्याट्सम्यान राहुलले अस्ट्रेलियासँगको फाइनलमा अर्धशतकीय इनिङ खेले पनि पर्याप्त भएन । पूरै ११ खेल खेलेका उनले ४५२ रन जोडे । उनले नेदरल्यान्ड्सँगको खेलमा १०२ रन जोडेका थिए । समूह चरणको खेलमा उनले अस्ट्रेलियाविरुद्ध ९७ रन बटुलेका थिए । ३१ वर्षीय खेलाडी राहुल आइसिसीको ड्रिम ११ को टोलीमा तेस्रो मुख्य ब्याट्सम्यानका रूपमा छन् । प्रतियोगितामा उनले दुई अर्धशतक जोडे ।

Untitled-design-72-2-1710683333.jpg

ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)

अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलको प्रदर्शन एकनासको भएन । १३औँ संस्करणको विश्वकपमा उनलाई दुई खेलका लागि सबैले सम्झिरहनेछन् । अफगानिस्तानविरुद्धको खेलमा उनले अविस्वमरणीय रूपमा २०१ रनको नटआउट इनिङ्स खेले । यसै प्रदर्शनका आधारमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएर मात्र सेमिफाइनल स्थानसमेत पक्का गर्‍यो । उनले नेदरल्यान्ड्ससँगको खेलमा ४० बलमै विश्वकीर्तिमानी रूपमा शतक लगाए । विश्वकपको ११ खेल खेलेका उनले एक शतक र दुई अर्धशतकको साथमा ४५२ रन जोडे ।

RJADJEA1700127903469-1710683334.jpg

रवीन्द्र जडेजा (भारत)

भारतका अलराउन्डर जडेजाले फाइनल पुर्‍याउन उत्कृष्ट खेले । मध्यक्रममा ब्याटिङ गर्न सक्ने उनी महत्वपूर्ण विकेट निकाल्न सक्छन् । सातौँ क्रममा ब्याटिङ गरी उनले पाँच खेलमा १२० रन बटुलेका छन् । विश्वकपमा नौ खेल खेलेका उनले १६ विकेट लिए । रमाइलो पक्ष के छ भने उनले विश्वकपमा १०१.६९ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । भारतीय बलरमध्ये उनको इकोनोमी रेट उत्कृष्ट रह्यो । उनले प्रतिओभरमा ४.२५ औसतमा बलिङ गरे ।

Jasprit-Bumrah-1710683334.jpg

जसप्रित बुमराह (भारत)

तीव्रगतिका बलर बुमराह भारतका स्ट्राइक बलर हुन् । नयाँ बल र पहिलो पावर प्लेमा उनले विपक्षी ब्याट्सम्यानलाई सहजै स्विङमा फसाएका थिए । योर्क र स्विङ एकनासले गर्न सक्ने बुमराहले प्रतियोगितामा ११ खेल खेल्दै २० विकेट लिए । भारतीय बलरमध्ये उनी दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको उत्कृष्ट प्रदर्शन नै ३९–४ हो । उनको इकोनोमी रेट ४.०६ छ ।

untitled-design-2023-08-29t093327-1693281812-1710683332.jpg

दिलसान मदुशंका (श्रीलंका )

श्रीलंकाका बायाँहाते तीव्रगतिका बलर मदुशंका प्रतियोगितामा उत्कृष्ट रहे । सन् १९९६ को विजेता श्रीलंकाले प्रतियोगितामा सोचेजस्तो प्रदर्शन गर्न सकेन । सेमिफाइनलमा पुग्ने चार टोलीको छिनोफानो नहुँदासम्म उनी सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा थिए । उनले नौ खेलमा २१ विकेट लिएका थिए । उनले भारतविरुद्ध ८० रन खर्चेर पाँच विकेट लिएका थिए । विश्वकपमा सर्वाधिक विकेट लिने सूचीमा उनी पाँचौँ नम्बरमा छन् ।

24zampa-1710683332.jpg

एडम जाम्पा (अस्ट्रेलिया)

सुरुवातमा जाम्पा सुस्त देखिए । जब उनी फर्ममा आए, त्यसपछि विपक्षी ब्याट्सम्यान सहजै धरापमा परे । अस्ट्रेलिया छैटौँपटक विजेता बन्नु पछाडि स्पिनर जाम्पाको योगदान पनि अहं थियो । जाम्पाले ११ खेल खेल्दै २३ विकेट लिए । उनी विश्वकपमा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । प्रतियोगितामा उनले नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिए । स्पिनरका रूपमा एक विश्वकपमा सबैभन्दा धेरै विकेट लिने मुथैया मुरलीधरनको रेकर्ड बराबरी उनले गरे ।

mohammed-shami-1200-1697999367-1710683333.jpg

मोहम्मद सामी (भारत)

भारतीय तीव्रगतिका बलर सामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलर हुन् । विश्वकपमा उनले केवल सात खेल मात्र खेलेका थिए । प्राप्त अवसरलाई भरपुर प्रयोग गर्दै उनले सर्वाधिक २४ विकेट लिए । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ५७ रन खर्चँदै सात विकेट लिए । उपाधि भिडन्तमा उनले अस्ट्रेलियन ब्याट्सम्यानलाई समस्यामा राखेका थिए । तर, उनले आफ्नो पहिलो स्पेलपछि विकेट लिन सकेनन् । उनले प्रतिओभर ५.२६ रनरेटमा बलिङ गरेका थिए ।

Gerald-Coetzee-1710683332.jpg

गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)

आइसिसीले १२औँ खेलाडीको रूपमा दक्षिण अफ्रिकाका युवा तीव्रगतिका बलर कोएत्जीलाई राखेको छ । आइसिसीको ड्रिम टिममा अतिरिक्त बलरका रुपमा उनलाई समावेश गरिएको हो । दक्षिण अफ्रिकाका लागि उनले ८ खेलमा २० विकेट लिँदै आफूलाई आइसिसीको नजरमा पार्न सफल भएका हुन् । २३ वर्षीय गेराल्डको प्रतिओभर ६.२३ रनरेटमा बलिङ गरेका थिए ।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्