पर्यटकीय नगरी पोखरामा गुन्जिए १२ मातृभाषाका रचना
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिबार भएको गण्डकी प्रदेश स्तरीय बहुभाषिक काव्य गोष्ठीका अवसरमा स्रष्टाहरुले आ आफ्नो मातृभाषामा रचना वाचन गरेका हुन्।पोखरा, फागुन १४ : अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा पर्यटकीय नगरी पोखरामा १२ मातृभाषामा रचना गुञ्जिएका छन्।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिबार भएको गण्डकी प्रदेश स्तरीय बहुभाषिक काव्य गोष्ठीका अवसरमा स्रष्टाहरुले आ आफ्नो मातृभाषामा रचना वाचन गरेका हुन्। स्रष्टाहरुले भाषाले नै संस्कृति निर्माणमा सहयोग पुर्याउने बताउँदै मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्न सबैले आ–आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने मत प्रकट गरे।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेबु्रअरी २०२४) को सन्दर्भ पारेर प्रतिष्ठानले बहुभाषिक गोष्ठी गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशभित्रका स्याङ्जा, तनहुँ, पर्वत , म्याग्दी, लमजुङ, नवलपुर, गोरखा, बागलुङ, र कास्की जिल्लाबाट मगर खाम, मगर ढुट, गुरुङ, छन्त्याल, हिन्दी, नेवारी, उर्दु, भोजपुरी, तामाङ, नेपाली, खस आर्य, संस्कृत भाषा तथा स्पेनिस र अङ्ग्रेजी, भाषामा पनि सिर्जना सुनाइएको थियो।
कार्यक्रममा पवित्रा तमु, तेजबहादुर तमु, हितमान छन्त्याल, टिकाराम वाग्ले, वीरेन्द्र थापा, फूलकुमारी थापा, दीपक समीप, अफजल अलि मिया, परशुराम बरुण, सिर्जना थापा, चन्द्रावती वाग्लेले आआफ्नो मातृभाषामा आधारित भई गीत, कविता, मुक्तक, गजल र हाइकु सुनाए। यसै गरी प्राडा.जगन्नाथ रेग्मी, कल्याण पन्त, सुरज पौडेल, डा.भूमिराज बस्ताकोटी, डा.ईश्वरमणि अधिकारी, डा.नवराज न्यौपाने, शिव त्रिपाठी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पुष्प पंज्ञानी, पार्थराज सुवेदी, स्पेनी भाषी आन्द्रे पेरेजलगायत २५ भन्दा बढी सर्जकहरूले सिर्जना सुनाएका थिए।
यस प्रकारको गोष्ठी नौलो रहेको बताउँदै बहुभाषिक समाजमा फलदायी हुने विश्वास सहभागीहरुको थियो। गोष्ठीमा विशेष आमन्त्रित भाषा आयोगका सदस्य डा.पुष्करराज भट्टले भट्टले समाज भाषा विज्ञानको वैज्ञानिक अध्ययनको पक्षमा आयोग रहेको बताए। राज्यको बहुभाषि नीतिलाई त्यसले अङगिकार गर्ने धारणा उनको थियो। भाषा आयोगले नेपालका भाषाको पारिवारिक वर्गीकरण गरी तिनको नीतिगत र संरचनागत विकास गर्न लागेको बताउँदै डा.भट्टले आगामी दिनमा यस प्रकारका कार्यक्रममा सहकार्य गरी भाषाको संरक्षण र विकास गर्न आवश्यक रहेको भनाई पनि राखे।
कार्यक्रममा सह प्रा.डा.यमनाथ तिमिल्सिनाले गण्डकी प्रदेशका भाषाहरूको भौगोलिक तथा सामाजिक स्थिति विषयक अनुसन्धान पत्र प्रस्तुत गरे। प्रश्तुतीकाक्रममा उनले गण्डकी प्रदेशमा नेपाली भाषा बोल्नेहरूको सङ्ख्या अग्र स्थानमा रहेको बताए।
गण्डकी प्रदेशमा भारोपेली लगायत चार भाषा परिवारका वक्ताहरु रहेको स्पष्ट पार्दै तिमिल्सिनाले यहाँ नेपाली भाषाका अतिरिक्त गुरुङ तथा मगरलाई प्रशासनिक कामकाजको भाषा बनाउन सकिने औँल्याए। नेपाली भाषापछि मगर ढुट र गुरुङ भाषा बोल्नेहरूको सङ्ख्या बढी रहेकाले यी दुई भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सकिने आधार पनि अघि सारे।
२०७८ सालको जनगणनाअनुसार गण्डकी प्रदेशमा भाषाको सङ्ख्या ८९ र यस प्रदेशको जनसङ्ख्या २४, ६६,४२७ जना रहेको समेत तिमिल्सनाले स्पष्ट पारे। मातृभाषाको विकासका लागि सम्बन्धित भाषामा कोश, व्याकरण र साहित्यको निर्माण गर्नुका साथै घर परिवारका सदस्यलाई बोल्न अनिवार्य गर्न आवश्यक रहेको पनि उनले बताए।
कार्यक्रममा डा.टीकाराम आचार्य आरुणिद्वारा लिखित समालोचना सङ्ग्रह पुनर्सिर्जना (२०८०) विमोचन भयो भने भर्खरै विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा.बोधराज ढकाललाई सम्मान गरियो। प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सहसचिव मदनप्रसाद बरालले गरेका थिए।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्ची, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेललगायत विभिन्न क्षेत्रका ८० भन्दा बढी भाषाप्रेमी र साहित्यकारको उपस्थिति रहेको थियो। प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार सिर्जनात्मक, समालोचानात्मक र अनुसन्धानमूलक कार्य गर्दै आएको छ।