पर्यटककाे राेजाइ बन्दै स्याङ्जाकाे नुवाकाेट कालाभैरव
उच्च मध्य पहाडी भूभागमा अवस्थित चौबिसे राज्य मध्येको एक राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरमस्थलमा पर्दछ जहाँ दैनिक सयौ दर्शनार्थी, भक्तजन, अनुसन्धानकर्ता तथा पर्यटकको आगमन हुने गर्दछ।
स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका-२ र पुतलीबजार नगरपालिका-५ को सिमानामा पर्ने समुद्र सतहदेखि १९ सय मिटरको उचाइमा रहेको नुवाकोट कालाभैरव धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले प्रसिद्ध छ। उच्च मध्य पहाडी भूभागमा अवस्थित चौबिसे राज्यमध्येको एक राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरमस्थलमा पर्दछ, जहाँ दैनिक सयौं दर्शनार्थी, भक्तजन, अनुसन्धानकर्ता तथा पर्यटकको आगमन हुन्छ।

इतिहास
इतिहासअनुसार पन्ध्रौं शताब्दीको प्रारम्भतिर अर्थात् १५१० सालमा मिन्चा खानले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेर कास्कीकोटदेखि भिरकोटसम्म फैलाएको र त्यसपछि स्वप्रकट भएका काला भैरवको मन्दिरको स्थापना गरी पूजाआजा थालिएकाे पाइन्छ। सो समयदेखि नै नुवाकोट एउटा शक्तिशाली राज्य र कालाभैरव शक्तिशालि शक्तिपीठका रूपमा स्थापित भएको देखिन्छ। कालाभैरव आफैं उत्पन्न भएको किंवदन्ती छ। १८४० सालमा गोरखा राज्यमा विलीन भएसँगै नुवाकोट राज्यको अस्तित्व मेटिएको हो। जसको अन्तिम राजा भक्ति खाण थिए।
स्याङ्जा जिल्लाको नामकरणको इतिहास हेर्ने हो भने राणाकालीन समयमा पुग्नुपर्छ। भिरकोट, सतौकोट र नुवाकोट चारकोटको कारण चारकोट क्षेत्र भनिन्थ्यो। त्यसपछि नुवाकोट जिल्लाको नामबाट प्रशासनिक कामहरु जारी गरिन्थ्यो। २०१९ सालपछि मात्र नुवाकोटबाट स्याङ्जा जिल्ला नामकरण गरिएको हो।

नुवाकोट स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम पनि हाे, जहाँबाट प्रशासनिक कामकारबाही हुने गर्थे। २०२० सालमा पहिलो पटक स्याङ्जाको सदरमुकामलाई हालको भिरकोट नगरपालिकाअन्तर्गत दार्सिङमा सारिएको थियाे। तर त्यहाँ मात्र ६ दिनभन्दा बढी सदरमुकाम टिक्न नसकेको इतिहासकार दिलीप प्रताप खाणले बताए। दार्सिङबाट ६ दिनमा नै पुनः नुवाकोट सारिएको सदरमुकाम २०२२ /२३ सालतिर हालको सदरमुकाम भएको ठाउँमा सारिएको हाे। अझै पनि पुरानो टुँडिखेल, दरबार, विभिन्न अड्डा तथा कारागारको भग्नावशेष नुवाकोट क्षेत्रमा देख्न सकिन्छ।
धार्मिक महत्व
किंवदन्तीअनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन्। कालाभैरवमा आफूले कुनै कुरा पूरा होस भनी भाकल गरे पूरा हुने जनविश्वास छ। मनोकांक्षा पूरा होस् भनी भाकल गर्ने, मनोकांक्षा पूरा भए हाँस, कुखुरा, पाठाको बलि दिने, परेवा उडाउने पनि गरिन्छ। आफ्नो मनले आँटेको ताकेको पूरा भएको खण्डमा एक माना चामलको पिठोको सिंगो रोटी जसलाई रोट भनिन्छ, कालाभैरवलाई सो रोट चढाइन्छ।
रोट बनाउन साँचो तथा भान्साघर पनि सँगै निर्माण गरिएको छ। देशका विभिन्न भागबाट आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ मानिसहरु पूजाअर्चनाका लागि आउने गर्दछन भने पुरातात्विक महत्व बोकेको र पुरानो सदरमुकाम पनि रहेका कारण अध्ययन अनुसन्धानका लागि पनि मानिसहरु पुग्ने गर्दछन्। यहाँ विशेष गरी दसैंको नवमी, चैते दसैं तथा पूर्णिमामा भक्तजनकाे घुइँचो लाग्ने गर्दछ भने विजयादशमीको नवरात्रमा नेपाली सेनाद्वारा फूलपाती पनि भित्र्याइन्छ।

कालाभैरव नजिकै सुनकेसरिको मन्दिर पनि रहेको छ। खासगरी बारम्बार नराम्रो सपना देखिएमा अनिष्टको संकेतको रूपमा लिइने र नराम्रो घटना तथा नराम्रो सपना टार्न सुनकेशरीको मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ। नुवाकोट कालाभैरव मन्दिर परिसरको तलपट्टि रानीपोखरि रहेको जहाँ प्राचीन समयमा रानीहरूले आफ्नो शृंगार सकेपछि उक्त पोखरीलाई ऐनाको रुपमा प्रयोग गर्दथे भन्ने भनाइ छ।
त्यस्तै पृथ्वीको भूगर्भबाट प्राकृतिक रुपमा हावा आउने ठाउँ पनि छ, जहाँ पृथ्वीको भित्रिसतहबाट निरन्तर रुपमा तातो हावा बहने गर्दछ। त्यस्तै नुवाकोट कालिकादेविको मन्दिर पनि नजिकै रहेको छ, जसले तत्कालीन शासकहरु शक्तिको उपासक रहेको देखाउँछ। कालिका मन्दिरको नजिकै रानी चौतारि निर्माण गरिएको छ जसको माथिपट्टि एउटा सिंगो ढुंगा छ र सो ढुंगा सात दिनको आलो सुत्केरीले उठाएको भन्ने किंवदन्ती छ। किंवदन्तीअनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन्। कालिका मन्दिरको नजिकै रानी चौतारी निर्माण गरिएको छ जसको माथिपट्टि एउटा सिंगो ढुंगा रहेको छ र सो ढुंगा सात दिनको आलो सुत्केरीले उठाएको भन्ने किंवदन्ती रहेको छ।
दृश्यावलोकन
यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण , धवलागिरी, मनास्लुजस्ता हिमशृंखला, कास्की जिल्लाका विभिन्न ठाउँको अवलोकन तथा स्याङ्जा जिल्लाको सदरमुकाम लगायत विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ। हाल बन्दै गरेको कास्कीको पुम्दिकोट, शान्ति स्तुपा, स्याङ्जा बहाकोट कालिका मन्दिर, कोल्माकोट, निर्माण भैरहेको भारकोट शान्ति स्तुपा लगायत स्थानहरू पनि यहाँबाट देखिन्छन्। यहाँ विशेष गरि दशैको नवमी, चैते दशै तथा पूर्णिमामा विशेष घुइँचो लाग्ने गरेको छ।

कसरी पुग्ने?
नुवाकोट कालाभैरव पुग्न विभिन्न मार्ग छन्। ती निम्नानुसार छन्ः
पोखराबाट छोरेपाटन-मट्टीखाना-साल्मेडाडा ग्रामिण कच्चि सडक झण्डै १९ किलोमिटर।
सिद्धार्थ राजमार्गको गुडीखोला चम्पा गिरि आश्रम- स्याङ्जा भ्यु टावर पैदल यात्रा हुँदैं करिब ५ किलोमिटर कच्ची बाटो।
सिद्धार्थ राजमार्ग अन्तर्गत कुभिण्डेबाट ग्रामीण कच्ची सडक झण्डै ९ किलोमिटर।
सिद्धार्थ राजमार्गको फेदिखोला हुँदै ग्रामीण कच्ची सडक झण्डै ७ किलोमिटर।
पुतलीबजार नगरपालिकाको पौवै गौडे हुँदै झण्डै ४ किलोमिटर ग्रामीण कच्ची सडक।
पुतलीबजार नगरपालिका बाडखोला-रानिस्वारा पैदल मार्ग झण्डै ५ किलोमिटर।
पुतलीबजार नगरपालिका गुडिखोला-नुवाकोट ग्रामिण सडक झण्डै ७ किलोमिटर।

(थापा पुतलीबजार नगरपालिका प्रज्ञा प्रतिष्ठान सदस्य हुन्।)









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)