पोएट आइडल नीलमको नपल्टाएका पन्नाहरू
पहिले शास्त्रीय भाषाको प्रधानता रहने गरे पनि अहिलेका कवितामा आधुनिक र बोलीचालीको भाषा बढी प्रयुक्त हुने भन्दै उहाँले कविता काव्यिक हुनुपर्ने बताए।
काठमाडौं, माघ ७ : टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करणका विजेता पोएट आइडल नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ।
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताए।
पहिले शास्त्रीय भाषाको प्रधानता रहने गरे पनि अहिलेका कवितामा आधुनिक र बोलीचालीको भाषा बढी प्रयुक्त हुने भन्दै उहाँले कविता काव्यिक हुनुपर्ने बताए। विचार, कला र काव्यिक चेतमा नीलम सशक्त देखिएको उनको भनाइ छ।
कविता कृतिको समीक्षात्मक टिप्पणी गर्दै कवि छम गुरुङले नीलमका कविताहरू सशक्त हुँदाहुँदै पनि नारी स्वर र पहिचानको पक्षमा भने केही कमजोर रहेको बताए।
‘कवि नीलमले जसरी आफूलाई विद्रोही नारी र पहिचानको पक्षधरका रूपमा उभ्याउँदै आउनु भएको छ, कविता त्यही रूपमा सशक्त हुन सकेको छैन,’ उनले भने। यद्यपि घरको चौघेराभित्रको कथा र उद्धेलित मन कवितामा गज्जबसँग पोखिएको उनको भनाई थियो।
अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले आफ्नो बुबा क्षेत्रप्रताप अधिकारीले साझा प्रकाशनको नेतृत्व लिइरहँदा प्रत्येक लेखक, साहित्यकार लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने चाहेको स्मरण गर्दै आफ्नो चाहना पनि सर्जकहरूको सिर्जनाकै भरमा जिविका चलाउन सक्ने हैसियत बन्ने बताए।
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले ह्युलको हलमा भएको नीलमको कविता संग्रहको विमोचन अहिलेसम्मकै भव्य कार्यक्रम भएको बताए।
सिक्किमकी कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताइन्। कार्यक्रममा पोएट आइडलका सेमिफाइनलिष्ट र फाइनलिष्ट कविहरूले पनि कविता वाचन गरेका थिए।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


