कर्मचारीलाई थर्काएर, तर्साएर अघि बढ्न हुँदैन : रवि लामिछाने
‘सरकारले आशा जगाउन सक्छ, अभिभावकत्व देखाउन सक्छ । हामी छौँ चिन्ता नगर्नुस् भन्न सक्छ । हामीले कर्मचारीलाई तर्साएर, थर्काएर होइन । हो, हाम्रो ब्युरोक्रेसीमा समस्या छ,’ उनले भने।
काठमाडौं, कात्तिक २० : रमष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्मचारीको साथबिना आफूहरूले गरेको बाचा पूरा गर्न नसकिने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई थर्काएर, तर्साएर अघि बढ्न नहुने धारणा राखे। सरकारले ठूला–ठूला फ्याक्ट्री खोल्ने लगायतका काम गर्न नसके पनि आशा भने जगाउन सक्ने उनले बताए।
‘सरकारले आशा जगाउन सक्छ, अभिभावकत्व देखाउन सक्छ । हामी छौँ चिन्ता नगर्नुस् भन्न सक्छ । हामीले कर्मचारीलाई तर्साएर, थर्काएर होइन । हो, हाम्रो ब्युरोक्रेसीमा समस्या छ,’ उनले भने, ‘त्यसलाई समाधान गर्नको निमित्त उहाँहरूलाई मोटिभेट गरेर, सँगै बोकेर अघि बढ्न सक्यौँ भने हामीले भनेको उपलब्धि हासिल गर्छौं । कर्मचारीतन्त्रको साथबिना हामीले जनतालाई दिएको बाचा पूरा गर्न सक्दैनौँ।’
सुनेका भरमा बोल्ने कुराले अदालत कमजोर हुने सभापति लामिछानले बताए।
‘अदालतका विषयलाई हल्का रूपमा सुनेका भरमा, देखेका भरमा प्याटपुट्ट बोल्ने कुराले यो देशको संस्था कमजोर हुन्छ । यो देशमा अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, सुुरक्षा निकाय पनि कमजोर हुने, निजी क्षेत्र, वैदेशिक सम्बन्ध पनि कमजोर हुने, पेसागत संगठन, प्रेस कमजोर हुने । भए भरका संस्था कमजोर हुने हो भने देश कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने।
उनले लोकतन्त्र कमजोर हुँदा कुरा मात्रै ठूला गर्न सकिने बताए । लामिछानेले निर्णय गर्दा लोकतन्त्रको पिल्लर हल्लिने काम गर्न नहुने पनि बताए । “हाम्रा अभिव्यक्ति, हाम्रा क्रियाकलाप, निर्णयले लोकतन्त्रको पिल्लर हल्लाउने काम धेरै गर्नु हुँदैन भन्ने कुरा हामीले महसुस गर्नुपर्छ,” उनले भने ।
उनले रास्वपाले कुनै दल र नेतामाथि प्रतिशोध नसाँध्ने दाबी गरे । राज्यका संरचनालाई बलियो बनाएर लैजाने बताए।





