कृषि एम्बुलेन्सले फेरिएको चेपाङ गाउँ
उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए। किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए।
चितवन, माघ ६ : चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ। बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्सले बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्छ।
चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ।
एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन्। गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ।
गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ।
कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेका छन्।
दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्कन्छन् र किसानको आम्दानी बुझाउँछन्। ‘सबै सामान आफैँ बिक्री गरिदिने गरेका छौँ’, उनले भने, ‘साँझ भाडा कटाएर बाँकी रहेको पैसा किसानलाई बुझाउने गरेको छु। यसले गाउँलेलाई सहज भएको छ।’
कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए। ‘गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ, डोकोमा बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ’, उनले भने।
गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए। यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने उनको भनाइ छ।
‘गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ। अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लगैँ’, चालक प्रजाले भने, ‘पाँच सय ५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ।’
उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए। किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको छ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए। गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नाङ्लो बुन्ने गरेका छन्।
हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउँछन्। ‘सबै गाउँलेको मागअनुसार नै गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा एम्बुलेन्स खरिद गरेका हौँ’, उनले भने, ‘अहिले सबैजान खुसी हुनुहुन्छ,’ उनी भन्छन्।
आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता नरहेको उनले बताए। समूहमा ३५ घरधुरी आबद्ध छन्। यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए।
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको स्थानीय अगुवा शेरबहादुर प्रजा बताउँछन्। ‘पहिलेपहिले पनि उत्पादन गथ्र्यौं । तर, अरुको गाडी बोलाउँदा आनाकानी गर्ने, भाडा महँगो भन्नेजस्ता समस्या थियो’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा थोरै उत्पादन गर्ने किसानको उपजले बजार पाउनै मुस्किल थियो। अहिले त्यस्तो अवस्था छैन। दुई किलो सखरखण्डले पनि बजार पाएको छ।’
उनले एम्बुलेन्स सञ्चालनपछि गाउँमा काम गर्ने र उत्पादन गर्ने प्रतिस्पर्धा चलेको बताए।
वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार करिब पाँचरछ वर्षदेखि यहाँका किसानले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका छन् ।
गाउँलेले गोलभेँडा, रायो, स्कुस, धनियाँ, तरुल, सखरखण्ड, पिँडालु, केराउ, सिमीलगायतका तरकारी खेती उत्पादन गर्दै आएका छन्। ती सबैले राम्रोसँग बजार पाउँदा त्यसले समग्र गाउँलाई नै फाइदा पुगेको उनी बताउँछन्।
गाउँपालिकाले किसानको आवश्यकताअनुसार मल र बिउमा ५० प्रतिशत अनुदान दिँदै आएको वडाअध्यक्ष चेपाङले जानकारी दिए। तरकारीखेतीका आलवा बाख्रापालन, चोयाको सामग्री बनाउनेजस्ता कार्यमा समेत यहाँका चेपाङ समुदाय अग्रपङ्क्तिमा रहेको उनले बताए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ हपनी उदाहरणीय चेपाङ गाउँ बन्दै गएको बताए। उनले यहाँका चेपाङ समुदायको आयस्तर उकास्न र उनीहरुलाई व्यावसायिक बनाउन गाउँपालिकले एम्बुलेन्स उपलब्ध गराएको बताए।
अन्य ठाउँबाट पनि एम्बुलेन्सको माग हुँदाहुँदै पनि चेपाङ समुदायको बस्ती रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराएको उनले जानकारी दिए। गाउँपालिकाले यस वर्ष दुई वडामा एक एक वटा कृषि एम्बुलेन्स दिने तयारीमा रहेको बताए। -रासस












