२१.४५ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको नाफा
गत आर्थिक वर्ष २०७९/८० को यही अवधिमा याे बैंकले १ अर्ब २ करोड रूपैयाँ नाफा कमाएकाे थियो।काठमाडाैं, माघ ५ : माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नाफा २१.४५ प्रतिशतले घटेकाे छ। जसले गर्दा बैंकले ८० करोड ५३ लाख मात्र नाफा कमाएकाे छ। गत आर्थिक वर्ष २०७९/८० को यही अवधिमा याे बैंकले १ अर्ब २ करोड रूपैयाँ नाफा कमाएकाे थियो।
बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफा कम भएकाे हाे। बैंकको मुख्य व्यवसायबाट हुने आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ। बैंकले यसपटक प्रावधानको रुपमा राखेको रकम केही घटे पनि उच्च नै छ। बैंकले प्रावधानका रुपमा २३ करोड ८५ लाख रूपैयाँ राखेको छ। बैंकको वितरण योग्य नाफा रकम २४ करोड ६९ लाख रूपैयाँले ऋणात्मक छ।
बैंकको कर्जा निक्षेप अनुपात ८५.१८ प्रतिशतबाट घटेर ८०.६१ प्रतिशतमा घटेको छ। तर बैंकको चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २.९९ प्रतिशतले मात्रै बढेको छ। असारमा १ खर्ब २६ अर्ब रूपैयाँ बराबर कर्जा लगानी भएकोमा पुस अन्त्यसम्म १ खर्ब २९ अर्ब रूपैयाँ कर्जा विस्तार भएको छ। बैंकलाई पुँजी कोष अनुपातमा दबाब रहेकाले पनि कर्जा विस्तार गर्न सकिरहेको छैन। बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.०६ छ।
बैंकको खराब कर्जा लगभग दोब्बरले बढेर २.६२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा यो १.४१ प्रतिशत थियो। बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६४ पैसाबाट घटेर १३ रूपैयाँ ८६ पैसामा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ एक सय ४५ रूपैयाँ छ।