संसारकै लामो पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार, ५५ अर्ब खर्च हुने अनुमान
मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केवलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डकाप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।काठमाडौं, पुस २७ : पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन सहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ ।
सो प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ ।
मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केवलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डकाप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए । त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआईए)का लागि जिम्मेवारी दिएका थिए । तर कानूनी समस्या भएका कारण काममा ढिलाई भएकोसो कम्पनीका अध्यक्ष सुवेदीले बताए ।
उनले कानूनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रियारोकिएकोमा अब निमार्णका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे । अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्तावेजहरू कानूनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्तावेज पेश गरिएको बताए ।
भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केवलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केवलकार बनाउने भएको हो । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदीभौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् ।
नेपालमा कहाँ कसरी चलेका छन् केवलकार ?
नेपालमा सर्वप्रथम २०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । उक्त केवलकारको उद्घाटन २०५५ साल मंसिर ८ गते तत्कालिन युवराज दिपेन्द्र शाहले गरेका थिए । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको यो केवलकारमा अहिले ३४ वटा (डब्बा) गोण्डला सञ्चालनमा छन् ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिरमनकामनाको दर्शनलाई सहज बनाएको छ । यसको लम्बाई ३.०२ किलोमिटर रहेको छ । नेपालको दोस्रो केवलकार परियोजनाका रुपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केवलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए।
काठमाडौंको थानकोटमा रहेको बेस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ । यस केवलकारमा जम्मा ३८ वटा गोण्डला जडान गरीएका छन् । त्यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनरत कालिन्चोक केवलकार परियोजना नेपालको तेस्रो केवलकार परियोजना हो ।
१७ कात्तिक २०७५ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका हुन् । यसमा ४ गोण्डला मात्र रहेका छन् ।
त्यस्तैगरी, २०७८ फागुनबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको अन्नपूर्ण केवलकार नेपालको चौथो केवलकार परियोजना हो । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म यो केवलकार सञ्चालनमा रहेको छ । यसको लम्बाई २.१६ किलोमिटर रहेको छ ।
नेपालको पाँचौं केवलकार परियोजनाका रुपमा मौलाकाली केवलकार सञ्चालनमा आएको हो । केवलकार गत वैशाख १८ गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । १२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला छन् ।