Kathmandu Press

सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो 

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार भएको सुनुवाइपछि उक्त आदेश गरेको हो।
सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो 

काठमाडौं, मंसिर ११ : आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचारसम्वन्धी मुद्दामा सर्वोच्च अदालतले विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई झिकाउने आदेश गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार भएको सुनुवाइपछि उक्त आदेश गरेको हो।

 विशेष अदालतले भ्रष्टाचार ठहर गरेपछिशर्माले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। कर फर्स्योट र गैरकानुनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेष अदालतबाट कर फर्स्योटमा भ्रष्टाचार ठहर गरिएको थियो भने गैरकानुनी सम्पत्ति आर्जनमा शर्माले सफाइ पाएका थिए। 

कर फर्स्योट आयोगमा सदस्य–सचिव रहँदा व्यापारीहरूलाई ठूलो रकम छूट दिएको आरोप शर्मामाथि छ। 

कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। 

विशेष अदालतले तीनै जनालाई ९ वर्ष कैद, बिगो र जरिवानाको सजाय तोकेको थियो। सबैले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसला छ। 

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्