क्रिकेट लिग २ : नेपाल छैटौं स्थानमा सुरक्षित
यो जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।
काठमाडौं, कात्तिक ३ : आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । ओमानमाथि १० रनको रोमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाको छैटौं स्थानमा सुरक्षित गर्दै लिग २ टुंगाएको हो ।
यो जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।
यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।
जितका लागि पाएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन मात्रै बनाउन सक्यो । उसका जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्। सिंहले सर्वाधिक ८९ तथा मिर्जाले ८७ रन बनाए ।
नेपालका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २,२ विकेट लिदा नन्दन यादब र कप्तान सन्दीप लामिछानेले १र१ विकेट हात पारे । यसअघि नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको थियो ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए ।
आजको खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी आज तोडियो। ओमानका शाह फैसलले ५, जे ओदेद्राले ३ विकेट लिए ।









-1792413548.jpeg)

