Kathmandu Press

पदक विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा अलपत्र

काठमाडौं, पुस ९ : काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा अलपत्....

पदक विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा अलपत्र
फाइल फोटो

काठमाडौं, पुस ९ : काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा अलपत्र परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए। जसमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई नौ लाख, रजत विजेतालाई ६ लाख र कास्य जितेकालाई तीन लाख दिने घोषणा गरिएको थियो।

तर, घोषणा गरिएको दुई साता वितिसक्दा पनि त्यसले पूर्णता पाएको छैन। त्यसयता थुप्रै पटक मन्त्रिपरिषद् बैठक बसेको छ। विभिन्न निर्णय गरिएका छन्। सागका विजेतालाई पुरस्कार प्रदान गर्नेसम्बन्धी भने कुनै निर्णय भएको छैन।

जसले गर्दा प्रधानमन्त्री ओलीले गरेको घोषणा अलपत्र परेको छ। त्यससम्बन्धी निर्णय गर्ने प्रक्रिया अझै अघि बढेको छैन।

दुई सातासम्म निर्णय समेत नभएपछि खेलाडीहरूले चासो दिएका छन्। राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले प्रेस विज्ञप्ति जारी गरि घोषणा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ।

सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गरिएको छ।

त्यस्तै, सागमा टिम इभेन्टतर्फ रजत र कास्य पदक विजेता खेलाडीलाई पनि पुरस्कार दिन माग गरेको छ। प्रधानमन्त्री ओलीले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई पाँच लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैनन्।

त्यसैले खेलाडी संघले टिम इभेन्टतर्फपनि रजत र कास्य पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न माग गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं।’

१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल दुई सय ६ पदक जितेको थियो।

प्रकाशित मिति: १२:०० बजे, बुधबार, पुस ९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्