हेर्ने होइन, आँखामा पट्टी बाँधेर बोध गर्ने नाटक
नाटक हलबाट निस्केपछि थिएटरकै कर्मचारी शान्ता माझीसँग नाटकबारे अनुभव सोधेँ । माझीका पिताको चट्याङ परेर मृत्यु भएको रहेछ । मञ्चित नाटकमा चट्याङ परेको आवाज पनि थियो । ‘चट्याङको आवाज सुनेपछि आफू रोएको उनले बताइन्।काठमाडाैं, असार २५ : हामी भन्छौँ– नाटक हेर्न जाने । तर आँखामा पट्टी बाँधेर नाटक हलमा प्रवेश गराइयो । तपाईंलाई अचम्म लाग्ला, नाटक कसरी हेर्ने त ? तपाईं दुविधामा नपर्नुस्, यहाँ म हेर्ने नाटकको कुरा गर्दै छैन ।
काठमाडौंको थापागाउँस्थित मन्डला थिएटरमा रामहरि ढकालको निर्देशन र लेखनमा ‘इन्साइड आउट भाग– फोर’ अर्थात् ‘भित्र–बाहिर भाग ४’ नाटक मञ्चन गरिएको छ । जसमा हामीले विभिन्न गन्ध, शब्द, ध्वनिमार्फत नाटकको कथा बुझ्नुपर्छ ।
नाटकले तपाईंलाई जनयुद्धको त्रासदिको अनुभूत गराउँछ ।
निर्देशक ढकाल नाटकलाई संवेदी प्रदर्शनी कला भन्न रुचाउँछन् । जहाँ हामी आफ्ना पाँच इन्द्रीयमार्फत अनुभूति गर्न सक्छौँ । नाटकमा १० वर्षे जनयुद्धबाट प्रभावित नेपालीको भावनालाई दर्शकमाझ महसुस गराउने प्रयास उनको छ । प्रयोगात्मक यस कलामा इन्स्टलेसन आर्टको अवधारणामा आधारित भएको पनि उनले बताए ।
अनुभूति
दर्शकलाई आँखामा पट्टी र नांगा खुट्टासहित नाटक हलमा प्रवेश गराइन्छ । छरपस्ट भुइँमा कतै अन्नका दाना टेकेको महसुस हुन्छ, कतै लत्ताकपडा छोएको । कतै खुट्टामा केही टाँसिएको भान हुन्छ । हातले छुँदै जाँदा मानिसको टाउको जस्तो आकारका वस्तुको पनि महसुस हुन्छ । घरी मानिस रोएको, घरी चिच्याएको आवाज सुनिन्छ त घरी कुकुरका बच्चाको आवाज, घरी बन्दुक पडकेको आवाज । कतै थर्रर थर्थराएको मुटु आकारको वस्तु छाम्न सकिन्छ । कतै मानिसको खुट्टामाथि टेकेँ कि भन्ने पनि लाग्छ ।
यो यस्तो नाटक हो, जसलाई व्यक्तिले आफ्नै संवेदना अनुरुप अनुभूति गर्न सक्छ । यति हुँदाहुँदै पनि युद्धको त्रासदिलाई तपाईंले महसुस गर्न सक्नुहुन्छ । नाटकले दशवर्षे जनयुद्धको अनुभूति गराउँछ ।
साँच्चि दशवर्षे जनयुद्धलाई मानिसले आ–आफ्नै भोगाइ अनुसार बुझे । आखिर युद्ध युद्ध नै हो । दशवर्षे जनयुद्धमा सरकारी सेना र विद्रोही सेना दुवै पक्षबाट जनताले प्रताडना खेपे ।
नाटक सुरु हुनुअघि निर्देशक ढकालले भनेका थिए, व्यक्तिले व्यक्तिगत भोगाइका रुपमा नाटकको विषयवस्तु अनुभूत गर्नेछन् ।
उनले कुन अर्थमा यसो भने ? मलाई लाग्छ, हिजोका घटनालाई उसैले नै बढी अनुभूत गर्छ, जसले भोगेको छ । जनयुद्ध सुरु हुँदा म जन्मेकी थिएँ, भक्तपुरमा । देशको राजधानीसँग जोडिएको भक्तपुरमा दुरदराजमा जस्तो युद्धको प्रभाव त परेन तर बाछिटा आएकै हुन् । आठ–नौ वर्ष हुँदा सुनेकी थिएँ– मेरो विद्यालयमाथिको गाविसमा माओवादीले बमले विस्फोट गराएका थिए रे । अनि नेपाली सेनाबाट अवकाशप्राप्त मेरो ठूलोबुबालाई लिन कोही आउँदा बुइँगलको परालभित्र उहाँ लुक्नुभएको थियो रे ।
एक घन्टा नाटक हलमा बस्दा मलाई पनि युद्धको त्रासदिको बोध भयो । हो, युद्ध हुनु हुँदैन । जुनसुकै उद्देश्यको युद्ध होस्, त्यसमा समाज र राज्य जिम्मेवार हुन्छ नै । के यो नाटकलाई राज्यका शासक–प्रशासकले बोध गर्लान् ?
नाटक हलबाट निस्केपछि थिएटरकै कर्मचारी शान्ता माझीसँग नाटकबारे अनुभव सोधेँ । उनको अनुभव फरक रहेछ । सिन्धुली माइती, उदयपुर घर भएकी अन्दाजी ४५ वर्षीया माझीका पिताको चट्याङ परेर मृत्यु भएको रहेछ । मञ्चित नाटकमा चट्याङ परेको आवाज पनि थियो । ‘चट्याङको सुनेपछि म रोएँ । मलाई बुवाको सम्झना भयो,’ उनले भनिन् ।
उनी जनयुद्धको पनि भुक्तभोगी हुन् । चट्याङसँगै गोलाबारुदको ध्वनिले उनलाई अझ भयभीत र दुखित तुल्यायो । ‘सिन्धुलीमा पनि जनयुद्धको डर निकै थियो । बुबा भन्नुहुन्थ्यो– गोली जताबाट पनि आउन सक्छ,’ उनले भनिन् । चट्याङ र बन्दुक पड्केको आवाजले उनलाई बुवाको सम्झना भएछ ।
जनयुद्धमा आफन्त गुमाउने, घाइते हुने धेरै छन् । यो नाटकले उनीहरुलाई कस्तो महसुस होला ? म यसै भन्न सक्दिनँ ।
निर्देशक ढकालले जनयुद्धको केन्द्र मानिएको रोल्पाको थवाङमा दश दिन बिताएका रहेछन् । त्यतिबेला त्यहाँका मानिससँग कुरा गर्दा जे सुने, बुझे, त्यसैलाई नाटकमा ल्याएको ढकाल बताउँछन् ।
यस नाटकको भाग १ र ३ नर्वेको ओल्सोमा मञ्चन गरिसकेको ढकाल बताउँछन् । नाटकको भाग २ भने सन् २०१९ मा नेपालमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन गरिएको थियो । २३ असारबाट मञ्चन सुरु भएको भाग ४ १ साउन १ सम्म चल्नेछ ।