Kathmandu Press

छोरी भएकै कारण जन्मघरबाट राजनीति गर्ने अधिकार हुँदैन? 

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र चीनबाट एलएलएम गरेकी कमलाको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको थियो। 
छोरी भएकै कारण जन्मघरबाट राजनीति गर्ने अधिकार हुँदैन? 

काठमाडाैं, वैशाख २१ : आसन्न स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेबाट कमला बोहरा मैदानमा छन्। अघिल्लो निर्वाचनमा यहाँ माओवादी, एमाले र कांग्रेसबीचको कडा प्रतिस्पर्धाबाट प्रमुखको पद माओवादीले जितेको थियो। 

यसपालि स्थानीय तहको नेतृत्व पदमा थोरै महिलाको उम्मेदवारी परेको छ, जसमा कमला आत्मविश्वासपूर्वक गठबन्धनविरुद्ध मैदानमा छन्। 

विद्यालय कमिटीदेखि पार्टी केन्द्रीय सदस्य 

Hardik ivf

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र चीनबाट एलएलएम गरेकी कमलाको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको थियो। 

बेलौरी नगरपालिका– ३ मा जन्मेकी बोहराले स्थानीय लक्ष्मी माविमा कक्षा ६ मा पढ्दै थिइन्, अनेरास्ववियुका अग्रज विद्यार्थी नेता आएर उनलाई स्कुल कमिटीको सचिव बनाए, यो ०५६ सालको कुरा हो। ‘त्यतिबेला मलाई संगठन, पार्टी र राजनीतिबारे खासै ज्ञान भने थिएन,’ कमला भन्छिन्, ‘अनेरास्ववियु विद्यार्थीको हकहितका लागि काम गर्ने संगठन भन्ने त थाहा थियो।’ 

यसपछि विद्यार्थी राजनीतिप्रतिको उनको सक्रियता निरन्तर रह्यो। विद्यालय कमिटी हुँदै २०६४ मा उनी अनेरास्ववियु केन्द्रीय सदस्य बनिन्। २०६८ मा एमाले कञ्चनपुरको सदस्य भएर उनको मूलधारको राजनीति सुरु हुन्छ। त्यसपछि प्रदेश कमिटी सदस्य हुँदै एमालेको १०औँ महाधिवेशनदेखि केन्द्रीय सदस्य बनिन्। कञ्चनपुरको सह–इन्चार्ज समेत रहेकी बोहराले यसपालि मेयरको टिकट पाएकी छन्। 

‘जन्मघर मेरो होइन ?’

‘मलाई बुवाले नर्स पढाउन चाहनुभएको थियो, तर म राजनीतिमा आउन चाहन्थेँ। मैले नर्स पढ्न नमान्दा विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भयो,’ कमला भन्छिन्, ‘मलार्ई अहिले पनि याद छ, त्यतिबेला म बुवासँग रिसाएर केही दिन भोकै बसेँ। मेरो अवस्था देखेर बुवाले भन्नुभएको थियो– आफ्नो मनको गर।’ 

त्यतिबेला महिला राजनीतिमा लाग्दा समाजले त्यति सहज रूपमा नलिने गरेको कमला बताउँछिन्। त्यसैले उनलाई बुवाले सुरक्षित भविष्यका नर्स बनाउन चाहन्थे। 

‘छोरी मान्छे भएर घरबाट बाहिर जानु हुँदैन भन्ने गलत मान्यता समाजमा थियो,’ कमला भन्छिन्, ‘अझै पनि महिला भएकै कारण विभिन्न चुनौतीको सामना गरिरहनुपरेको छ।’ 

यतिखेर आफू जन्मे–हुर्केको र पढेको ठाउँमा नेतृत्व लिन खोज्दा आफूमाथि मानिसले प्रश्न उठाएको उनी बताउँछिन्। २०७४ वैशाखमा उनको विवाह बाँकेको कोहलपुर नगरपालिकामा भयो, उनका श्रीमान् पनि राजनीतिक कार्यकर्ता नै हुन्। 

आफ्नो विवाह फरक जिल्लामा भएकाले आफूमाथि प्रश्न उठाइएको उनी बताउँछिन्। ‘छोरी भएकै कारण मैले विभेद खेप्नुपरेको छ। यसको घर यहाँ होइन, भोलि यो यता नबस्न सक्छे भन्ने जस्ता आक्षेप लगाएर अन्य पार्टीका व्यक्तिबाट ममाथि प्रहार भइरहेको छ,’ कमला भन्छिन्, ‘बुझ्ने मानिसले त बुझेका छन्, तर कतिपय मतदाताबाट सुन्छु– यता नबस्ने भएपछि किन मत दिनू! यस्तो सुन्दा दुःख लाग्छ। छोरी मान्छे पराईको घर जाने हो, कर्मघरमै गरेर खाने हो भन्ने मान्यताका कारण अझै चुनौती सिर्जना भइरहेको छ। जन्मथलोदेखि फरक ठाउँको व्यक्तिसँग विवाह गर्दैमा मेरो पहिचान फरक हुन्छ भन्नु पितृसत्तात्मक सोचको उपज हो। बेलौरी म जन्मेहुर्केको थला हो, मलाई यसको माया छ।’ 

आफू प्रमुखमा निर्वाचित भए बेलौरीमै बसेर नगरवासीको सेवामा खटिने प्रतिबद्धता उनको छ। 

महिला सशक्तीकरणका लागि नै आफ्नो उम्मेदवारी रहेको कमला बताउँछिन्। नीतिकार्यक्रम बनाउने र कार्यान्वयन गर्ने तहमा महिला नपुगेसम्म समाजका रुढीवादी मान्यता भत्काउन नसकिने उनको बुझाइ छ। 

‘समाजमा विकृति, विसंगति छन्। त्यसलाई चिरेर समृद्धि र सामाजिक न्याय स्थापित गर्न पढेलेखेका शिक्षित युवा नेतृत्व तहमा आउन आवश्यक छ,’ कमला भन्छिन्, ‘नेतृत्व तहमा पुग्न महिलाले संघर्ष गर्न सक्छन्, खुला प्रतिस्पर्धा गर्न सक्छ, यसैको उदाहरण हो मेरो, उम्मेदवारी।’ 

‘कृषि, शिक्षा र स्वास्थ्य सुधार्छु’ 

बेलौरीलाई आदर्श नगरपालिका बनाउन चाहन्छिन्, कमला। कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने उनको योजना छ।

‘बेलौरी कृषकको बाहुल्य रहेको नगरपालिका हो। यहाँका किसानलाई मल, बिउदेखि बजारको समस्या छ। उत्पादित सामग्रीलाई सुरक्षित राख्न कोल्डस्टोर अति आवश्यक छ,’ कमला भन्छिन्, ‘तत्काल बेलौरी नगरपालिकाको मुख्य समस्या सुविधासम्पन्न हस्पिटल हो। नगरवासी उपचारका लागि अहिले धनगढी र महेन्द्रनगर जस्ता ठूला सहरमा जानुपरेको छ।’ 

आफूले जिते ५० शय्याको अस्पताल बनाउने, प्रत्येक वडामा एम्बुलेन्सको सुविधा दिने र नगरवासीलाई गुणस्तरीय शिक्षा दिने उनको योजना छ। 

उनका अनुसार, यहाँका महिलामा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने जस्ता समस्या छन्। युवाहरू बेरोजगार भई लागुऔषधमा फस्ने पनि गरेका छन्। सुकुम्बासीका समस्यादेखि शुक्लाफाँटा आरक्ष पीडितका समस्या पनि छन्। यी समस्यामा केन्द्रित रहेर काम गर्ने उनले बताइन्। 

त्यस्तै, बजार व्यवस्थापन, बसपार्क व्यवस्थापन गर्नेदेखि स्वस्थ जीवनका लागि वडाहरूमा व्यायामशाला, खेल मैदान बनाउनेसम्म उनको योजना छ।
 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्