Kathmandu Press

जनसंख्या महिलाको बढी मतदाता पुरुष बढी, कसरी ?

महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता शाह ‘ग्रामीण क्षेत्रका तथा दलित समुदायका महिलाले मतदान गर्नुलाई त्यति आवश्यक नठान्ने भएकाले’ मतदातामा संख्या कम भएको हुनसक्ने बताउँछिन्। 
जनसंख्या महिलाको बढी मतदाता पुरुष बढी, कसरी ?

काठमाडौं, वैशाख १९ : जनगणना २०७८ मा देशभर पुरुषको तुलनामा महिलाको संख्या बढेको देखाएको छ।तर, निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको मतदाता संख्यामा भने महिलाको भन्दा पुरुषको संख्या बढी देखिन्छ। 

जनगणना प्रारम्भिक तथ्यांक अनुसार, पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ (४८.९६ प्रतिशत) छ भने महिलाको संख्या एक करोड ४९ लाख १ हजार १६९ (५१.०४ प्रतिशत) छ।अर्थात् देशभर पुरुषभन्दा महिला ६ लाख ९८ हजार ५८ ले बढी छन्। 

२०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ जना छन्।जसमा महिला (८७ लाख ४१ हजार ५३०), पुरुष (८९ लाख ९२ हजार १०) र अन्य (१८३) छन्।अर्थात् महिलाभन्दा पुरुष २ लाख ५० हजार ४८० ले बढी छन्।

Hardik ivf

जनसंख्याका आधारमा महिलाको मतदाता संख्या कमी हुनुको कारणबारे आफूलाई थाहा नभएको निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।‘महिलाको सहभागिता किन कम भनेर खोज्ने काम अधिकारकर्मी र सञ्चार माध्यमको हो,’ उनले भने, ‘हामीले नामावली संकलन गर्दा कहीँ चुकेजस्तो लाग्दैन !’

‘नागरिकता नहुनु र प्रविधिमा पहुँच नहुनु’

यस सम्बन्धमा हामीले प्रवक्ता पौडेललाई सोध्नुअघि नै समाजशास्त्री र अधिकारकर्मीलाई सोधिसकेका थियौँ। 

समाजशास्त्री मीना उप्रेतीका अनुसार, विकटका बस्ती वा जिल्लामा मतदाता महिलाको नामै दर्ता गराइँदैन।‘महिलाहरू धेरैजसो घर व्यवहारमा व्यस्त हुन्छन्, कहिले मतदाता नामावली खुल्छ भन्ने उनीहरूलाई थाहै हुँदैन,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘घर व्यवहारभन्दा बाहिरका काममा पुरुष धेरै सक्रिय हुन्छन्।पुरुषलाई कार्यालय जान, नाम दर्ता गराउन सहज हुन्छ।’ 

महिलालाई कसलाई भोट दिने भन्नेसम्म थाहा नहुने हुँदा कतिपय स्थानमा मतदाता नामावलीमा नराख्ने गरेको पनि उप्रेती बताउँछिन्।‘जनगणनाका लागि तथ्यांक संकलन गर्न घर–घर पुगियो।तर, मतदाता नामावलीका लागि त्यसो गरिएन।डिजिटल प्रविधिबाट दर्ता गराइने भएकाले पनि सबै महिला समेटिन नसकेको हुनुपर्छ,’ उनले भनिन्, ‘अर्कोतिर, गाउँ तथा जिल्ला छोडेर अन्य स्थानमा बसोबास गर्ने महिला मतदाता नामावली दर्ता गर्न जन्मगाउँ पुग्दैनन्।पुरुष जहाँ गए पनि मतदाता नामवालीमा दर्ता गराउन लापरवाही गर्दैनन्।’

महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता शाह ‘ग्रामीण क्षेत्रका तथा दलित समुदायका महिलाले मतदान गर्नुलाई त्यति आवश्यक नठान्ने भएकाले’ मतदातामा संख्या कम भएको हुनसक्ने बताउँछिन्। 

‘मतदाता नामावली अनलाइन प्रणालीबाट दर्ता गराइएको छ।प्रविधिमैत्री हुन नसकेका ठाउँका महिलाले दर्ता नै गराएका छैनन्,’ उनले भनिन्, ‘महिलाको तुलनामा पुरुष राजनीति र प्रविधिमा धेरै सक्रिय छन्।’ 

उनका अनुसार, दलित समुदायका कतिपय महिलाले नागरिकता पाउन सकेका छैनन्।नागरिकता नभए पनि जनगणना हुन्छ।‘पारिवारिक असहमतिमा भएका विवाहका कारण कति महिला बिनानागरिकता बसिरहेका छन्,’ शाह भन्छिन्, ‘नागरिकता नै नभएपछि मतदान गर्न पाउँदैनन्।’ 

याे पनि

यसपालि किन घटे महिला उम्मेदवार, कानुनी अभाव कि दलको सोचमा समस्या ? 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्