Kathmandu Press

डलर चपाइरहेका सुँगुरदेखि माल अड्डाका हाकिमसम्म

कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजका अनुसार, भ्रष्टाचारका विविध रुप देखाउने चेष्टाले तीनदिने कार्टुन कला प्रदर्शनी गरिएको हो।
डलर चपाइरहेका सुँगुरदेखि माल अड्डाका हाकिमसम्म

काठमाडाैं, वैशाख ७ : सोमबार दिउँसो १२ वर्षीया ईशु श्रेष्ठले वरिष्ठ कलाकार तथा कार्टुनिस्ट अशोकमान सिंहको कार्टुन रमाइलो मानेर हेरिरहेकी थिइन्, नेपाल आर्ट काउन्सिल बबरमहलमा। 

सिंहको कार्टुनमा कालो भादगाउँले शैलीको टोपी लगाएका दुई सुँगुरले १२५औँ श्रेणीको भ्रष्टाचारी पदक-२०२१ पहिरिएका छन् र अनुदानको डलर चपाइरहेका छन्। कार्टुन हेर्न आउने अवलोकनकर्ता यही कार्टुनलाई केहीबेर अडिएर नियालेको देखिन्छ। ईशु भन्छिन्, ‘मलाई यो कार्टुन रमाइलो लाग्यो। कार्टुनको अर्थ त म बुझ्दिनँ, तर सुँगुरहरू क्युट लाग्यो।’ 

Hardik ivf

सिंहले यो कार्टुनमार्फत विदेशीले दिने अनुदानमाथिको भ्रष्टाचारलाई देखाउन खोजेको बुझिन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालको स्थान उच्च नै छ। 

नेपाल आर्ट काउसिन्ल बबरमहलमा तीनदिने (वैशाख ४, ५,६) ‘निसाना : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ गरियो। प्रायः दैनिक अखबार वा अनलाइनमा देखिने शैलीका कार्टुन प्रदर्शनीका भित्तामा अझ स्पष्ट देखिएका थिए। मिडिया रिसर्च नेपाल र कार्टुनिस्ट क्लब अफ् नेपालको आयोजनामा भएको प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएका थिए।

कार्टुनिस्टले साँधेका निसाना

वरिष्ठ कार्टुनिस्ट बात्स्यायनले मालपोतको भ्रष्टाचारलाई व्यंग्य गर्दै कार्टुन तयार गरेका छन्। प्रदर्शनीमा राखिएको उनको कार्टुनमा प्रश्नोत्तर शैलीमा पन्च लाइन छ–  प्रश्न : घर त भव्य बनाउनुभएछ, अब कहिले सर्नुहुन्छ त ? उत्तर ः मालको मुखिया त्यस्तामा बस्न सुहाउँछ र? भाडामा दिएँ !  

माल अड्डाका हाकिमका लागि भ्रष्टाचार केही होइन जस्तो यस कार्टुनले संकेत गरेको बुझिन्छ।

प्रदर्शनीमा कार्टुनिस्ट क्लबका पूर्वअध्यक्ष समेत रहेका कान्तिपुर दैनिकका कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुन थियो– ‘भ्रष्टाचार नियन्त्रण’ पन्च लाइनमा। कार्टुनमा ठूलो भुँडी भएका नेताले भुँडी घटाउनका लागि तौल उठाउन खोजेको देखिन्छ। एकातिर ‘भ्रष्टाचार’ र अर्कोतिर ‘नियन्त्रण’ रहेको भारी उनले उठाउन सकिरहेका छैनन्। कार्टुनमा नियन्त्रणभन्दा भ्रष्टाचार र भ्रष्टाचारभन्दा नेताको भुँडी ठूलो देखिन्छ। यस कार्टुनमार्फत उनले भ्रष्टाचारी नेतामाथि व्यंग्य गरेका छन्। 

कार्टुनिस्ट अनुप गुरुङले नेताले पुल उद्घाटन गर्दै गर्दा पुलै भाँचिएको देखाएका छन्। पछिल्लो समय हामीकहाँ भ्रष्टाचारका कारण विकास निर्माणका कार्य कमसल भएका प्रशस्तै उदाहरण छन्। बनाउँदा बनाउँदैको पुल ढल्नु, हातैले उप्काउन सकिने खालको कालोपत्रे हुनु हाम्रो देशको विकास निर्माणमा नयाँ होइन। 

नयाँ पत्रिका दैनिका कार्टुनिस्ट तथा क्लबका महासचिव रवि मिश्रले पैसाको मोहमा फसेको व्यक्तिलाई संकेत गरेका छन्। ‘काढेको र्‍यालले एउटा नदीको आकार लिइसक्यो। जसमा उनको इमान, इज्जत र नैतिकता डुबेको छ। हुँदाहुँदै ऊ आफैँलाई पनि डुबाउन लागिसक्यो,’ कार्टुनिस्ट मिश्र भन्छन्, ‘यति हुँदाहुँदै पनि ती व्यक्तिलाई चेत छैन। पैसाकै मोहमा अचेत उनी आफू डुबिरहेको पनि हेक्का छैन।’

प्रदर्शनीमा राखिएको कार्टुनिस्ट रामहरि रिमालको कार्टुन, जसले  भ्रष्टाचार बढेको देखाएको छ। ‘नेताले भ्रष्टाचार कम भएको देखाउन खोजेका छन्, तर बढिरहेको छ,’ आफ्नो कार्टुनको व्याख्या गर्दै रिमाल भन्छन्, ‘उनीहरुलाई अझ ताली चाहिएको छ।’

प्रदर्शनीबाट पाएका विविध प्रतिक्रियाले आफ्नो आत्मबल अझ विकास भएको उनी बताउँछन्। ‘सिनियरबाट मिलेको हौसलाले कार्टुन क्षेत्रमा लाग्न थप ऊर्जा मिलेको छ,’ रिमालले भने, ‘यस्ता प्रदर्शनीले अझ मनोबल बढाउने रहेछ।’ 

भ्रष्टाचारी प्रवृत्तिलाई ‘निसाना’

कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजका अनुसार, भ्रष्टाचारका विविध रुप देखाउने चेष्टाले यो तीनदिने प्रदर्शनी गरिएको हो। ‘पैसा, घुस लिनु मात्रै भ्रष्टाचार होइन। झुट बोल्नु, उपहार लिनुजस्ता भ्रष्टाचारका अनेक् स्वरूप छन्,’ उनले भने, ‘जुन राजनीतिमा मात्र नभई शिक्षा, स्वास्थ्य, अनुदान, विकासदेखि ट्रायल पास गर्ने स्थानमा समेत हुन्छ।’

ट्रायल पास सम्बन्धमा कार्टुनिस्ट विश्व थापाको कार्टुन प्रदर्शन गरिएको थियो।  उनले कार्टुनमा यातायात कार्यालयमा हुने भ्रष्टाचारलाई देखाएका छन्। आफ्नो कार्टुन सम्बन्धमा थापा भन्छन्, ‘आठ नौ महिनाअघि पत्रकार अपिल त्रिपाठीले एउटा भिडियो सामग्री पस्केका थिए। जसमा घुस खाएर महिना दिनको ट्रायल डेट दुईतीन दिनमै मिलाएको घटना देखाइएको छ। सोही विषयमा यो यो कार्टुन।’

मुलुकमा बढ्दो भ्रष्टाचार प्रवृत्तिलाई निसाना गरी कोरिएका कार्टुन नै प्रदर्शनीमा राखिएको क्लबका महासचिव रवि मिश्र बताउँछन्। 

निसाना नाम दिइएको प्रदर्शनीको लोगो पनि अर्थपूर्ण छ, पैसाले भरिएको ब्रिफकेसलाई सिसाकलम रुपी तिरले प्रहार गरिएको छ। लोगोको कन्सेप्ट र सिर्जना क्रमशः रवि मिश्र र भानु भट्टराईको हो। ‘प्रदर्शनीको हेतु नै शीर्षक र लोगोमार्फत बुझाउने हाम्रो प्रयास हो,’ महासचिव मिश्र भन्छन्, ‘चुनावपश्चात् देशभरका सातै प्रदेशमा कार्टुन प्रदर्शनीको योजनामा छाैं।’

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्