नेपाल मण्डलमा किन घुमे हरिसिद्धि नाचका देवगण ?
हरिसिद्धिमा हरेक वर्ष हुने यस नाच १२ वर्षको एकपटक मात्र प्रदर्शन गर्ने गरिन्छ। सोही १२ वर्ष यस वर्ष परेको थियो।
काठमाडाैं, वैशाख २ : राजा सुकिचा महादेव (सिफुचो मद्योँ) आफ्ना दुई रानी फुल्चोकी माई (फुचमाजु) र कान्छी धिनचोक माई (धिन्चो माजु) लाई सम्झाउने प्रयत्नमा छन्।
जेठी रानी फुल्चोकी माई धनसम्पत्तिले भरिपूर्ण र गरगरहनाले सुसज्जित छिन्। कान्छी रानी साधारण पहिरन र गहनामा छन्। गरिब भए पनि राजा सिकुचा महादेवलाई कान्छी रानीको उत्तिकै माया लाग्छ।
दुई रानीको मतभेद हुँदा सिकुचा महादेव पर्छन्, कसलाई रोज्ने कसलाई छाड्ने। त्यसैले नाचमा सिकुचा महादेवले कहिले जेठी रानी त कहिले कान्छी रानीलाई सम्झाउने प्रयास गर्छन्।
काठमाडौंदेखि करिब ३० किलोमिटर पश्चिममा रहेको पनौतीस्थित मानेश्वर मन्दिर माथिको पनौली लायकु परिसरको डबलीमा भएको नृत्यको कथा हो यो। चैत २९ मा नाच प्रदर्शनी हुँदा बिहानको साढे ११ बजिसकेको थियो। चैतको चर्को घाममा श्रद्धासाथ मानिसले नाच हेरिरहेका थिए।
यही बिहान साढे ९ बजे यहाँ राजा विक्रमादित्य र चार राजाको नाच प्रस्तुत भयो, जसमा राजा विक्रमादित्यलाई अन्य चार पराक्रमी राजा मिलेर आक्रमण गर्छन्। विक्रामादित्य आफैँ पनि युद्धमा होमिन्छन् र जित्छन्। हरिसिद्धि नाचमा राजा विक्रमादित्यको नाचको छुट्टै महत्व छ। भारत उज्जैनका विक्रामादित्यले हरिसिद्धि नाचलाई नेपालमा स्थापित गरेको जनविश्वास छ। खास उच्चारणा हरसिद्धि भए पनि बाेलीचालीमा हरिसिद्धि नै भन्ने गरिन्छ।
देवमाला वंशावली, भाषा वंशावली, डेनियल राइटको पुस्तक ‘हिस्ट्री अफ् नेपाल’ आदि अनुसार, भारतको उज्जैन (अवन्ती) का राजा विक्रमादित्यले आफ्नी आराध्य देवी हरसिद्धि मातालाई उज्जैनको महांकाल पीठबाट काठमाडौंको बानेश्वरनजिकै स्थापना गरेर हरसिद्धि नाच प्रारम्भ गरेका थिए।
पनौतीमा तीन दिनसम्म १९ वटा नाच देखाइन्छ। यी नाच हरिसिद्धि पुराणअन्तर्गत अच्युत रामायणको आरण्य र किष्किन्दा काण्डमा आधारित छन्। पनौती मात्र नभई सोही प्रकारको नाच हरिसिद्धिमा गत मंसिर पूर्णिमा र फागू पूर्णिमा भएको थियो।
यो नाच चैत १८ देखि नेपाल मण्डलमा घुमिरहेको छ। चैतको १८ देखि २० सम्म धुलिखेल, २१ गतेदेखि २३ सम्म दोलखा, २५ देखि २७ गतेसम्म जयबागेश्वरी (पशुपति) र २८– ३० गतेसम्म पनौतीमा नाच देखाइएको हरिसिद्धि (जलद्याेः) नाच मूल समितिका सदस्य राजेन्द्र महर्जन बताउँछन्।
हरिसिद्धिमा हरेक वर्ष हुने यस नाच १२ वर्षको एकपटक मात्र प्रदर्शन गर्ने गरिन्छ। सोही १२ वर्ष यस वर्ष परेको थियो।
‘नाचका लागि आवश्यक वस्त्र १२ वर्षको एकपटक मात्र परिवर्तन हुन्छ। परिवर्तनका लागि पनि विशेष पूजाआजासहित तिथिमिति हेरेर मात्र लुगा र अन्य पूजाका सामग्री रहन्छ,’ समितिका सदस्य राजेन्द्र महर्जन भन्छन्, ‘परिवर्तन गरिएका पुराना नाचका पुराना वस्त्र तथा वाद्यवादन भने हरसिद्धिको ‘द्योः छे’ अर्थात् ‘देवताको घर’मा राखिन्छ।’
महर्जनका अनुसार, नाचमा १० जना च्यामुले, तीन मुख्य देवता, १६ देवगण (सहायक) गरी २९ जना हुन्छन्।
जलले जोडेको नेपाल मण्डल : संस्कृतिविद् हरिराम जोशी
हरिसिद्धिको पुरानो नाम जतल हो। जुन अप्रभंश भई जल हुन पुग्यो। सोहीबाट जल प्याँख नाम हुन गयो। उक्त जल प्याँख विभिन्न कालखण्डमा रोकिँदै चल्ने क्रमसँगै राजा प्रताप मल्लको पालादेखि उपत्यकामा निरन्तर चलेको मान्यता छ। २०१८ सालमा यो नाच हरायो। पछि, २०६६ साल पछि उक्त नाचलाई प्रदर्शनीमा ल्याएको हो।
‘किंवदन्तीका अनुसार, गोदावरीको फुल्चोकी देवीलाई तन्त्रले तानेर हरिसिद्धिमा राखिएको हो। गोदावरीको फुल्चोकी देवीलाई पहिले जलदेवी भनिन्छ,’ संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘गोदावरीको फुल्चोकी देवीलाई पहिले जल देवी भनिथ्यो। सोही गोदावरीको नदी दुई भागमा विभाजन भएको छ। एउटा वागमतीमा गएर मिसिएको छ भने अर्को चोभार हुँदै पनौतीको लीलावतीमा मिसिन्छ।’
त्यस्तै, नालाबाट आएको नदी हो, पुण्यवती नदी। जुन पनौतीकै पुण्यवतीमा मिसिएको छ। लीलावती र पुण्यवती मिलेर अर्को एउटा नदी बनेको छ, रोशी। तीन नदीको यस समूहलाई त्रिवेणी भनिन्छ।
‘रोसी नदी पूर्वतिर हुँदै कोशीमा गएको मिल्छ। कोशी नदीमा मिसिन जाने क्रममा पहिलो वा ठूलो गाउँ नै दोलखा हो। यसरी गोदावरीबाट बगेको नदी नेपालमण्डलका यी विभिन्न क्षेत्रलाई छुँदै बहेको छ,’ जोशी भन्छन्, ‘गोदावरी नदीलाई फुल्चोकी माईको छोरीका रूपमा लिइन्छ। यसकारण जहाँजहाँ गोदावरी नदी पुगेको उक्त स्थान नाचका लागि जाने गरिएको छ।’
यता धुलिखेलमा त्रिशक्ति त्रिदेवीको ठूलो मन्दिर छ, जो हरसिद्धिसँग सम्बन्धित छ।