Kathmandu Press

‘भिगन भोजन स्वस्थ रहन र वातावरण जोगाउन उपयोगी’

शाहाकारी भाेजनमा दूध, दही, अन्डा पनि समावेश गरिन्छ। ती वस्तु जनावरबाट उत्पादित हुने भएकाले भिगन हुनेले ती वस्तु पनि भाेजनमा समावेश नगर्ने भिगन सगरमाथा आरोही कुन्तल जोइसरको भनाइ थियाे।
‘भिगन भोजन स्वस्थ रहन र वातावरण जोगाउन उपयोगी’
भिगन संस्था नेपालका अध्यक्ष सुरेशप्रसाद शर्मा र भिगन सगरमाथा आरोही कुन्तल जोइसर। तस्बिर : सुजल बज्राचार्य
Hardik ivfHardik ivf

काठमाडौं, चैत १४ : भिगन भोजनले स्वास्थ्य र वातावरणमा सहयोग पुग्ने भएकाले जनमानसमा उक्त सन्देश पुर्‍याइनुपर्नेमा जोड दिइएको छ। 

सोमबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित पत्रकार सम्मेलनमा भिगन संस्था नेपालका अध्यक्ष सुरेशप्रसाद शर्माले भिगन भोजन स्वास्थ्य र वातावरण संरक्षणमा सहयोगी  हुने भएकाले त्यस्तो भोजनको प्रयोगमा जोड दिनुपर्ने बताए। 

आगामी भदौ ३० देखि असोज १ सम्म काठमाडौंको सोल्टी होटेलमा र असोज २ देखि ४ सम्म भुटानमा आयोजना गरिने भिगन फेस्टिभलबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।  

भिगन भोजन माछामासु, दूधदही र महबिनाको विशुद्ध शाकाहारी परिकार भएको उनले बताए। मनिसलाई सताउने विभिन्न रोग न्यूनीकरणमा यस्तो भोजन उपयुक्त हुने उनको भनाइ थियो। ‘जनावरलाई मारेर उपभोग गर्नु हिंसाको बाटो हो,’ उनले भने, ‘त्यसैले यसलाई न्यूनीकरण गर्न पनि भिगन भोजन अपनाउनुपर्छ।’ 

उनका अनुसार भिगन परिकारमा जनावरबाट उत्पादित हुने वस्तु उपभोग गरिँदैन। भिगन अपनाउनेहरूले जनवारजन्य सामग्री प्रयोग भएको लत्ताकपडा समेत प्रयोग नगर्ने जानकारी उनले दिए। ‘यसरी जनावरलाई मार्न न्यूनीकरण गर्न सकिन्छ र वातावरणमा सहयोग पुग्छ,’ उनले भने, ‘जनावर मारेर खाएर मात्र शारीरिक अवस्था बलियो र स्वास्थ्य हुँदैन भन्ने मान्यता गलत हाे।’

भिगन परिकार खाएर पनि स्वस्थ र अरूजस्तै तन्दुरूस्त रहन सक्ने उदाहरण कुन्तल जोइसर रहेको अध्यक्ष शर्माले बताए। ‘कुन्तलले जोइसरले सगरमाथा आरोहण गर्नुभएको छ,’ अध्यक्ष शर्माले भने, ‘उहाँ पहिलो भिगन सगरमाथा आरोही हुनुहुन्छ।’

अध्यक्ष शर्माले त्यस्तो बताइरहँदा भिगनबारे सन्देश प्रवाह गर्दै हिँडेका कुन्तल पनि उक्त कार्यक्रममा सहभागी थिए। उनले पत्रकार सम्मेलनमा बोल्दै भिगन बन्दाका फाइदाबारे अनुभव बाँडे। उनले भने, ‘माछा मासु बिना हिमाल चढ्न सकिँदैन, शरीरमा शक्ति हुँदैन भनेर भन्नेहरूको मुख थुनिदिएको छु ।’ उनी विगत १० वर्षअघि भिगन बनेका हुन्। 

शरीर स्वास्थ्य राख्न र फुर्तिलो बनाउन जनवार मारेर उपभोग गर्न नमिल्ने उनको भनाइ थियो। शारीरिक रूपमा बलियो बन्न दैनिक व्यायाम र वनस्पतिबाट प्राप्त खाद्यान्न पर्याप्त हुने तर्क उनले गरे। ‘मांसाहारीले हिंसाको बाटो बनाउँछ। त्यसैले अहिंसा अपनाएर शान्तिको बाटो पछ्याउन आफ्नो दैनिकी भिगन  खानाबाटै सुरू गर्नुपर्छ,’ कुन्तलले भने, ‘भिगन खानाले जनवारप्रतिको माया बढाउँछ ।’

शाकाहारी भाेजनमा दूध, दही, अन्डा पनि समावेश गरिन्छ। ती वस्तु जनावरबाट उत्पादित हुने भएकाले भिगन हुनेले ती वस्तु पनि  भाेजनमा  समावेश नगर्ने उनको भनाइ थियाे।

भिगनका पनि सयभन्दा बढी परिकार रहेको उनले बताए। उनका अनुसार ती परिकार आगामी ‘भिगन फेस्टिभल’ मा प्रदर्शनमा राखिनेछ। फेस्टिभलमा ३२ देशबाट भिगन परिकार प्रदर्शन गरिनेछ ।  प्रदर्शनी अवलोकन गर्न चाहनेलाई कुनै शुल्क नलाग्ने भिगन संस्थाका अध्यक्ष शर्माले बताए। 


 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्