अग्नि सापकोटाविरुद्ध परेको जाहेरीमा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
सापकोटा लगायतविरुद्ध परेको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई उत्प्रषणको आदेशले खारेज गर्दै अनुसन्धान अघि बढाउन आदेश भएको हो।
काठमाडौं, जेठ २१ : सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा अनुसन्धान अघि बढाउन काभ्रे प्रहरीलाई आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा.कुमार चुडालको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। सापकोटा लगायतविरुद्ध परेको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई उत्प्रषणको आदेशले खारेज गर्दै अनुसन्धान अघि बढाउन आदेश भएको हो।
संवैधानिक इजलासबाट २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउन सापकोटाविरूद्ध काभ्रे प्रहरीमा परेको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी तामेलीमा रख्ने निर्णय बदर भएको छ।
सर्वोच्चको फैसलासँगै द्वन्द्वकालमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउन मार्गप्रशस्त भएको छ । पीडितको माग बमोजिम सर्वोच्चबाट आदेश जारी भएको छ।
रिट निवेदक पक्षबाट वहश गर्दै पीडितका कानुनव्यवसायीले संक्रमणकालीन न्यायका नाममा विलम्ब गरिएको बताउँदै फौजदारी न्यायप्रणालीको नियमित प्रक्रियाबाटै उक्त घटनाको निरुपण हुनुपर्ने माग इजलास समक्ष राखेका थिए। आदेशको लिखितप्रति भने सार्वजनिक भएको छैन।
मृतक लामाकी श्रीमती पूर्णिमाया लामाले द्वन्द्वकालमा आफ्ना श्रीमान् अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। उक्त जाहेरी मुद्दा नचल्ने गरी तामेलीमा राख्ने निर्णय गरेपछि पूर्णिमाया सर्वोच्च अदालतमा पुगेकी हुन्।