कांग्रेस देउवा समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने
‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’
काठमाडौं, असाेज २२ : अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए ।
उनले भने, ‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’
कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन सम्पन्न गर्नलाग्दा इतर समूहले अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । विहीबार नै काठमाडौं महानगरको नगर अधिवेशन हुँदैछ ।
उक्त समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर हो।











