Kathmandu Press

१० वर्षअघिको त्यो विवादास्पद चित्रकला प्रदर्शनी 

त्यस दिन मनीष हरिजन अर्का कलाकार जुपिटर प्रधानसँग चित्रकला प्रदर्शनीको कार्यपत्र बनाउने विषयमा भलाकुसारी गर्नमा व्यस्त थिए। त्यहीबेला केही मानिस हुल बाँधेर ग्यालरीमा पसे।
१० वर्षअघिको त्यो विवादास्पद चित्रकला प्रदर्शनी 

काठमाडौं, माघ १३ : सन्दर्भ सन् २०१२ सेप्टेम्बरको हो। स्थान बबरमहल रिभिजिडेटस्थित सिद्धार्थ आर्ट ग्यालरी, जहाँ कलाकार मनीष हरिजनको ‘द राइज अफ कोलेटरल’ नामक कला प्रदर्शनी जारी थियो। त्यसमा उनका करिब एक दर्जन चित्रकला प्रदर्शनीमा राखिएका थिए।

अगस्टबाट सुरु भएको उक्त प्रदर्शनीको समयसीमा सेप्टेम्बरको आधासम्म थियो। सेम्टेम्बर ११ मा एउटा विवादास्पद घटना हुन पुग्यो। भारतीय राजदूतावास विद्यालयका शिक्षकसमेत रहेका कलाकार हरिजन आफ्नै प्रदर्शनी भइरहँदा पनि दिनदिनै जान भ्याइरहेका थिएनन्। त्यस दिन भने उनी अपराह्नतिर ग्यालरीमा पुगे।

त्यस दिन उनी अर्का कलाकार जुपिटर प्रधानसँग चित्रकला प्रदर्शनीको कार्यपत्र बनाउने विषयमा भलाकुसारी गर्नमा व्यस्त थिए। त्यहीबेला केही मानिस हुल बाँधेर ग्यालरीमा पसे। निकै आक्रोशमा देखिएका उनीहरूले भने, ‘यो चित्र बनाउने को हो?’ कलाकार हरिजनले भने, ‘हजुर मै हुँ। त्यस्तो केही थियो कि चित्रबारे बुझ्नुपर्ने?’

Hardik ivf

‘तैंले केही बुझाउनुपर्दैन, हामीले सबै बुझिसक्यौं,’ उनीहरूको समूहमा रहेका एकजनाले ठाडै भने, ‘हाम्रो देवीदेवतालाई किन यस्तो गरेको?’ एकाएक आएको त्यस प्रकारको प्रतिक्रियालाई हरिजनले सुरुमा हल्का रूपमै लिए। तर पनि प्रतिरक्षामा उनले चित्रकलाको मनशायसहित क्याटलगमा उल्लेख भएका विषयबारे जानकारी गराए। एकजनाले त ‘यहीँ ठोकिदिऔं’ समेत भने। वातावरण एकाएक तनावग्रस्त बन्न पुग्यो। त्यतिबेला भने आफूलाई निकै डर लागेको कलाकार हरिजनले सुनाए।

‘त्यतिबेला प्रदर्शनीमा राखिएका चित्र जलाउनेदेखि चित्र कोर्नेलाई देशनिकाला गर्नेसम्मको कुरा आयो,’ उनले भने, ‘समसामयिक विषयमा कोरिएको मेरो चित्रकलाले कतिपयको आस्थालाई ठेस पुर्‍याएको रहेछ।’ उक्त समूह विश्व हिन्दु महासंघमा आबद्ध मानिसहरूको थियो। त्यसको नेतृत्व नेपाली सेनाका पूर्वकर्णेलसमेत रहेका हेमबहादुर कार्कीले गरेका थिए। सोही संघमा आबद्ध सिन्धु पाठकले चित्रकलाविरुद्ध प्रहरीमा उजुरीसमेत दिइसकेकी थिइन्। विवाद त्यतिमै सीमित रहेन। केही क्षणमै दर्जनौं प्रहरी आए। ग्यालरीका चित्र च्यात्नेसम्मको हर्कत भयो। ग्यालरी नै सिल गर्नुपर्ने अवस्था निम्तियो।

घटनाको अघिल्लो दिन चित्रकलाविरुद्ध प्रहरीमा उजुरीसमेत परिसकेको जानकारी पाएलगत्तै सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफूहरुको तर्फबाट निवेदन पनि दिइएको तर दर्ता हुन नसकेको उनले बताए। घटनाको भोलिपल्ट कलाकार हरिजन र ग्यालरीकी संस्थापक संगीता थापालाई काठमाडौं प्रशासन  कार्यालयमा बोलाइयो।

अब उप्रान्त कहिल्यै हिन्दु देवीदेवताको चित्र कोर्न नपाउने सर्तमा कलाकार हरिजनलाई छाडियो। सोही घटनाकै कारण केही समय ग्यालरी बन्द रह्यो । प्रदर्शनीको उत्तरार्धमा आइपुगेर ग्यालरी बन्द हुनु र कलाकारको कुचीमा अंकुश लाग्नु निश्चय नै कला जगत्का लागि अप्रिय खबर बन्न पुग्यो।

के थियो उक्त प्रदर्शनीमा ?

‘द राइज अफ कोलेटरल’। कोलेटरलको अर्थ हो एउटै जराबाट उम्रिएका रूखबाट फैलिएका हाँगाबिँगा। त्यस चित्रमार्फच पश्चिमा मुलुकका मिथक तथा सुपर हिरोको अवधारणाप्रति नयाँ पुस्ता आर्कषित रहेको तर आफ्नै मौलिक मिथक तथा धार्मिक आस्थाबाट भने विमुख हुँदै गएको अवस्थालाई चित्रण गर्न खोजेको उनले बताए। ‘बढ्दो ग्लोबलाइजेसनले हिन्दु मिथक तथा कथामाथि पारेको प्रभाव प्रदर्शनीको थिम थियो।’

प्रदर्शनीमा राखिएका एउटा चित्रमा असंख्या नटराजका आकृति छन्। हरेक आकृतिमा क्रमिक रुपमा सुपरम्यानको कस्ट्युम बनाएर त्यसमा रङरोगन गरिएको छ। त्यसलाई उनले ‘सुपर नटराज’ नाम दिएका थिए । ‘गन्स एन्ड रोजेज’मा उनले नटराजको पोजमा एक हातमा गन (बन्दुक) र अर्को हातमा रोज (कमलको फूल) को आकृति कोरिएको छ । 

अर्को चित्रकला थियो काली माताको। उक्त चित्रमा काली माताको सट्टा ग्रिक मिथककी मेड्युसाको टाउको गाँसिएको थियो । साथै माझी औंलाको संकेत उनले चित्रमा उतारेका थिए। कालीमातालाई पनि सुपरम्यानकै कस्ट्युममा सजाइएको थियो।

हिन्दु देवता भैरव र मार्बल कमिक्स पात्र क्याप्टेन अमेरिकाको युद्ध, १ सय ८ वटा देवताका कस्ट्युम र मार्बल तथा डिसी कमिक्सका पात्रहरूसँग हिन्दु मिथकका देवीदेवतालाई मर्ज गरेर बनाइएका चित्रकला पनि प्रदर्शनीमा राखिएका थिए।

सबैभन्दा विवादास्पद भने कालीमाताको चित्रकला बन्न पुग्यो। धार्मिक क्षेत्रलाई निकै संवेदनशील मानिन्छ। धार्मिक आस्थाविपरीत कलाकारले चित्रकला बनाउँदा मनोमानी गरेको आरोप विश्व हिन्दु महासंघको थियो।

‘कुरा बल्झँदै जाँदा जातीयताको विषय पनि आयो। दलित क्रिस्टियनले पश्चिमाबाट पैसा खाएकोजस्तो कुरा पनि उठ्यो,’ उनले भने, ‘यो कुराले झन् मलाई डर लाग्यो। मेरो जातीयता उहाँहरूका लागि खोट लगाउने बाटो बन्न पुग्यो।’

‘प्रदर्शनीले उठाउन खोजेको बहस ओझेलमा पर्‍यो, खालि विवाद मात्रै निम्त्यिो,’ कलाकार हरिजनले भने, ‘प्रदर्शनीको थिम सबैले बुझिदिनुहुन्छ होला जस्तो लागेको थियो तर त्यस्तो भएन।’

यसरी साम्य भयो विवाद

त्यो घटनाका सन्दर्भमा कलाकारितामा राज्यस्तरबाट भएको हस्तक्षेप भएको भन्ने आवाज पनि उठ्यो। राज्यको त्यस्तो कमदविरुद्ध थुप्रै कलाकारहरूले ऐक्यबद्धता जनाए। केही सर्त राखेर विवाद साम्य भयो। कालीको विवादास्पद चित्रकला प्रदर्शनीबाट हटाउनुपर्ने सर्त पनि एउटा थियो । 

त्यसपछि कलाकार हरिजन करिब पाँच महिनाका लागि बेलायत (युके) भ्रमणमा निस्किए । त्यहाँबाट फर्किएर उनी आफ्ना अन्य कला प्रदर्शनी गर्ने योजना बनाए । तर, विगतको घटनाका कारण उनलाई सो कार्य गर्नबाट रोकियो। जसले गर्दा उनी तत्काल कलाप्रदर्शनीमा उत्रन सकेनन् । त्यसपछि अन्य कामकाजमै आफू व्यस्त रहन थालेको उनले बताए। 

‘उक्त घटनाबाट बाहिर निस्कन मलाई तीन वर्ष लाग्यो,’ उनले भने। सन् २०१७ उनी चित्रकलामै स्नातककोत्तर गर्न युके हानिए। यतिखेर उनी स्नातकोत्तरको पढाइ पूरा गरेर कलाकारितामै सक्रिय छन्।  बितेको दशकलाई फर्केर हेर्दा उनी उक्त विवादास्पद प्रदर्शनीलाई आफ्नो करिअरकै ‘बेन्चमार्क प्रदर्शनी’ ठान्छन्। उक्त घटनाले अझै पनि आफ्नो धारणा तथा विचार सन्तुलित हुन प्रोत्साहन गरिरहने उनी बताउँछन्। 
 

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्