अनि नोराले सिन्दूर पुछिन्...
नाटकमा महिलाले समाजमा आफ्नो स्वतन्त्र पहिचान बनाउन गर्नुपर्ने संघर्षबारे चित्रण गरिएको छ।काठमाडौं, माघ ८ : गत मंगलबार साँझको करिब दुई घन्टा कुञ्ज थिएटरमा बिताइयो। आरोहण गुरुकुलको आयोजनामा ‘पुतलीको घर’ हाल मञ्चन भइरहेको छ। उक्त नाटक हेनरिक इब्सेनको ‘अ डल्स हाउस’ को अनुदित संस्करण हो।
साहित्यमा इब्सेनका ‘सेलिब्रेटेड’ नाटकमध्येमा पर्छ, ‘अ डल्स हाउस।’ त्यसको नेपालीमा अनुदित संस्करण ल्याउने प्रयास गुरुकुल आरोहणका निर्देशक सुनिल पोखरेलले गरेका हुन्। यस नाटकसँगै करिब एक दशकअघि बन्द भएको गुरुकुल आरोहरणको दोस्रो इनिङ सुरु भएको भन्दा अत्युक्ति नहोला।
उक्त नाटक १ सय ३४ वर्षअघि लेखिएको थियो। अंग्रेजी साहित्यकै विद्यार्थी भएका कारण इब्सेनको उक्त नाटक अनि कथासारबारे पहिल्यै अवगत थिएँ। यद्यपि, नाटक हेर्ने उत्साहसँगै कुञ्ज थिएटर पुगिएको थियो। उक्त नाटकको मञ्चन गत पुस ३० बाट थालिएको थियो।
कथामा के छ ?
नोरा विवाहिता नारी हुन्। उनी निकै घरेलु छिन्, सँगसँगै खर्चालु पनि। उनी तीन सन्तानकी आमा हुन्। उनका पति हेमन्त भर्खरै बैंकको म्यानेजर भएका छन्। आफ्नो दुःखका दिन बिस्तारै समाप्त हुनेमा उनीहरू विश्वस्त छन्। हेमन्त पनि पत्नी नोरालाई निकै माया गर्छन्। स्वास्थ्य स्थितिका कारण हेमन्तले नोरालाई गुलियो खान प्रतिबन्ध गरेको छ। उनी नोरालाई माया गरेर ‘सानी मैनाचरी’, ‘जुरेली’जस्ता प्रेमिल शब्द प्रयोग गर्छन्। उनीहरूको जोडी ‘पर्फेक्ट’ लाग्छ।
यसैमा केदार र लिना दुई पात्रको प्रवेश हुन्छ। लिना नोराकी पुरानी साथी हुन्। केदार पेसाले लेखनदास हुन्। उनी हेमन्तको बैंकमा लेखनदास छन्। हेमन्त केदारलाई फिटिक्कै मन पराउँदैनन्। नाटकमा अर्का पात्र पनि छन् डा. राणा, जो हेमन्तका साथी हुन्। उनी पनि केदारलाई मन पराउँदैनन्। विगतमा गरेको एउटा किर्ते कामका कारण केदारको छवि बिग्रिएको छ। केदारलाई बर्खास्त गरेर उनको स्थानमा काम खोज्दै आएकी लिनालाई लगाउने निधो हुन्छ।
तर, केदारसँग एउटा यस्तो रहस्य छ, जसले हेमन्तको आत्मसम्मानलाई चोट पुग्न सक्छ। उक्त रहस्य केदार र नोराबीचको हुन्छ। उक्त रहस्य नै नोराका लागि खुसी र गौरवको विषय पनि हुन्छ। नाटक अघि बढ्ने क्रममा हेमन्तले कस्तो प्रतिक्रिया जनाउलान्? के नोराको अपेक्षाअनुरूप वातावरण नाटकमा बन्नेछ त ? हेमन्तको प्रतिक्रियाले नोराका लागि अनुकूल या प्रतिकूल कस्तो परिस्थिति जन्माउला ? यी कौतूहतला मेटाउन भने थिएटरमा दुई घन्टा गुजार्दा उत्साहजनक नै हुनेछ।
नाटक पढिसकेका, सुनिसकेकाका लागि घटना सार अवगत नै छ। तर, जसका लागि नौलो छ, तिनीहरूले अन्तिमसम्म नाटक हेर्दा समयको बर्बाद भएको पक्कै महसुस गर्नेछैनन्। कति अपेक्षित र कति अनपेक्षित ‘टुइस्ट एन्ड टर्न’ नाटकमा देख्न पाइनेछ। नाटकले मञ्चबाहिर पनि दर्शकलाई पछ्याइरहनेछ।
नेपाली नोराको कथा
नाटकको कथावस्तु उही नै छ। नेपाली परिवेशअनुरूप त्यसलाई ढाल्न सक्नु निर्देशक पोखरेलको कुशलता हो। अर्थात् नाटक मञ्चन गर्दा ‘कल्चरल डिफ्रेन्स’ अर्थात् ‘सांस्कृतिक विभिन्नता’ लाई भने ध्यान दिइएको छ। संवादको रूपान्तरण गर्दा इब्सेनको लेखनीको सार मर्न नदिई नेपाली परिवेश सुहाउँदो संवाद गज्जब लाग्छ। नाटक हेर्दै गर्दा सो नाटक इब्सेनले त्यस समयका लागि नभई अहिलेको नेपाली समाजको परिकल्पना गरेर पो तयारका रहेछन् भन्ने भान हुन्छ।
सायद निर्देशक पोखरेलको विशेष क्षमता नै हो भन्नुपर्छ, पश्चिमा नाटकलाई पनि नेपाली मौलिकतामा सुहाउँदो तरिकाले ढाल्नु । इब्सेनकी नोरा नभई नेपाली निशा नै पो हुन् कि जसतै लाग्छ, जसले नेपाली समाजमा पारपाचुके गरेका तमाम महिलाको प्रतिनिधित्व गर्छिन्।
पारपाचुकेपछि पुरुषको तुलनामा महिलालाई डिभोर्सीको धब्बा बढी लाग्ने गर्छ। यद्यपि, समाजको परिधिलाई नाघ्दै एउटा विषाक्त पुरुषत्वमुक्त स्वतन्त्रता रोज्न थालेका छन्, आजका महिलाले। यो आफैंमा विद्रोह हो, पितृसत्ताविरुद्ध।
यहाँ निर्देशकीय पक्षको भनाइलाई साभार गर्दा सान्दर्भिक नै होला। त्यो हो, ‘नाटकमा समाजघर मात्र नभई आफ्नो जीवनसाथीको जीवनमा पनि नारीको अवस्था कस्तो छ भन्ने विषयको उठान गरिएको छ। बढ्दै गइरहेको पारपाचुकेको विषयलाई नाटकले सम्बोधन गरेको छ।’
१ सय ३४ वर्षअघि सन् १८४८ मा जब युरोपेली मुलुकमा ‘फस्ट वेभ अफ फेमिनिजम’ अर्थात् ‘पहिलो चरणको महिलावाद’ देखा पर्याे, तब इब्सेनले ‘अ डल्स हाउस’ लेखेको थिए। पहिलो चरणमा तत्कालीन समाजमा सामाजिक अधिकारका विषयमा विद्रोह गरिएको थियो। आफ्नो हकका लागि पहिलो कदम चाल्दै गरेको समयमा इब्सेनको यो नाटकले महिलावादी र उनीहरूले सञ्चालन गरिरहेको आन्दोलनलाई प्रश्रय दिएको थियो।
एउटा मिथक नै बनेको छ, विश्वभर जति ठाउँमा नाटक मञ्चन भए, त्यहाँ नोराको भूमिका निर्वाह गरेकी महिला पात्रले पारपाचुके गरेका छन्।
पुरुषप्रधान समाजमा नारी संघर्ष
नाटकको उत्तरार्धमा हेमन्तसामु सेतो सारीमा नोरा आउँछिन्। यो दृश्य आफैमा शक्तिशाली छ। सायद कुनै पनि महिलाले आफूलाई त्यस्तो पहिरनमा देख्न चाहन्नन्। तर, उनी भने आफूलाई त्यसलाई सुसज्जित भएको महसुस गर्छिन्।
कारण, उनलाई भान भएको छ, उनी पिता र पतिका लागि एउटा पुतलीबाहेक केही थिइनन्। विवाहअघि पिता अनि विवाहपछि पतिको अधीनमा रही उनीहरूकै इसारामा चल्नुपर्ने पुतली भएको महसुस नोरालाई भएको छ।
नाटकमा महिलाले समाजमा आफ्नो स्वतन्त्र पहिचान बनाउन गर्नुपर्ने संघर्षबारे चित्रण गरिएको छ। यसबाहेक नोराले एक दृश्यमा आफ्नी साथी लिनालाई भनेको कुरा पनि निकै चोटिलो छ। ‘लिना! काम गरेर पैसा कमाउँदा पुरुषसरह महसुस भयो मलाई,’ उनले भनेकी छन्।
पुरुषले महिलालाई सधैं आफूभन्दा तल नै देख्न चाहन्छ। जसको एक ज्वलन्त उदाहरण हुन् हेमन्त । एक संवादमा उनले पत्नीलाई क्षमा गर्नुजतिको आनन्ददायी पल पुरुषलाई अन्य केहीमा नहुने बताएका छन्। यसले उनमा रहेको पुरुषवादी अहंकारलाई इंगित गर्छ। ‘सानी मैनाचरी’, ‘कोइली’, ‘खर्चालु आइमाई’ जस्ता प्रेमिल लाग्ने शब्दको यथार्थ अब नोराले बुझेकी छन्।
हेमन्तले समाजमा एकल महिला भएर बस्दा हुने कठिनाइबारे उनलाई सजग तुल्याउने प्रयास त गरेका छन् तर, नोरा जस्तोसुकै परिस्थितिको सामना गर्न र संघर्षमा उत्रिन तत्पर भएकी छन्। जसको आरम्भस्वरूप उनले गृहत्यागलाई अंगीकार गरेकी छन्।
अनि नोराले सिन्दूर पुछिन्
नाटकको अन्तिम दृश्यले दर्शकको मस्तिष्कलाई अझै झक्झक्याउँछ। दर्शकको अपेक्षा नोरा आवेगमा जोडले ढोका ढप्क्याएर घरबाट हिँड्छिन् भन्ने हुन्छ। अर्थात् नाटकको उत्तरार्धमा कहिले नोराले ढोका ‘स्ल्याम’ गर्लिन् वा ढोका बजारेर हिँड्लिन् भन्ने ‘आइकनिक दृश्य’ लाई व्यग्रतापूर्वक पर्खिरहेका हुन्छन्।
तर, नेपाली नोरा भने ढोका बजारेर हिँड्दिनन्। तर उनी आफ्नै पतिसामु आफ्नो सिन्दूर पुस्छिन्। हिन्दु धर्ममा सिन्दूरलाई सौभाग्यको प्रतीक मानिन्छ। सोही सौभाग्यलाई उनी स्वयं मेटाउँछिन्।
यसमा निर्देशक पोखरेलको नाट्य प्रस्तुति कौशलता तारिफयोग्य छ । उक्त ‘आइकनिक दृश्य’का लागि तुलनीय अर्को दृश्य हालसम्म कतै रहेको सुनिएको छैन। नेपाली धार्मिक मान्यताअनुसार कुनै महिलाले पतिकै सामु सिन्दूर मेट्नु अकल्पनीय घटना हो। नाटकमो यसलाई प्रस्तुत गर्नु पुरुषत्वविरुद्ध नारी विद्रोहको निकै सशक्त विम्ब हो।
तथापि, एउटा प्रश्न भने उठ्छ, के सिन्दूरले नेपालका हरेक जातिका महिलाको सौभाग्यलाई प्रतिबिम्बित गर्छ त? कतिपय जातिमा सिन्दूरलाई मान्यता नै दिइँदैन। यस अर्थमा भने ‘मल्टिकल्चर फेमिनिजम’ को पक्षमा नाटकले केही अभ्यास गर्न सक्थ्यो कि भन्ने सवाल उठ्नु स्वाभाविक लाग्छ।