Kathmandu Press

महिलामा स्तन क्यान्सर : गत वर्ष भक्तपुर क्यान्सर अस्पतालमा मात्रै २५९ ले उपचार गरे

भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक ५० हजारको हाराहारीमा क्यान्सर परीक्षण गर्न आउँछन्। जसमध्ये पुरुषको तुलनामा महिलाको संख्या दोब्बर रहेको छ।
महिलामा स्तन क्यान्सर : गत वर्ष भक्तपुर क्यान्सर अस्पतालमा मात्रै २५९ ले उपचार गरे

काठमाडाैं, पुस ६ : ५६ वर्षीया सीताकुमारी बिसुन्केले भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी छन्। काभ्रे माइती भएकी उनको १८ वर्षको उमेरमा सिन्धुलीका श्याम बिसुन्केसँग विवाह भएको थियो। विडम्बना, उनी ३० वर्षकी हुँदा उनका श्रीमान्को मृत्यु भयो, जतिबेला उनीहरुका दुई छोरी जन्मिसकेका थिए। अहिले आएर सीताको स्तनमा गाँठो देखियो।

‘पहिलेदेखि नै स्तनमा गाँठो देखिएको थियो, वास्ता गरिनँ। अहिले यसैले गर्दा बिरामी पनि हुन थालेपछि सबैले एकपटक क्यान्सरको परीक्षण गराउ भने,’ सीताकुमारी भन्छिन्, ‘यहाँ आएर जाँच गर्दा क्यान्सर देखियो।’ परीक्षणका लागि मात्र १० हजार रुपैयाँ खर्च भएको उनी बताउँछिन्। अहिले उनी भक्तपुरमै आफन्तकहाँ बसेर उपचार गरिरहेकी छन्।

०००

Hardik ivf

भक्तपुरकी ४२ वर्षीया माया कपाली (नाम परिवर्तन, उनले आफ्नो नाम बताउन चाहिनन्) स्तन क्यान्सरबाट पीडित छन्। केही समयदेखि स्तनमा गाँठा देखिन थालेपछि उनी भक्तपुर क्यान्सर अस्पतालमा जँचाउन पुगिन्, क्यान्सर भएको पुष्टि भयो।

३५ वर्षको उमेरमा विवाह गरेकी उनले विवाहको तीन वर्षमा छोरालाई जन्म दिइन्। बच्चालाई सधैँ एउटा मात्र स्तनपान गराएका कारण उनको अर्को स्तनमा क्यान्सर देखिएको अस्पतालका चिकित्सक बताउँछन्। बच्चाले नमानेकाले उनले सधैँ एउटा मात्र स्तन चुसाउने गर्थिन्।

०००

भक्तपुर क्यान्सर अस्पतालका अनुसार, यस अस्पतालमा वार्षिक ५० हजारको हाराहारीमा क्यान्सर परीक्षण गर्न आउँछन्। जसमध्ये पुरुषको तुलनामा महिलाको संख्या दोब्बर रहेको छ।

अस्पतालका अनुसार, सन् २०२० मा मात्रै यस अस्पतालमा ४९ हजार एक सय ७८ बिरामी उपचारका लागि आएका थिए। जसमध्ये ३१ हजार चार सय ९७ महिला र १७ हजार ६ सय ८१ पुरुष थिए। सोही वर्ष क्यान्सरको परीक्षण गर्न मात्रै १० हजार एक सय ५८ व्यक्ति आएका थिए, जसमा ६ हजार ६ सय ४२ महिला र तीन हजार पाँच सय १६ पुरुष थिए।

त्यस्तै, फलोअपका लागि आएका ३७ हजार दुई सय १२ बिरामीमध्ये २३ हजार आठ सय ८९ महिला र १३ हजार तीन सय २३ पुरुष छन्। आकस्मिक सेवा लिने एक हजार आठ सय आठ बिरामीमध्ये नौ सय ६६ महिला र आठ सय ४२ पुरुष थिए।

यहाँ आउने केही महिलामा स्तन क्यान्सर देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेल बताउँछन्। ‘महिलाहरूमा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ,’ उनले भने, ‘सन् २०२० मा हाम्रो अस्पतालमा दुई सय ६० स्तन क्यान्सरका बिरामी आएका थिए। जसमध्ये दुई सय ५९ जना महिला थिए भने एक जना पुरुष।’ पुरुषलाई पनि स्तनमा क्यान्सर हुन सक्ने उनी बताउँछन्।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेल।

अहिले विशेषगरी २० वर्षभन्दा माथि उमेर समूहका महिलामा स्तन क्यान्सरको समस्या देखिएको उनी बताउँछन्। ‘क्यान्सरको मुख्य समस्या भनेकै अन्य रोगजस्तो दुखाइ वा धेरै लक्षण नदेखिनु हो। यसकारण कतिपयलाई आफू रोगी भएको छिटै थाहा हुँदैन र ढिला गरी उपचारका लागि आउँछन्,’ डा. पौडेल भन्छन्, ‘समयमै रोग थाहा नहुँदा धेरैजसो बिरामी क्यान्सरको थर्ड, फोर्थ स्टेजमा मात्रै उपचारका लागि आएको पाइएको छ।’

सबै महिलाले वयस्क भएपछि कम्तीमा एकपटक क्यान्सरको परीक्षण गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार, महिलाले वयस्कमा क्यान्सरको स्क्रिनिङ टेस्ट गर्न आवश्यक छ। ‘४० वर्षभन्दा माथि उमेर समूहका महिलाले मेमोग्राफी गराउनुपर्छ,’ उनी भन्छन्, ‘यसबाहेक सेल्फ एक्जामिनेसन र क्लिनिकल एक्जामिनेसन गर्न सकिन्छ।’

अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर पहिलो स्टेज (पहिलो चरण) मै पत्ता लाग्न सक्ने भएकाले आफैँले यसबारे जानकारी लिएर सेल्फ एक्जामिनेसन गर्न सकिने उनी बताउँछन्। यसपछि स्तनमा कुनै प्रकारको गाँठो महसुस भएमा अस्पतालमा परीक्षण गर्नुपर्ने उनको सुझाव छ। ‘सामान्यतः स्तनमा गाँठो देखिनु, स्तनको छाला सुन्तला रंगको देखिनु र निप्पल डिस्चार्ज हुनु नै स्तन क्यान्सरको प्रमुख लक्षण हो,’ डा. पौडेल भन्छन्, ‘किमो थेरामी, शल्यक्रिया र हर्माेनल थेरापीबाट यसको उपचार गर्न सकिन्छ।’

यो पनि

 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्