Kathmandu Press

क्यान्सरको उपचार गर्न आउनेमा पुरुषभन्दा महिला दोब्बर

सरकारले अहिले विपन्न वर्गका क्यान्सर पीडितलाई प्रतिव्यक्ति एक लाख प्रदान गर्ने गरेको छ । भक्तपुर क्यान्सर अस्पतालबाट सन् २०२० मा एक हजार पाँच सय ३३ जना (महिला : ८२६, पुरुष : ७०७) ले उक्त सेवा पाएको तथ्यांक छ ।
क्यान्सरको उपचार गर्न आउनेमा पुरुषभन्दा महिला दोब्बर

काठमाडाैं, कात्तिक ४ : असोज १५ को बिहान भक्तपुर क्यान्सर अस्पताल पुग्दा निकै भीड थियो । कोही टिकट काट्ने त कोही ओपिडीमा पस्न लाइनमा बसिरहेका थिए । कोही आफन्त वा परिवारलाई औषधि लिन, कोही नियमित थेरापी गर्न, कोही पुरानो रोग बल्झिएर पुनः परीक्षण गर्न आएका थिए ।

शारीरिक हिसाबले स्वस्थ नै देखिने केही व्यक्ति क्यान्सरको परीक्षण गर्न आएका रहेछन् । यसैमध्येको एक थिइन्, सिन्धुलीकी १५ वर्षीया उमा बस्नेत । कक्षा १० मा अध्ययनरत उनलाई पिता डम्बरबहादुर बस्नेतले लिएर आएका थिए ।

डम्बरका अनुसार, करिब दुई महिनाअघि उमा खेल्दाखेल्दै बेहोस हुन थालिन् । टाउको दुख्ने लगायत समस्या पनि देखियो । त्यसपछि उनलाई सिन्धुलीको स्वास्थ्य चौकीमा लगियो । त्यहाँ परीक्षणमा केही स्पष्ट नभएपछि उनलाई काठमाडौंमा परीक्षण गर्न पठाइयो ।

काठमाडौंको थापाथली अस्पतालमा परीक्षण गर्दा उनीमा रगतको क्यान्सर देखियो । दुई दिन थापाथली अस्पतालमा राखेपछि त्यहाँ उपचार नहुने भएपछि उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा पठाइयो । आर्थिक अवस्था कमजोर भएको हुँदा सिभिलबाट पनि उनीहरूलाई भक्तपुर क्यान्सर अस्पताल पठाइयो ।

पाँच छोराछोरीमध्ये कान्छी छोरी उमाको यो अवस्थाले डम्बर निकै तनावमा छन् । उनी भन्छन्, ‘यति सानो उमेरमा छोरीलाई यस्तो रोग आइलाग्यो । जाँच गराउँदागराउँदै भएको पैसा पनि सकियो । कसरी थप उपचार गराउने सोच्नै सकेको छैन । कान्ति बाल अस्पतालमा कम पैसा लाग्छ भन्ने सुनेको छु । अब त्यही लाने सोचमा छु ।’

यस्तै, सफल घर्ती मगर दाङदेखि आफ्नो टाउकोको ट्युमरको उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका छन् । १९ वर्षीय सफल एक वर्ष अगाडिदेखि धमिलो देख्ने, वस्तुहरू दुईवटा देख्ने, टाढा वा नजिकको अक्षर पढ्न नसक्ने भएका थिए । त्यसपछि उनले दाङको क्लिनिकमा गएर आँखाको परीक्षण गराए । धेरै समयसम्म उक्त समस्या निको नभएपछि उनले सिटिस्क्यान समेत गराए । पछि नाक, कान घाँटीको चिकित्सकसँगको परीक्षण गराएपछि उनलाई क्यान्सर भएको थाहा भयो।

गत पुस महिनामा उनको त्रिवि शिक्षण अस्पतालमा ट्युमरको अपरेसन भएको थियो । त्यहीँको एक चिकित्सकले भक्तपुर अस्पतालमा विपन्न वर्गका क्यान्सर पीडितलाई सरकारबाट एक लाख बराबरको सेवा–सुविधा प्रदान गर्ने जानकारी गराएपछि गत असोज ११ गते उनी यहाँ भर्ना भएका हुन् । सफल भन्छन्, ‘गत पुसमा टाउकोको अपरेसन गराएको थिएँ । त्यसपछि लगातार २८ दिन रेडियो थेरापी गरेँ । अहिले किमो गरिरहेको छु ।’

उनका दाइ महेश घर्ती मगरका अनुसार, अहिलेसम्म उनको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भएको छ । महेश भन्छन्, ‘यहाँबाट पाएको एक लाख बराबरको उपचार सुविधाले पनि धेरै हदसम्म सहयोग मिल्यो ।’ उनका बुबा कर्णसिंह घर्तीमगर सरकारी शिक्षक हुन्।

सरकारले अहिले विपन्न वर्गका क्यान्सर पीडितलाई प्रतिव्यक्ति एक लाख प्रदान गर्ने गरेको छ । भक्तपुर क्यान्सर अस्पतालबाट सन् २०२० मा एक हजार पाँच सय ३३ जना (महिला : ८२६, पुरुष : ७०७) ले उक्त सेवा पाएको तथ्यांक छ ।

महिलाको स्तन, पाठेघर र पुरुषको फोक्सो

कलाकुमारी मगरको गत आइतबार पाठेघर क्यान्सरको अपरेसन भएको थियो । ४३ वर्षकी कलाकुमारीलाई धेरै समयदेखि फोहोर पानी पग्ने, महिनावारी गडबडी लगायत स्वास्थ्य समस्या थियो । तर, परीक्षण गर्न लाज लाग्ने कारणले उनले सो लक्षणलाई बेवास्ता गरिन् । उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘धेरै अगाडिदेखि महिनावारी गडबडी हुने, फोहोर पानी बग्ने लगायत समस्या देखिएको थियो । जँचाउन जान लाज लाग्थ्यो । सुरुमै लाज नमानी राम्ररी परीक्षण गराएको भए यस्तो ठूलो अपरेसन गर्न नपर्ने थियो ।’

हामीसँग बोल्दै गर्दा पनि उनले आफ्नो आँसु रोक्न सकेकी थिइनन् । भनिन्, ‘कुनै पनि परीक्षण गर्न लाज मान्न नहुने रहेछ । सुरुमै थाहा भएको भए न क्यान्सर नै हुँदैनथ्यो कि । अहिले अपरेसन त भयो, तर चिकित्सकले क्यान्सर धेरै फैलिसकेको छ भनेका छन् । पूरा निको हुने सम्भावना कम छ । एक महिनापछि थाहा हुन्छ भनेका छन् ।’

यसअघि उनले परीक्षण नगराएको पनि होइन । चिकित्सकको लापरबाहीका कारण उनलाई क्यान्सरको सुरुको चरणमै थाहा नपाएको उनको गुनासो छ ।

‘महिनावारी छिटो र लामो समयसम्म हुने समस्या लिएर दुई वर्ष अघिदेखि मोडल अस्पतालमा परीक्षण गराइरहेको थिएँ । त्यहाँको रिपोर्टमा सबै नर्मल नै देखिन्थ्यो । बीचमा लकडाउनको समय गाउँ (झापा) गएँ, त्यो बेला नियमित चेकअपका लागि पनि आउन पाइनँ। फर्केर आएपछि अर्कै चिकित्सकलाई परीक्षण गराउने सोचले वीर अस्पतालमा गएँ,’ उनले भनिन् । वीर अस्पतालमा एकपटक परीक्षण गर्नेबित्तिकै उनलाई डाक्टरले पाठेघरमा क्यान्सर भएको जानकारी दिए । थप पुष्टिका लागि उनले थापाथली अस्पतालमा एमआरआई र अन्य परीक्षण गराइन् । सबैमा क्यान्सर नै देखियो । क्यान्सरको उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल नै राम्रो भएको सुनेको भएर यहाँ आएको उनी बताउँछिन् ।

यहाँ विशेषगरी काठमाडौं उपत्यका र वरिपरिका जिल्लाबाट उपचारका लागि आउने गर्छन् । ‘क्यान्सरको तीनवटै मुख्य उपचार पद्धति (अपरेसन, रेडियो थेरापी र किमो थेरामी) रहेको नेपाल सरकार मातहतको एक मात्र क्यान्सर अस्पताल यही हो,’ उनले भने, ‘यहाँ क्यान्सरका सबै प्रकारको उपचार गर्न सबै उमेर समूहका बिरामी आउँछन् । अहिले महिलामा स्तन र पाठेघरको क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर बढी देखिएको छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलका अनुसार, फोक्सोको क्यान्सर हुनुको मुख्य कारण सुर्तीजन्य पदार्थको सेवन नै हो । पाठेघरको क्यान्सरमा धेरै कारण हुन सक्छन् । १० प्रतिशतमा भने वंशाणुगत कारण क्यान्सर हुन सक्छ ।

मानिसका विभिन्न अंग अनुसार क्यान्सरका लक्षण फरक–फरक हुन्छ । सामान्यतः धेरै दुब्लाउने, खाना नरुच्ने, बढी थकाइ महसुस हुने, कमजोर हुने, स्तन क्यान्सरमा स्तनमा गाँठो आउने, फोक्सोको क्यान्सरमा खोक्दा मुखबाट रगत आउने लगायत लक्षण देखिने डा. पौडेल बताउँछन् ।

पुरुषभन्दा महिला बढी

क्यान्सरको सम्पूर्ण उपचार पद्धतिको प्रयोग गर्छ, भक्तपुर क्यान्सर अस्पतालले । यस अस्पतालमा अहिले दैनिक करिब ५ सय जनाले ओपिडी सेवा लिँदै आएको अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेल बताउँछन् ।

विगतको तुलनामा क्यान्सरका बिरामीहरू बढेको भए पनि अस्पतालमा आउनेको संख्या कम रहेको अस्पतालका प्रवक्ता प्रेम सुजखु बताउँछन् । ‘गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि नयाँ तथा पुराना बिरामी अस्पताल आउन पाएका थिएनन्,’ उनले भने ।

सन् २०१९ मा मात्रै यस अस्पतालमा जम्मा ८१ हजार पाँच सय ४२ (महिला : ५६,३०२, पुरुष : २५,२४०) बिरामीले सेवा लिए । यो तथ्यांकले पुरुषको तुलनामा क्यान्सरका बिरामी महिला बढी रहेको देखाउँछ ।

यस वर्ष नयाँ बिरामी कुल १९ हजार चार सय ५९ (महिला : १३,७०९, पुरुष : ५,७५०) आएका थिए । त्यस्तै, पुराना बिरामी (फलोअपका लागि) कुल ५९ हजार ७९९ (महिला : ४१,३३६, पुरुष : १८,४६३) आएका थिए । यस वर्ष एमर्जेन्सी सेवा लिनेमा महिला एक हजार दुई सय ५७ र पुरुष एक हजार २७ जना थिए ।

सोही वर्ष यस अस्पतालमा चार हजार चार सय ८० जनाले ओटी, ८ हजार चार सय ६६ जना भर्ना र एक हजार ५० जनाले रेडियोथेरापी सेवा लिएका छन् ।

सन् २०२० यस अस्पतालमा मात्रै कुल ४९ हजार एक सय ७८ (महिला ३१,४९७, पुरुष : १७,६८१) बिरामी  उपचारका लागि आएका छन् । जसमध्ये १० हजार एक सय ५८ नयाँ बिरामी (महिला : ६,६४२, पुरुष : ३,५१६), ३७ हजार दुई सय १२ जना पुराना बिरामी (महिला : २३,८८९, पुरुष : १३,३२३) थिए ।  

यस्तै, सोही वर्ष एमर्जेन्सीतर्फ एक हजार ८ सय ८ (महिला : ९६६, पुरुष : ८४२) बिरामी रहेका छन् । यी तीनवटा गरी गत वर्ष भक्तपुर क्यान्सर अस्पतालमा मात्रै (महिला ३१,४९७, पुरुष : १७,६८१) कुल ४९ हजार एक सय ७८ बिरामी अस्पताल आएका छन् ।

यी बिरामी मध्ये ओटी सेवा लिनेमा एक हजार ४ सय २६ जना, भर्ना हुनेमा ५ हजार ८३२ जना, ल्याब सेवा लिनेमा ३५ हजार ६३ र रेडियोथेरापी लिनेको संख्या ८ सय ८० जना रहेको अस्पतालको तथ्यांक छ ।

सन् २०२० मा एक हजार तीन सय ३९ महिला र एक हजार एक सय ७८ पुरुषले नियमित डायग्नोसिस गराएको अस्पतालको तथ्यांक छ।

 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्