मधेसबाट माटो ल्याएर काठमाडौंमा चित्र
यो परम्परागत भित्ते चित्र बनाउनका लागि उनीहरू जनकपुर धनुषादेखि आएका हुन्। उनीहरूले चित्रमा गोबर र माटोको प्रयोग गरेका छन्। नजिक जाँदा हिरिक्क गोबरको गन्ध आउँदा हामीलाई पनि कुनै गाउँको आभास भएको थियो।काटमाडाैं, पुस ३ : ठूलो भित्तोलाई क्यानभास बनाइएको छ। एउटा ठूलो रूख, रूखको फेँदमा माटोको घैँटो, घैँटोसँगै माछा, रूखवरपर मन्दिर, कलश, प्वालैप्वाल भएको माटोको घैँटो बोकेर नाचिरहेका दुई महिला– यस्ता थुप्र्रै मूर्त आकृति छन् क्यानभासमा।
भित्तोमा कलात्मक चित्र सिर्जना गर्न चार महिला खटेका छन्, झिझिया गाउँदै–
तोहरे भरोसे बरहम बाबा झिझिया बनौलिये हो
बरहम बाबा झिझियापर होइयौ न सवार बालक तोहर
झिझिया खेलाइछ हो।
४२ वर्षीया मधुमाला यी शब्द गुनगुनाउँदै घैँटो बोकेर नाचिरहेकी महिलाको आकृतिलाई पूर्णता दिँदै थिइन्।
‘यो झिझिया नाचमा गाइने लोकप्रिय गीत हो,’ मधुमालाले आफ्नो चित्रलाई माटोको लेप दिँदै भनिन्, ‘गीतको अर्थ झिझिया मनाउनका लागि माटोको घैँटा बनाउने कुमालेसँग गरिएको बातचितमा आधारित छ।’
मधुमालासँगै स्वरमा स्वर मिलाउँदै ५२ वर्षीया सुधिरा कर्ण, ५७ वर्षीया रेबकी मण्डल र ६१ वर्षीया मञ्जुला ठाकुरले चित्रलाई माटोको लेप दिँदै थिए।
यो दृश्य हो– बौद्धस्थित तारागाउँ संग्रहालय परिसरको, जहाँ मिथिला कलाकारले मिथिला कला तयार गरिरहेका थिए। उनीहरूलाई ‘काठमाडौं ट्रिनाले’ले यहाँ निम्त्याएको थियो। उनीहरूले बनाएको यो कला फेब्रुअरी ११ देखि मार्च ११ सम्म प्रदर्शन गरिनेछ।
मधेसदेखि माटो
यो परम्परागत भित्ते चित्र बनाउनका लागि उनीहरू जनकपुर धनुषादेखि आएका हुन्। उनीहरूले चित्रमा गोबर र माटोको प्रयोग गरेका छन्। नजिक जाँदा हिरिक्क गोबरको गन्ध आउँदा हामीलाई पनि कुनै गाउँको आभास भएको थियो।
यो माटो उनीहरूले जनकपुर, धनुषादेखि ल्याएका हुन्। ‘यो चित्र बनाउन चिप्लो माटो, भुस अनि गोबर आवश्यक हुन्छ,’ मञ्जुला भन्छिन्, ‘हामीले माटो मात्रै ३० बोरा ल्याएका थियौं।’
सुरुमा उनीहरूले माटो, गोबर, भुस आदिको लेपले मात्र चित्रलाई आकृति दिएका थिए। ‘यो चित्र सुकेपछि यसमा अन्तिम चरणमा रङरोगन गर्नुपर्छ,’ मधुमाला भन्छिन्, ‘हामीले विशेषतः विवाह, व्रतबन्धजस्ता मंगल कार्यमा यस्ता चित्र बनाउने गर्छौं।’
अर्की कलारका मञ्जुला परम्परादेखि नै यही चलन चल्दै आएको छ र मिथिला चित्रकलाको सौन्दर्य नै भित्तामा पोतिनु रहेको बताउँछिन्।
के हो झिझिया नाच ?
मिथिला क्षेत्रमा दशैं सुरु भएसँगै नौरथामा नाचिने नाच हो, झिझिया। कोसीभन्दा पश्चिम, गण्डकभन्दा पूर्व, पहाडभन्दा तल दक्षिण र भारतको गंगा नदीभन्दा उत्तरका सीमा क्षेत्रलाई मिथिलाञ्चल भन्ने गरिन्छ।
देवीको उपासनाका लागि प्रस्तुत गरिने यस नाच दुर्गा, भगवती, कालीको मन्दिर गरिन्छ। मन्दिर परिसरमा रहेको रूख वरपर घुमेर मौलिक रूपमा नाचिने उक्त नाच हाल भने समूहमा मिली जतासुकै नाच्न थालिएको उनीहरू बताउँछन्।
संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिका अनुसार, महिलाले मात्र नाच्ने एक विशेष नाच हो, झिझिया। ‘यस नाच गरे घर–परिवारमा देखिने रोगव्याधि तथा भूतप्रेत, प्रकोप, बोक्सी हट्छ भन्ने जनविश्वास छ,’ संस्कृतिविद् प्रेमर्षि भन्छन्, ‘दशैंकै आसपास शरद ऋतु पर्छ , यो फुर्सदिलो समय हो। यसले के देखाउँछ भने पहिलेदेखि नै मानिसहरू सन्ध्याकालीन समय उपयोग गर्दै यो नाच नाचेका हुन सक्छ।’
मधुमालाका अनुसार, झिझिया नाचमा प्रयोग हुने माटाको घैँटालाई ठाउँठाउँमा प्वाल पारिएको हुन्छ भने भित्र दियो बालिन्छ। मधुमाला भन्छिन्, ‘पुर्खाले भने अनुसार झिझिया नाच्ने महिलाले नाच यसरी नाच्नुपर्छ कि घैँटाको प्वाल कसैले गन्न नसकोस्।’ यसमा संस्कृतिविद् प्रेमर्षि नाच नाच्ने व्यक्तिमा स्फूर्ति कायम राख्न यस प्रकारको भनाइ प्रचलित गरिएको हुन सक्ने बताउँछन्।
महिलाहिंसा विरुद्धका चित्रकला
मिथिला क्षेत्रदेखि काठमाडौं आएका यी महिला कलाकार हालसम्म महोत्तरी, सुनसरी, बटुवल आदि गरी २५ भन्दा बढी जिल्ला घुमिसकेका छन्। पहिलेपहिले स्वास्थ्य जनचेतनासम्बन्धी चित्रकला कोर्ने यी कलाकार पछिल्ला केही वर्षयता महिला हिंसाविरुद्धका कला बनाउँछन्।
‘हामी सबै कलाकार जनकपुरको नारी विकास केन्द्र संस्थामा कार्यरत छौँ। हामीले विशेषतः मधेसमा व्याप्त तिलक, दाइजो प्रथाविरुद्ध बढी चित्र बनाउँछौँ,’ कलाकार सुधिरा भन्छिन्, ‘अहिले महिला विरुद्धको हिंसालाई पनि हामीले कलामार्फत व्यक्त गर्न थालेका छौँ।’
कलाकार मञ्जुला ‘नारी विकास केन्द्र’की संस्थापक हुन्। उनका अनुसार, पछिल्लो समय उनीहरूले ‘बेटी पढाउ, बेटी जोगाउ’ जस्ताअभियान चित्रकलामार्फत चलाउँदै आएका छन्।