Kathmandu Press

मूर्ति चोरीको कथा

‘गत मंसिर १८ गते मात्र ३८ वर्षअघि हराएको लक्ष्मीनारायणको मूर्ति पाटनको पटटोलमा फिर्ता ल्याइएको छ। उक्त मूर्ति अमेरिकास्थित डल्लास म्युजियम अफआर्टस्मा पुगेको थियो। अहिले फेरि यहाँको मूर्ति चोरी भएको छ। यसले मूर्ति चोरी गर्ने गिरोह अझै सक्रिय रहेको जनाउँछ।’
मूर्ति चोरीको कथा

काठमाडाैं, मंसिर २३ : काठमाडौंको हलचोकस्थित आकाश भैरव मन्दिर रित्तो भएको छ, यहाँको मूर्ति गत मंगलबार राति चोरी भयो। मंगलबार बिहान यहाँका पुजारी नारायण पुटुवार उदास मुद्रामा थिए। प्रहरीबाट सोधपुछको क्रम चलिरहेको थियो। उनले प्रहरीलाई मूर्ति चोरीको वृत्तान्त बताउँदै थिए।

हरेक दिन पूजा गर्न आउने स्थानीय अलमलमा थिए। मन्दिर परिसर नै उदास थियो, स्थानीयको मुहारमा आफ्नो आस्थाको धरोहर ढलेको भाव देखिन्थ्यो।

‘पहिले आदेश्वर, अस्ति इचंगु नारायण मन्दिरकाको मूर्ति चोरी भयो, आज यहाँको,’ भीडमा एक स्थानीय भन्दै थिए।

Hardik ivf

मन्दिर परिसरनजिकै तरकारी पसल गर्ने ६३ वर्षीया सुकु लामा खिन्न थिइन्। उनका लागि यो मन्दिर ठूलो भरोसा थियो। उनले मध्यराततिर मूर्ति चोरी भएको थाहा पाइन्। ‘एकाबिहानै मन्दिरमा गाइँगुइँ सुन्छु, आज कति चाँडै पूजा गर्ने मान्छे आए भनेर बाहिर हेरेको त मूर्ति चोरी भयो भनेर पुजारीबाजे कराइरहेका थिए,’ सुकु लामा हतास हुँदै भन्छिन्, ‘सधैँ पुजिरहेको, देखिरहेको मन्दिरमा मूर्ति नदेख्दा मन्दिर नै रित्तो लाग्दो रहेछ।’

दुई वर्षअघि पनि सोही मूर्ति चोरीको प्रयास भएको उनले बताइन्।

कसरी चोरी भयो ?

पुजारी पुटुवारका अनुसार, गत मंगलबार मध्यरातमा श्री हलचोक आकाश भैरव मन्दिरमा अज्ञात तीनजनाको समूहको प्रवेश भयो। बाहिर खस्याकखुसुक्कको आवाज सुनेर पुजारी पुटुवारी ब्युँझिए। उनी मन्दिर परिसरमै जस्तापाताले छाएको सानो छाप्रोमा सुतेका थिए। ब्युँझिएर ढोका बाहिर निस्कन खोज्दा उनलाई दुईजनाले ढोकामै रोके।

‘चिच्याइस् भने मारिदिन्छौँ,’ पुजारी पुटुवारी भन्दै थिए, ‘मलाई दुईजनाले समाए, चिच्याउन दिएनन्। उनीहरूले मुखमा मास्क र टाउकामा रुमालको फेटा बाँधेका थिए। मैले ठम्याउन सकिनँ। समूहको एक व्यक्तिले मन्दिरको चेन गेट खोली मूर्ति निकाल्न थाल्यो। करिब आधा घन्टामै उनीहरू मूर्ति लिएर भागे। त्यसपछि लगत्तै आफूले छोरा, वरपरका छिमेकी र प्रहरीलाई गुहार मागेको पुजारी बताउँछन्।

आकाश भैरवको महत्त्व

हलचोक आकाश भैरवका दुई मूर्ति थिए मन्दिरमा। एक पुरानो र अर्को सोही पुरानो मूर्तिमाथि खप्टाएर राखेको नयाँ। नयाँ मूर्ति २०७० सालमा बनाइएको थियो। पुरानो मूर्ति तीन सय वर्ष पुरानो भएको पुजारी पुटुवार बताउँछन्। उनका अनुसार, पुरानो मूर्ति फलाम वा अन्य साधारण धातुको हुन सक्छ। ‘हामीले पूजेर मात्र राख्यौँ, मूर्ति कुन धातुको भन्ने वास्तै गरेनौँ,’ उनी भन्छन्, ‘यद्यपि, दुवै मूर्तिमा सुनको जलप लगाइएको थियो।’

इतिहासकार त्रिरत्न मानन्धरका अनुसार, हलचोकका आकाश भैरव इन्द्रजात्रासँग पनि जोडिएका छन्। कुमारी रथवरिपरि सबैभन्दा पहिले हलचोकको आकाश भैरवलाई नाचगानसहित परिक्रमा गराउनुपर्ने हुन्छ। त्यतिबेला नर्तकले भैरवको मुकुन्डो लगाएर नाचगान गर्छन्। त्यस्तै, हरेक १२ वर्षमा आकाश भैरव मन्दिर परिसरमा देवीनाच हुने गर्छ। हलचोकका आकाश भैरव यहाँका स्थानीयका इष्ट देवता हुन्।

एक स्थानीय भन्छन्, ‘इष्ट देवता नै चोरी हुँदा अब हामीले के कस्तो अनर्थ भोग्नुपर्ने हो।’

मूर्तिहरु चोरी हुनुमा राज्य संयन्त्रको लापरबाही भएको ठान्छन्, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ। ‘सुन्नमा आए अनुसार पुलिसदेखि राज्य संयन्त्र र ठुल्ठूला होटलमै पनि छापा मार्नुपर्ने स्थिति सिर्जना हुन थालेको छ,’ उनी भन्छन्।

सतर्कता अपनाइएन

एक वर्षअघि पनि यहाँको मूर्ति चोरीको प्रयास भएको थियो। त्यतिबेला पनि नरेबहादुर पुटुवार नै पुजारी थिए। यहाँका पुटुवारहरूले पालैपालो पुजारीको जिम्मेवारी सम्हाल्ने गरेका छन्।

दुई वर्षअघि, रातको त्यस्तै १ बजेतिर कोही आएर बाहिरबाट छाप्रोमा चुकुल लगाइदिए। नरेबहादुर र उनकी श्रीमतीले चिच्याएर हारगुहार मागेका थिए। हारगुहारले वरपरका बासिन्दा ब्युँझिएपछि मूर्ति चोरहरू भागेको नरेबहादुर पुटुवार बताउँछन्। ‘परार साल चोरी हुनबाट जोगिएको मूर्ति यसपटक भने लगिछाडे,’ नरेबहादुर भन्छन्, ‘पक्कै पनि पहिलेकै मानिस हुनुपर्छ, यसपटक पनि।’

मन्दिर परिसरमा सुरक्षा संयन्त्र वा सिसिटिभी क्यामेरा हालसम्म जडान भएको छैन। मन्दिरको सुरक्षाका निम्ति तीन महिनाअघि वडा कार्यालयमा निवेदन दिएको र नगरपालिकाबाट पनि सिफारिस आएको यस मन्दिर व्यवस्थापन समिति सचिव शुक्रबहादुर पुटुवार बताउँछन्। ‘तर, वडा कार्यालयको ढिलासुस्तीले त्यो काम हुन सकेको छैन,’ उनले भने।

चार महिनामा तीनवटा मूर्ति चोरी

आकाश भैरव नपुग्दै करिब एक–दुई किलोमिटर वर एउटा मन्दिर छ, आदेश्वर महादेवको। दुई महिनाअघि मात्र उक्त मन्दिरको हजार वर्ष पुरानो राधाकृष्णको शिला मूर्ति हराएको त्यहाँका पुजारी केदार अर्याल बताउँछन्।

उनका अनुसार, गत वैशाखमा लकडाउन सुरु हुनु अघिल्लो दिन मात्रै मन्दिरको गाग्री, पूजाको थाली, सिक्का, जलहरी, भाँडा लगायत सामान चोरी भएको थियो। ‘भर्खरै दुई महिनाअघि मात्र राधाकृष्णको मूर्ति चोरी भयो,’ अर्याल भन्छन्, ‘उक्त मूर्ति हजार वर्ष पुरानो भनिन्छ।’

त्यसको १५ दिनपछि सोही क्षेत्रको इचंगुनारायण मन्दिरको राधाकृष्णकै शिलामूर्ति चोरी भएको उनले बताए। दुवै मन्दिर परिसरको मूर्ति हराएको सम्बन्धमा प्रहरी बिट सीतापाइलामा निवेदनसमेत दर्ता गरिएको छ।

‘तर प्रहरी प्रशासनबाट कुनै खबर आएको छैन,’ अर्याल भन्छन्, ‘मन्दिरको सुरक्षा छैन। मन्दिरमा पाले छैनन्। सिसिक्यामेरा छैन।’

चोरीका मूर्ति विदेशमा पुर्‍याइन्छ

सम्पदा अभियन्ता रोशन मिश्रका यहाँका मूर्ति विदेश पुग्ने बताउँछन्। ‘विदेशका संग्रहालयमा रहेका हाम्रा मूर्तिमा अब अर्को एउटा थपिने हो कि भन्ने डर छ,’ मिश्र भन्छन्, ‘गत मंसिर १८ गते मात्र ३८ वर्षअघि हराएको लक्ष्मीनारायणको मूर्ति पाटनको पटटोलमा फिर्ता ल्याइएको छ। उक्त मूर्ति अमेरिकास्थित डल्लास म्युजियम अफआर्टस्मा पुगेको थियो। अहिले फेरि यहाँको मूर्ति चोरी भएको छ। यसले मूर्ति चोरी गर्ने गिरोह अझै सक्रिय रहेको जनाउँछ।’

हराएका मूर्ति फिर्ता गर्न र चोरी हुन नदिन अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। मूर्ति चोरीलाई रोक्न विशेषतः समुदायका मानिस र प्रहरी प्रशासन मिलेर बृहत अभियान चलाउनुपर्ने उनी बताउँछन्।

उनका अनुसार, हालसम्म करिब ६ वटा मूर्ति अमेरिका, फ्रान्स, युके गरी भिन्न देशबाट फिर्ता भएका छन्। उनी भन्छन्, ‘१० महिनामा एउटा मूर्ति ल्याउन मुस्किल हुँदा ६ महिनामा तीनवटा मूर्ति चोरी भएका छन्।’

कसरी हुन्छ मूर्ति चोरी ?

पूर्वडिआइजी हेमन्त मल्लका अनुसार मूर्ति चोर्नु सहज काम होइन। यसमा धेरै तहमा काम हुने उनी बताउँछन्। उनका अनुसार, विशेषतः रातमा चलखेल तथा हिँड्डुल गर्न सक्ने व्यक्तिलाई यस प्रकारको काममा लगाइन्छ। एकपटक अन्य अनुसन्धानका क्रममा पक्राउ परेका एक अपराधीले मूर्ति पनि चोरेको स्विकारेको उनी बताउँछन्। ‘ती व्यक्तिले रातमा सवारी साधन चलाउँथे,’ मल्लले भने, ‘उनलाई अर्कैले मूर्ति चोर्न लगाएको खुलेको थियो।’
 
उनका अनुसार, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा डिल गर्न सक्ने व्यक्ति नै मूर्ति चोरीमा संग्लन भएको पाइएको छ। ‘विशेषतः चोरिएको मूर्ति नाकाबाट बाहिर लैजाने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘प्रायः नेपालबाट भारत हुँदै अन्य देशमा मूर्ति जाने गर्छ। राज्य संयन्त्रले हाल एयरपोर्टमा कडाइ गरे पनि नाका सुरक्षामा अझै चुकिरहेको छ।’
 
कहिलेकाहीँ चोरिएका मूर्ति नेपालभित्रै घुमिरहने पनि उनी बताउँछन्। ‘चोर्नेबित्तिकै मूर्ति बाहिर नलगी देशभित्रै गुमराहमा राखेको र मुद्दा सेलाएपछि नाका कटाउन खोजेको पनि पाइएको छ,’ उनले भने।  

 

 

प्रकाशित मिति: १०:०८ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्