नाफिज जर्नल ‘अर्थचित्र’ विमोचन, आर्थिक पत्रकार गौतम सम्मानित
काठमाडौं, मंसिर ८ : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक पत्रकार सम्मान तथा नाफिज जर्नल ‘अर्थचित्र’ विमोचन गरेको छ।अर्थतन्त्रको...
काठमाडौं, मंसिर ८ : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक पत्रकार सम्मान तथा नाफिज जर्नल ‘अर्थचित्र’ विमोचन गरेको छ।
अर्थतन्त्रको पुनरुत्थान विषयमा केन्द्रित जर्नल अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुले विमोचन गरे। यसैगरी कार्यक्रममा अग्रज आर्थिक पत्रकार न्यु बिजनेस एजका कार्यकारी सम्पादक केशव गौतम सम्मानित भएका छन्।
सम्मानित पत्रकार गौतमले आफूलाई सम्मानको योग्य ठान्ने नाफिजलाई धन्यवाद दिँदै आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्ने बताए। आर्थिक पत्रकारहरुमा भाषालाई सहज र सरल बनाउन निकै चुनौती रहेको उनको बुझाइ छ।
कार्यक्रममा अर्थचित्रका सम्पादक लोकबहादुर चापागाईंले पुस्तक सम्पादकको जिम्मेवारी प्रति नाफिजलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नयाँ पुस्ताका आर्थिक पत्रकारहरुलाई नाफिज सिकाईको पुल बन्नुपर्ने बताए। उनले आर्थिक पत्रकारिता अत्यन्त कठिन भएको हुँदा नाफिजले पत्रकारको समस्या पहिचान गरी सोही अनुसारको सीप विकासका लागि तालिम, गोष्ठी, सेमिनार आयोजना गर्न सम्बन्धित निकायसँग मध्यस्तता भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। आर्थिक पत्रकारले निरस भाषाका माध्यमबाट अर्थतन्त्रको विकृति, विसंगती केलाउने गरेको उनले बताए।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारले उठाएको अनुसन्धानले आर्थिक क्षेत्रमा ठूलो योगदान र महत्वपूर्ण भूमिका रहेको जिकिर गरे। आर्थिक पत्रकारले लेखेको लेख तथा रिपोर्टिङले अर्थ क्षेत्रमा नयाँ आयाम थप्ने र आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोग पुग्ने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको बताए। मल्लले आर्थिक क्षेत्रमा आबद्ध पत्रकारहरुले सत्य, तथ्य तथा मुलुकको पुनरुत्थान गर्न सहयोग गरेको बताउँदै अझै यस क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवर्धन गनुपर्ने उनले बताए।
त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड १९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए। सरकार नीजि क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताए। साथै, सरकारले नीतिगत व्यवस्थापन गरेमा सहज ढंगले अघि बढ्न सक्ने उनको भनाइ छ।
यस्तै, उद्योग वाण्ज्यि महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले गर्दा आर्थिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए। कोभिडले सबै क्षेत्रमा असर परेकाले सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको र राहत प्रदान गर्नुपर्नेमा जोड दिए। त्यसैगरी, सरकारको पुनरुत्थानका लागि सरकारले राहतका साथे पर्यटन व्यवसायमा सहज बनाउनुपर्ने बताए। गोल्छाले एमसीसी कुनै पनि हालतमा पारित गर्नुपर्ने विकल्प नभएको जानकारी दिए।
कार्यक्रममा उपस्थित अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए। सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको बताए।
त्यस्तै, सरकारको समृद्धिको सपना साकार पार्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए। निजी क्षेत्रको सहयोग विना सरकारले कुनै पनि कार्यको पूर्णता दिन नसक्ने बताउँदै आर्थिक पुनरुत्थानामा सरकारले विभिन्न लगानी जुटाएर सहयोग गर्ने बताए।
यस्तै, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस्तारै अर्थतन्त्रमा सुधार भइरहेको बताए। अन्य विकसित मुलुकको अर्थतन्त्रमा जस्तै नेपालको पनि विस्तारै आर्थिक क्षेत्रमा सुधार भइरहेको हुनाले आगामी दिनमा राम्रो नतिजासहित तथ्याङ्क सार्वजनिक हुन सक्ने जानकारी दिए।