महिला हिंसा र विभेदको पिँधमा विषाक्त पुरुषत्व 

काठमाडौं, मंसिर ८ : केही महिनाअघि एक दम्पती एक सपिङ मलको बरन्डामा थिए, दुई सन्तानका साथ। करिब तीन वर्षको देखिने उनीहरूको छोराले खेलौना बन्दुक चलाइरहेका थिए, करिब ८ वर्षकी देखिने छोरीको काखमा भने गुडिया थियो। त्यो दृश्यमा हाम्रो पुरुषवादी सत्ता र मानसिकता लुकेको देखिन्थ्यो। जस्तो कि पुरुषले गोली चलाउँछ, लड्छ, महिलाले घरभित्रका काम गर्छन्, केटाकेटी हुर्काउँछन्। घर–परिवार र समाजले नै सानैदेखि पुरुषमा विषाक्त पुरुषत्व  (टक्सिक मस्कुलिनिटी) भरिदिएको हुन्छ।  

‘रक्षाबन्धनमा भाइ उभिन्छ, मभन्दा ठूलो भएर। चाहे मैले उसलाई पढ्न सिकाइरहुँ, तर रक्षाबन्धनमा उसले भन्छ कि म तिम्रो रक्षा गर्छु, सुरक्षा गर्छु। ए मेरो भाइ, तिम्रो रक्षा मैले विगत १५ वर्षदेखि गरिरहेकी छु। तिम्रो नाकमा सिगान बगेको दिनदेखि मैले तिमीलाई स्याहार गरेकी छु। तर, रक्षाबन्धनमा मलाई त्यही धरातलमा उभ्याइन्छ कि तिमी तल छु, तिम्रो रक्षा यसले गर्छ।’

लेखक तथा अधिकारकर्मी कमला भासिनले भारतीय टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मा बोलेको अंश हो यो। यसले समाजमा पुरुषवाद वा पुरुषसत्ता कसरी टिकिरहन्छ र महिलालाई मानसिक रूपमै कमजोर बनाउन के कस्ता संस्कृति, मान्यताको सहारा लिइन्छ भन्ने प्रस्ट्याउँछ। अझ पुरुषको पुरुषत्वलाई विषाक्त बनाउन केले भूमिका खेलेको हुन्छ भनेर पनि देखाउँछ। 

नेपाली समाजका सन्दर्भमा पनि यही लागू हुन्छ। घरमा छोरालाई छोरीभन्दा बलियो, संरक्षकका रुपमा प्रस्तुत गर्ने थुप्रै मान्यता र संस्कृति छन्, जसले विषाक्त पुरुषत्वलाई बढाउन भूमिका खेलिरहेछन्। 

पितृसत्ताले विषाक्त पुरुषत्वलाई दिन प्रतिदिन मलजल गरी हुर्काएको छ, बढाएको छ। दिनप्रति दिन महिलालाई कमजोर, परनिर्भर र पुुरुषको अधीनमा राख्नका लागि  निर्माण गरिएको षडयन्त्र हो, विषाक्त पुरुषत्व। जसका हांगा र जरा परम्परा र संस्कारका नाममा चारैतिर फैलाइएको छ, हुुर्काइएको छ।  हाम्रा धार्मिक परम्परा, मूल्य–मान्यताले देवीका रूपमा मूर्तिपूजा त ग¥यो तर सोही देवीको उपनाम दिई महिलालाई मूर्ति बनाउन तत्पर रहिरह्यो, बाध्य पारिरह्यो। 

विषाक्त पुरुषत्व कसरी हुर्काइँदै छ ?  

पुरुषको मानसिकतामा ‘विषाक्त पुरुषत्व’ हुर्काउन बालकको पालनपोषण, परिवार, समाज र स्कुलको शिक्षा वा वातावरणले  भूमिका खेल्ने ‘हामी दाजुुभाइ’का अध्यक्ष संजोग ठकुरी बताउँछन्। उनी भन्छन्, ‘हामीले हाम्रा बालबालिकालाई कसरी हुर्काउँछौँ भन्नेमा परिवारको व्यवहार, बालबालिकालाई अध्ययन गराइने विद्यालय र वरीपरीको वातावरणले निर्धारण गर्छ। परिवारमा सानैबाट छोरीहरूलाई तिमी छोरा मान्छेभन्दा कमजोर हौ, कमजोर छौ भनी हुर्काइन्छ। छोरालाई ‘तिमी शक्तिशाली हौ’ भनी हौसला दिइन्छ, यसरी विषाक्त पुरुषत्वलाई परिवार र समाजबाटै प्रश्रय दिएको छ।’ 

अब छोरीलाई सक्षम बनाउन, समतामूलक किसिमले अधिकार दिन लैंगिक सामाजीकरणमा जोड दिनुपर्छ। यसका लागि पहिलो र मजबुत संस्था भनेकै परिवार हो भएको ठकुरी बताउँछन्। ‘बालबालिकाले को शक्तिशाली, को कमजोर, कसले शासन गर्ने, को शासित हुने जस्ता विषय घरपरिवारबाटै सिक्छन्,’ ठकुरी भन्छन्, ‘५ वर्षको बालक किन नहोस्, उसलाई आफ्नो दिदीको रक्षाका लागि बजार वा घरबाहिर पठाइन्छ भने उसमा छोरीमान्छे भन्दा बलियो रहेछु भन्ने मनोभावनाको विकास हुन्छ। म नभई दिदी बाहिर जान नसक्ने रहेछ, दिदी मभन्दा ठूली भए पनि म बलियो पो रहेछुु, अधिकार लिने म रहेछुु भन्ने मनोविज्ञानको विकास उसमा सानै उमेरदेखि हुन्छ।’

कतिपय धार्मिक चाडपर्व र रीतिरिवाज यस्ता छन्, जसले छोरालाई बढी प्राथमिकतामा राख्छन्। धार्मिक कार्यमा टीका लगाउँदा पनि पुुरुषलाई पहिला लगाएर मात्र महिलालाई लगाइदिने चलन छ। यस्ता क्रियाकलापले विषाक्त पुरुषत्वलाई मजबुत बनाएको ठकुरी बताउँछन्। ‘पुरुष जहिले अगाडि हुन्छ, महिलाभन्दा शक्तिशाली र शासक हुन्छ भन्ने मिथले नै विषाक्त पुरुषत्व स्थापित गर्न सफल भएको छ,’ उनी भन्छन्। 

उनका अनुसार, विषाक्त पुरुषत्वलाई संरक्षण गर्ने अर्को माध्यम हो, भाषा। भाषाको राजनीति निकै बलियो छ। ‘हामीले समाजमा प्रयोग गर्ने भाष्यले पनि विषाक्त पुरुषत्वलाई कायम गरिरहेको छ,’ उनी भन्छन्, ‘हरेक व्यक्ति समाजमा बस्न रुचाउँछ, सामाजिक हुनका लागि समाजले निर्धारण गरेका मूल्य–मान्यता मान्नुुपर्ने हुन्छ, जसले विषाक्त पुरुषत्व स्थापित गराएको छ।’ 

असर महिला र पुरुष दुवैमा

पछिल्लो समय आफ्नो करिअरका बारेमा सोच्ने (पेसा, व्यवसाय वा रोजगारीमा लाग्ने) महिलाहरू बढ्न थालेका छन्। तर, विषाक्त पुरुषत्वका कारण महिला अगाडि आउन समस्या उत्पन्न भइरहेको अनुसन्धानकर्ता पल्लवी पायल बताउँछिन्। ‘विषाक्त पुरुषत्वका कारण घरायसी कामको भूमिका र जिम्मेवारी पुरुष स्वयं लिन नसक्दा महिलालाई नेतृत्वमा पुुग्न बाधा खडा हुन्छ,’ उनी भन्छिन्, ‘अझ घर र करिअरलाई सन्तुलित तरिकाले मिलाएर लैजाने क्षमता तिमीमा छैन भनी महिलाकै क्षमतामाथि प्रश्न उठाइन्छ, घरको काम र छोराछोरी हुर्काउने जिम्मा महिलाको मात्रै हो जस्तो गरी।’ 

घरपरिवार चलाउन पुरुष र महिला दुवैको समान भूमिका आवश्यक रहेको थाहा भए पनि महिलालाई मात्रै घरको काममा लगाउने प्रवृत्ति समाज देखिन्छ, जुन विषाक्त पुरुषत्वका कारण सहज भएको उनी बताउँछिन्। 

‘विशेषगरी सरकारी कार्यालयमा विषाक्त पुरुषत्वलाई स्पष्ट देख्न सकिन्छ,’ उनी भन्छिन्, ‘विषाक्त पुरुषत्वले सिर्जना गरेको मानसिकताकै कारण कतिपय स्थानमा उपमेयर पदमा निर्वाचित महिलाले पदीय जिम्मेवारी नपाएको गुनासो आएका छन्। अझ वडा सदस्य महिलालाई अस्वाभाविक व्यवहार गरिनुु र महिलाले कुनै पनि निकाय (सरकारी वा गैरसरकारी)मा शक्तिशाली भूमिकामा काम गर्न सक्छे भनी कल्पना समेत नगरेको पाइन्छ।’

कार्यालयका विभिन्न काममा महिलाका आफ्नै जिम्मेवारी हुन्छन्, जुन जिम्मेवारी वहन गर्न नदिई महिलाका काममा अंकुुश लगाउन विषाक्त पुरुषत्वले उत्प्रेरित गरिरहेको र यसले स्वयं पुरुषलाई असर गरिरहेको पनि उनको बुझाइ छ। 

‘विषाक्त पुरुषत्वको सिकार महिला मात्र नभएर पुरुष पनि उत्तिकै छन्,’ उनी भन्छिन्, ‘विषाक्त पुरुषत्वको मास्क लगाएर हिँड्नुपर्ने बाध्यतामा पुरुष देखिन्छन्। समाज, धर्म–संस्कार र राजनीतिले विषाक्त पुरुषत्वलाई हुर्कायो, जसले गर्दा पुरुषलाई भावुक, सहयोगी र संवेदनशील हुन पनि रोकेको छ।’

समग्रमा विषाक्त पुरुषत्वले लैंगिक हिंसालाई समेत प्रोत्साहन गरेको उनको भनाइ छ। ‘अनेक नाममा आफूलाई महिलाको संरक्षक ठानेर पुरुषले महिलाहिंसा गर्नुमा पनि विषाक्त पुरुषत्वको भूमिका हो,’ उनले भनिन्। 

विषाक्त पुरुषत्वको बदलिँदो स्वरूप

पछिल्लो समय विषाक्त पुरुषत्वको स्वरूप बदलिँदो रूपमा मौलाएको अभियन्ता तथा लेखक दोभान राई बताउँछिन्। उनका अनुसार, बदलिँदो समाजमा पछिल्लो समय धनी र गरिबबीचको असमानता निकै बढ्दो छ। ‘महिलालाई सदियौँदेखि भोग्न बाध्य बनाइएको विषाक्त पुरुषत्व पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पुुरुषले पनि सहन बाध्य भएपछि महिलालाई नै आरोप लगाई महिलामाथि आक्रोश पोख्ने जमात बढ्दो छ,’ उनी भन्छिन्, ‘नयाँ प्रविधि, बदलिँदो समाज र परिवर्तित जीवनशैली नबुुझेका कारण महिलाले समस्या निम्त्याएको भनी महिलामाथि आक्रोश पोखी आफ्नो कमजोरी लुकाउन समेत विषाक्त पुरुषत्वको सहारा लिने गरेको देखिन्छ।’ 

पितृसत्ताले बनाएको मिथ ‘म पुरुष, म त खत्रा छु, किनकि म पुरुष हुँ’ भन्ने मनोभावना पुरुषमा देखिने उनी बताउँछिन्। महिला बढी जान्ने भएर मिलेको समाज भाँडे भन्नेसम्मका आरोप पछिल्लो समय लगाउन थालिएको उनको बुझाइ छ। पुरुषले आफू हारेको, आफू असफल भएको आवेग महिलामाथि पोख्ने गरेको उनले बताइन्। पछिल्लो समय महिलामाथि हुने यौनहिंसा समेत बढ्दो रहेको उनको भनाइ छ। ‘पुरुषमा जकडिएर रहेको हीनभावना, असन्तुष्टि र समाजका कुण्ठालाई पोख्न समेत कमजोर महिलामाथि यौन लगायत हिंसा गर्ने गर्छन्,’ उनले भनिन्, ‘यसको पछाडि विषाक्त पुरुषत्वकै भूमिका हो।’ 

जनचेतना

विषाक्त पुरुषत्वको बारेमा समाजका कतिपय पुरुषलाई जानकारी नै छैन। विषाक्त पुरुषत्वलाई जरैबाट हटाई लैंगिक सामाजीकरण स्थापित गर्नका लागि परिवारदेखि नै सुरुवात हुनुपर्ने अध्यक्ष ठकुरी बताउँछन्। हालसालै पुरुषत्वमाथि गरिएको एक अध्ययनले समाजको निकै डरलाग्दो अवस्था देखाएको छ। अध्ययनमा संलग्न ८२ प्रतिशत उत्तरदाताले समुदायमा परिवारको इज्जत धान्ने नाममा छोराको तुलनामा छोरीको अधिकार नियन्त्रण गरिने कुरा स्वीकार गरेका छन्। यो तथ्यांक हामी दाजुुभाइद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको थियो। 

एउटा पुरुषले कुनै महिलामाथि गरेको टिप्पणी, भाष्य र व्यवहारले कस्तो असर वा विभेद गर्छ भन्ने ऊ आफैँलाई जानकारी हुँदैन। यसले पनि महिला हिंसाका घटना बढाउन सहयोग पु¥याएको अधिकारकर्मी बताउँछन्। त्यसैले समाजमा रहेको लैगिंक हिंसालाई जरैबाट निर्मूल पार्नका लागि विषाक्त पुरुषत्वका बारेमा सचेतना फैलाउन आवश्यक रहेको उनीहरूको भनाइ छ। 

 Published Date: Wednesday, 24th November 2021 12:53:00 pm